इतिहासमा आज

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९४५ : जर्मन सेना प्रमुख अल्फ्रेड जोड्लले उत्तर–पूर्वी फ्रान्समा अवस्थित मित्रसेनाको मुख्यालयमा गएर निःसर्त आत्मसमर्पण पत्रमा हस्ताक्षर गरे । भोलिपल्टदेखि लागू भएको यो आत्मसमर्पणसँगै युरोपमा दोस्रो विश्वयुद्ध रोकियो ।

सन् १२५३ : फ्रान्सका राजा लुई नवौँले विलियम अफ रुब्रुक’को नेतृत्वमा मंगोलहरूलाई इसाई धर्ममा बदल्ने अभियान टोली एसियातर्फ पठाए ।

सन् १४२९ : १७ वर्षीया जोन अफ आर्क नेतृत्वको फ्रान्सेली फौजले ओर्लियन्समाथिको अंग्रेज फौजको ६ महिना लामो नाकाबन्दी सफलतापूर्व तोडे । यस जितलाई सयवर्षे युद्धमा फ्रान्सको महत्वपूर्ण जित मानिन्छ ।

सन् १६४९ : एलेक्ज्यान्डर रोसले लन्डनबाट कुरानको पहिलो अंग्रेजी अनुवाद प्रकाशित गरे । अनुवादको नाम ‘अलकोरान अफ महोमेत’ थियो ।

सन् १८३२ : ग्रिस स्वतन्त्र हुने पक्का भएपछि ब्रिटिस विदेशमन्त्री लर्ड पालमर्स्टनले फ्रान्सेली र रुसी कुटनीतिज्ञ बोलाएर लन्डन सम्मेलन आयोजना गरे । ती देशले ग्रिक स्वतन्त्रता अभियन्तासँग छलफल नगरी त्यहाँ बाभारियाका राजकुमार ओटोलाई राजा थपना गर्ने सहमति गरे ।

सन् १८६७ : स्विडेनका रसायनशास्त्री अल्फ्रेड नोबेलले इंग्ल्यान्डमा विस्फोटक पदार्थ ‘डाइनामाइट’को प्याटेन्ट दर्ता गराए ।

सन् १९१२ : कोलम्बिया विश्वविद्यालयले विभिन्न समूहमा ‘पुलित्जर पुरस्कार’ वितरण योजनालाई स्वीकृति दियो । प्रकाशक जोसेफ पुलित्जरले अन्तिम इच्छापत्रमा पुरस्कार वितरणमा सहजीकरण गरिदिन विश्वविद्यालयलाई अढाई लाख डलर छाडेका थिए ।

सन् १९२० : सोभियत संघले विगतमा जारकालमा रुसको हिस्सा रहेको जर्जियालाई स्वतन्त्रता दियो । तर पछि (अर्को वर्ष फेब्रुअरी)मा त्यस भेगका दुई सोभियत नेता जोसेफ स्टालिन र सर्गो ओर्डझोनिकिद्जेले सो क्षेत्र पुनः कब्जा गर्न निर्देशन दिए ।

सन् १९५४ : नेटोको सदस्य बन्ने सोभियत संघको प्रस्ताव अमेरिका, बेलायत र फ्रान्सद्वारा अस्वीकार । योसँगै शीतयुद्धकालीन विभाजन बढ्यो । अर्को वर्ष सोभियत संघ नेतृत्वको सैन्य गुट निर्माण गर्ने ‘वार्सा सम्झौता’ कार्यान्वयनमा आयो । 

सन् २०२३ : दश वर्षअघि अरब लिगबाट निकालिएको सिरियालाई पुनः समूहमा प्रवेश गराइयो । 

सुझावित समाचार