निजामती सेवामा ट्रेड युनियनको आवश्यकता कति छ ?
निजामती सेवाका न्यून वैतनिक नासु वा सो सरहका कर्मचरीका लागि गैरराजनीतिक चरित्रको आधिकारिक ट्रेड युनियन चाहिन्छ । तर, त्यस्तो ट्रेड युनियन राजनीतिक दलसँग आबद्ध हुनु भने हुँदैन । तर, अहिले पूरै ट्रेड युनियन खारेज गर्ने निर्णय गरिएको छ । यस्तो व्यवस्था आइएलओको अभिसन्धिविपरीत हुन जान्छ । निजामती सेवाका अधिकृत वा सोभन्दा माथिका कर्मचारीका लागि ट्रेड युनियनमा आबद्ध हुने अधिकार दिनै हुँदैन । तर, नासुसम्मका कर्मचारीका लागि यो अधिकार दिएको भए उनीहरूका हक अधिकारको सुरक्षाका लागि राम्रै हुने थियो । लोकतन्त्रमा न्यून वैतनिक कर्मचारीलाई पनि ट्रेड युनियन अधिकार नै दिँदैनौँ भन्नचाहिँ मिल्दैन ।
ट्रेड युनियनको खारेजीले कर्मचारीको वृत्ति विकास र सेवा प्रवाहमा कस्तो प्रभाव पर्ला ?
ट्रेड युनियनको खारेजीले कर्मचारीको वृत्ति विकास र सेवा प्रवाहमा कुनै प्रभाव पर्दैन । कर्मचारीको सेवा, सुरक्षा, हक अधिकारका लागि बार्गेनिङ गर्न आवश्यक पर्ने हो ट्रेड युनियन । कर्मचारीको छनोट र नियुक्ति लोकसेवा आयोगले मेरिट बेसमा गर्ने हो । पदोन्नति पनि लोकसेवाले नै गर्ने हो । यसमा ट्रेड युनियनको कुनै भूमिका हुँदैन । त्यसैले, खालि कर्मचारी कल्याणका लागि मात्र चाहिने हो ट्रेड युनियन ।
निजामती कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था कति प्रभावकारी होला ?
यस्तो गुनासो सुनुवाइको व्यवस्था गर्नुको खास अर्थ छैन । अहिले पनि मन्त्री, सचिव या हाकिमले मातहतका कर्मचारीको गुनासो सुनेकै छन् । यो कुनै नौलो व्यवस्था होइन ।