ढुक्क हुनुस्, हामी जे गर्छौँ आमनेपाली जनताकै हितमा गर्छौँ : प्रधानमन्त्री

जनताकै चाहना अनुरुप अध्यादेशमार्फत विकृतिहरू हटाएका छौं

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारले गर्ने हरेक काममा ढुक्क हुन आमजनतासामु अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईंहरु ढुक्क हुनुस्, हामी जे गर्छौँ आमनेपाली जनताकै हितमा काम गर्छौँ।’ 

अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट विद्यार्थी युनियन हटाउने निर्णय गरेकाे सन्दर्भमा उनले भने, ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौँदेखि एउटै कुरा भन्दै आएका छन्, विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।’ वर्षौँदेखि धेरै संगठन, विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’बने। योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झन्डाको मूल्य बढाइयो। यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।’

‘राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन, चाहने हो भने आजकै दिनमा ठुला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ। तर, अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ,’ उनले भने, ‘त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो । शिक्षालयमा दलको झन्डा निषेध, कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन । बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछ। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।’

उनले अगाडि भनेका छन्, ‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून् । नेताको भिडबाट होइन, कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौँ– विद्यार्थीले राजनीति सिकून्, तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति, कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन।’

‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन। यो प्रणाली बचाउने प्रयास हो। यो भविष्य बचाउने प्रयास हो। यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो,’ उनले भने, ‘शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो। त्यसैले तपाईंहरूकै चाहनाअनुरूप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ।’

प्रधानमन्त्रीले भने, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ । तपाईंको साथ चाहिएको छ । विश्वास चाहिएको छ । किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईंहरूकै जनचाहनाबमोजिम काम गर्न सरकारमा आएका हौँ। तपाईंहरू ढुक्क हुनुस्, हामी जे गर्छौँ आमनेपाली जनताकै हितमा गर्छौँ।’

सुझावित समाचार