इतिहासमा आज

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९७९ :  बेलायतको पहिलो महिला सरकार प्रमुखका रूपमा मार्गरेट थ्याचर प्रधानमन्त्रीमा चुनिइन् । उनको ११ वर्षे कार्यकालमा सुरु भएको नवउदारवादी सुधारप्रति ब्रिटिस समाज पक्ष र विपक्षमा ध्रुवीकृत भएको थियो ।

सन् १९०६ :  बेलायतको नियन्त्रणमा रहेको इजिप्टले टर्कीको नियन्त्रणमा रहेको सिनाई प्रायद्वीपमाथि कब्जा जमायो ।

सन् १९१३ ः भारतको पहिलो कथानक चलचित्र राजा हरिशचन्द्र प्रदर्शनमा आएसँगै विश्वको सबैभन्दा ठुलो फिल्म उद्योगको जग बस्यो ।

सन् १९१९ ः अफगानिस्तानका तत्कालीन राजा (अमिर) अमानुल्लाह खानले बेलायतविरुद्ध युद्ध घोषणा गरेसँगै तेस्रो अंग्रेज–अफगान युद्ध सुरु भयो ।

सन् १९२६ :  बेलायतको ट्रेड युनियन कंग्रेसले देशको इतिहासमा पहिलो आमहडताल घोषणा गर्यो । कोइलाखानी मजदुरको नेतृत्वमा भएको हडताल मध्यरात हुनुभन्दा एक मिनेटअघिबाट सुरु भएर नौ दिनसम्म चलेको थियो ।

सन् १९३७ :  अमेरिकी उपन्यासकार मार्गरेट मिचेलले उनको अत्यन्त लोकप्रिय उपन्यास ‘गन विद द विन्ड’का लागि पुलिट्जर पुरस्कार जितिन् । दुई वर्षपछि सो उपन्यासको कथामा फिल्म पनि बन्यो, जसले धेरै ओस्कार अवार्ड जित्न सफल भएको थियो ।

सन् १९३९ :  सुवासचन्द्र बोसको नेतृत्वमा ‘अल इन्डिया फरवार्ड ब्लक’ नामक वामपन्थी पार्टी स्थापना भयो ।

सन् १९४५ :  दोस्रो विश्वयुद्धका क्रममा युद्धबन्दी बोकेको जर्मन जहाज ‘क्याप अरकोना’माथि मित्रसेनाको हवाई आक्रमण हुँदा पाँच हजार ८०० मारिएका थिए, जुन जहाजजन्य दुर्घटनामा सबैभन्दा धेरैको हताहतीमध्ये एक हो ।

सन् १९४७ :  दोस्रो विश्वयुद्धपछि बनाइएको जापानी संविधान आजकै दिनबाट लागू ।

सुझावित समाचार