संसद् कानुन निर्माण, राजनीतिक बहस र सत्ता समीकरणको केन्द्र हो । त्यहाँ सत्तापक्ष र प्रतिपक्ष आपसमा बहस गर्छन् । तीखा प्रश्न प्रतिप्रश्न उठ्छन् । त्यस्तो क्षेत्रमा साहित्यजस्तो भावनात्मक पक्ष गौण मानिन्छ । तर, सोही क्षेत्रमा साहित्यकारहरू पुगे के होला ? विगतमा पनि कतिपय साहित्यकार संसद्मा पुगेर कवितावाचन गरेका छन् । गायकहरूले गीत गाएका छन् । राजनीतिज्ञहरूले कविहरूका कविता उद्धृत गर्दै आफ्नो मन्तव्य राखेका छन् । यसपटक पनि केही साहित्यकारहरू संसद्मा पुगेका छन् । उनीहरूबाट विगतमा जस्तै जनताको आवाज सिधा राजनीतिक भाषाबाट मात्रै नभई साहित्यको भाषाबाट पनि संसद्मा पुग्ने अपेक्षा गरिएको छ ।
र्याप गायक हुँदै काठमाडौंको मेयर भएका बालेन्द्र शाहले त्यतिबेला नै ‘अश्र’ कवितासंग्रह निकालेका थिए । अहिले सांसदमा निर्वाचित मात्रै भएनन्, प्रधानमन्त्री भएर देश पनि चलाइरहेका छन् । संग्रहको पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेमवियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समेटिएका छन् । उनका र्याप गीतहरूमा भ्रष्टाचार र युवाको असन्तुष्टि प्रखर रूपमा अभिव्यक्त हुन्छ । बालेनले प्रधामन्त्रीको शपथको पूर्वसन्ध्यामा नयाँ र्याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका थिए । उक्त गीतमा शब्द, संगीत र स्वर उनकै रहेको छ । भिडियोमा देशको पूर्वदेखि पश्चिमसम्मको यात्रा, मानिसहरूसँगको भेटघाट र संवादका दृश्यहरू प्रस्तुत गरिएका छन् । यसअघि पनि उनका ‘सबैलाई हतार छ’, ‘स्टे ट्रु’, ‘बलिदान’, ‘लोकल ठिटो’, ‘सावेज’, ‘आस्तिक’, ‘गोर्खाली तोप’, ‘मार्फाको मदिरा’, ‘मन यो उड्यो’, ‘नेपाल हाँसेको’, ‘आमनेपाली बुबा’, ‘तथ्य’ र ‘सडक बालक’लगायत र्याप गीतहरू सार्वजनिक भइसकेका छन् ।
०८२ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित भएका कवि तथा गजलकार डा. विक्रम तिमिल्सिना अहिले संघीय संसद्मा पुगेका छन् । हाल उनी सूचना तथा सञ्चार प्रविधिमन्त्री हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तिमिल्सिनाले नुवाकोट १ बाट उम्मेदवारी दिँदै राजनीतिमा लामो अनुभव बटुलेका नेपाली कांग्रेसका डा. प्रकाशशरण महत, नेकपाका हितबहादुर तामाङ तथा एमालेका बद्री मैनालीलगायतका प्रतिस्पर्धीलाई पछि पार्दै विजय हासिल गरेका थिए । ‘अलिअलि चोट देऊ’ गजलसंग्रह प्रकाशित गरिसकेका उनका थुप्रै फुटकर कविता विभिन्न पत्रपत्रिकामा समेत प्रकाशित भइसकेका छन् ।
यसैगरी, साहित्यकार खड्कराज पौडेल, जो ‘गनेस पौडेल’ नामले साहित्यिक वृत्तमा परिचित छन् उनी पनि संसद् हुँदै मन्त्रालय सम्हाल्न पुगेका छन् । हाल उनी पर्यटनमन्त्रीको जिम्मेवारीमा छन् । नेपाली कला, साहित्य र संगीतबारे स्पष्ट र निर्भीक विचार राख्ने स्रष्टाका रूपमा चिनिन्छन् उनी । पठन संस्कृतिका प्रवर्द्धकसमेत रहेका उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट विजयी भएसँगै संघीय संसद्सम्मको यात्रा तय गर्न सफल भए । पोखरा महानगरपालिका– १४, मझेरीपाटननिवासी उनी सक्रिय राजनीतिमा ०७९ देखि नै होमिन चाहन्थे । ०८२ मा आएर मात्र संसद्को यात्रामा प्रवेश गर्न सफल भए ।
स्थानीय तहको चुनावलाई निर्दलीय बनाउनुपर्ने एजेन्डासहित उनले ०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएका थिए । त्यतिवेला ‘लौरो’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा रहेका उनले ५,१२८ मत प्राप्त गर्दै पराजय व्यहोर्नु परेको थियो । सो चुनावमा पोखरासहित देशका विभिन्न स्थानीय तहमा ‘अटेरी अभियान’का सदस्यहरूले उम्मेदवारी दिएका थिए । स्वैरकल्पनामा आधारित उपन्यास ‘पैताला’का स्रष्टा गनेससँग लामो समय शिक्षण पेसामा आबद्ध रहेको अनुभव पनि छ । विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको कृति ‘अफ माइस एन्ड मेन’को नेपाली अनुवाद ‘मुसा मानुष’ पनि गनेसले नै गरेका थिए ।
पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ ३९,८८३ मतसहित उल्लेखनीय विजय हासिल गरेका थिए ।
साहित्य र संगीतमा क्रियाशिल अर्की सांसद हुन् मनमाया विश्वकर्मा ‘मनु’ । एक दशकदेखि झापामा रहँदै आएकी उनी नेपाली कांग्रेसबाट दलित क्लस्टरबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनिन् । सामान्य ग्रामीण परिवेशबाट राष्ट्रिय राजनीतिसम्म आइपुगेकी उनी दलित, महिला र उत्पीडित समुदायका आवाजलाई साहित्य, संगीतबाट उठाइरहन्छिन् । धनकुटा बहुमुखी क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गरेकी मनुले महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट एलएलबी समेत गरिन् ।
उनको साहित्यिक यात्रा २०५० सालमै सुरु भएको हो । प्रतिनिधि पत्रिकामा प्रकाशित ‘सुमधुर साँझ’ र ‘आजको जिन्दगी’ उनको पहिलो प्रकाशित रचना हो । ०७० सालमा प्रकाशित कवितासंग्रह ‘ऐँजेरु बिच बुकी’ले उनलाई नेपाली साहित्यमा थप स्थापित गरायो । उनको गीत, कविता र कथामा अधिकार, पीडा, प्रेम र विद्रोह अभिव्यक्त हुन्छ । उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । विभिन्न साहित्यिक तथा सांस्कृतिक समारोहमा उनले गायनमार्फत पनि उपस्थिति जनाएकी छन् ।
विश्व नारी नेपाली साहित्य सम्मेलन, धनकुटाको पूर्वअध्यक्षका रूपमा उनले महिला स्रष्टाहरूलाई संगठित गरिन् । गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटामा कोषाध्यक्षको भूमिका निर्वाह गरेकी उनी हाल क्षितिज साहित्य प्रतिष्ठान, बिर्तामोडकी सदस्य पनि हुन् । नेपाली लेखक संघ कोशी प्रदेश सदस्यको रूपमा पनि उनी उक्तिकै सक्रिय छिन् । साहित्यिक तथा सामाजिक योगदानको कदरस्वरूप उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छिन् ।
०००
नेपालमा अग्रज साहित्यकारमध्ये एक हुन् नारायण ढकाल । उनको लेखन यात्रा पनि अहिले संसद् पुगेका साहित्यकारहरूसँग केही हदसम्म मिल्दोजुल्दो छ । काठमाडौं मूलपानीनिवासी उनी ०४९ सालमा गाविस अध्यक्ष निर्वाचित भएका थिए । ०५६ को आमनिर्वाचनबाट निर्वाचित भई उनी संसद् पुगे । संसद्मा कवितावाचन गरे । तर, उनको संसद् यात्रा सुखद भएन । उनी बिचैमा राजीनामा दिएर निस्कए ।
साढे दुई दशकअघिको अनुभव सम्झिँदै उनी भन्छन्,‘साहित्य र राजनीतिको अन्तरसम्बन्ध हुन्छ । साहित्यको स्वभाव मान्छेको अन्तस्करणलाई छुने खालको हुन्छ । भावनाद्वारा बाँधिने खालको हुन्छ । साहित्यले सभ्यता, सम्बन्ध र मानवतालाई समृद्ध बनाउँछ । तर, महत्वपूर्ण पक्ष राजनीति र साहित्यको स्वभावचाहिँ फरक हुन्छ ।’
ढकालका अनुसार साहित्यले समाजमा लामो समयसम्म काम गर्छ, यो सिर्जना गर्न समय पनि लाग्छ । तर, राजनीतिमा लामो समयसम्म बस्छु भनेर ढिला गर्नुहुँदैन । भन्छन्,‘राजनीतिमा तत्काल समस्या समाधान गर्नुपर्ने हुन्छ । तत्काल बोलेर वा बहस गरेर मान्छेलाई तुरुन्तै मतमा ल्याउँन सकिन्छ । साहित्यले त्यस्तो गर्दैन । साहित्य आफैँमा घुमाउरो बाटो हो ।’
ढकालले साहित्य र राजनीति सँगसँगै अघि बढ्न सक्ने भए पनि राजनीतिमा साहित्यकार हुनु वा नहुनुले खासै भिन्नता नपार्ने बताउँछन् । उनका अनुसार साहित्यकार भएर राजनीतिमा प्रवेश गर्दैमा कोही विशिष्ट हुँदैन । वर्तमान संसद्मा साहित्यकारहरूको उपस्थिति रहेको, प्रधानमन्त्री र मन्त्रीहरूसमेत गीत, कविता र गजल लेख्ने स्रष्टा भएकाले लेखनभन्दा जनताको काम प्राथमिक हुनुपर्ने बताउँछन् । ‘राजनीति जनताको समस्यासँग जोडिएको विषय हो, त्यसैले जनताका मुद्दालाई नै पहिलो प्राथमिकता दिनुपर्छ । जनताका समस्या समाधान गर्न सके मात्रै उपलब्धि हासिल हुन्छ’, उनी भन्छन् ।
साहित्यकारहरू संसद्मा पुग्नु सकारात्मक रहेकाले राज्यका महत्वपूर्ण साहित्यिक संस्थानहरू सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठान लोकतान्त्रिक संस्थाजस्तो नदेखिएको र पार्टीनिटक व्यक्तिहरूको भर्तीकेन्द्रजस्तो बनेको टिप्पणी गरे । ‘कहिलेकाहीँ योग्य व्यक्तिहरू पुगे पनि संस्थाले सिर्जनात्मक क्षेत्रमा उल्लेख्य योगदान दिन सकेको छैन’, उनी भन्छन्,‘साहित्यमा स्वतन्त्रता हुन्छ, तर राजनीतिमा सामूहिक निर्णय र पार्टीको विचारले बाँधिन्छ । साहित्यकारहरू राजनीतिमा आएपछि कठोर पनि बन्छन् । साहित्यले स्वविवेकलाई प्रयोग गरेर आफै निर्णय गर्न सक्छ । राजनीतिमा सामूहिक निर्णय गर्नुपर्छ ।’
साहित्यकारहरू राजनीतिमा सक्रिय हुँदा सिर्जनात्मक काममा बाधा पुग्ने ढकालको मत छ । उनका अनुसार साहित्यका लागि एकान्त, अध्ययन र गहिरो चिन्तन आवश्यक पर्छ, जुन राजनीतिक व्यस्तताले अवरुद्ध गर्छ । ‘संसद्मा राम्रो अनुभव गर्न सकिनँ । बाहिर देखिएजस्तो अवस्था थिएन, जनताका समस्या समाधानभन्दा अन्य पक्षतर्फ ध्यानकेन्द्रित भएको देखिन्थ्यो । मैले सोचेजस्तो प्रजातान्त्रिक अभ्यास नभई सेटिङको थलोजस्तो लाग्यो । संसद्मा आफ्नो समयमा कविता पाठ गरेर बसेँ । संसद्मा पुग्न त पुगेँ, तर धेरै समय त्यहाँ रहन मन लागेन । पछि छोडेर हिडेँ ।’