- बालबालिकाको भिडियो र तस्बिर अनलाइनमा धेरै पोस्ट गर्नुहुन्छ, तर यसको अँध्यारो पाटो कत्तिको ख्याल गर्नुभएको छ ?
हिजोआज बालबच्चाले पहिलो पाइला चाल्नुअघि नै डिजिटल माध्यममा तिनको फोटो र भिडियोले संसारको चक्कर लगाइसकेको हुन्छ । केही आमाबाबुले त अझ गर्भको भिडियो एक्स–रेको फोटोलाई ‘पहिलो नजरमै प्रेम !’ जस्ता क्याप्सन राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ । बच्चा जन्मन पाएको हुँदैन, केही घण्टाभित्रै विभिन्न सामाजिक सञ्जाल प्ल्याटफर्ममा नवजात शिशुका तस्बिर फैलिइसक्छ । ‘सेयरेन्टिङ (सेयर र प्यालेन्टिङको योगबाट बनेको शब्द)’को यो प्रचलनका कारण पश्चिमी देशमा अहिले जन्मिने चारमध्ये एक बच्चाको जन्मअघि नै सामाजिक सञ्जालमा उपस्थिति भइसकेको हुने धेरै उल्लेख हुने तथ्यांकले देखाउँछ ।
आमाबाबु त्यतिमै रोकिँदैनन् । केही आफ्ना सन्तानलाई सामाजिक सञ्जालको ‘स्टार’मा परिणत गर्न मिहिनेत लगाउँछन्, जसलाई आजकल ‘किडफ्लुएन्सर (किड् र इन्फ्लुएन्सरको योग)’ भन्न थालिएको छ । यसअन्तर्गत ती बच्चाको प्रत्येक सानाठुला विकासको चरणलाई सामाजिक सञ्जालमा राखिन्छ । तिनको पहिलो तोतेबोलीदेखि पहिलो पाइला चालेको क्षणसम्म, पहिलोपटक दाँत निस्कँदा आउने समस्यादेखि तोतेबोलीमा बाझेकोसम्म र यहाँसम्म कि बच्चाको ‘पोटी ट्रेनिङ (दिसा गर्न सिकाएको)’सम्म क्यामेरामा कैद गरिन्छन् ।
‘बालबच्चाका अत्यन्त वैयक्तिक क्षणसमेत लाखौँ मानिसलाई देखाउन सामाजिक सञ्जालमा प्रसारित गरिन्छ,’ पत्रकार फोर्टेसा लतिफीले हालै प्रकाशित आफ्नो नयाँ पुस्तक ‘लाइक, फलो, सब्सक्राइब’मा लेखेकी छिन् । अर्थात्, यौवनदेखि महिनावारीसम्मको सबै कुरा आमाबाबुका लागि अहिले भाइरल बन्न सक्ने ‘कन्टेन्ट’ बन्छन् । लतिफीको किताबको नामजस्तै ‘लाइक, फलो, सब्सक्राइब’का लागि किडफ्लुएरको प्रयोग उलेख्य बढेको छ । अर्बौं डलरको व्यवसायमा रूपान्तरण भएको यस अभ्यासमा ‘नाफाका लागि बालबालिकाको अत्यन्त वैयक्तिक र गोपनीय क्षणलाई व्यापारीकरण गरिन्छ ।’
पुस्तक तयारी गर्दा लतिफीले धेरै अभिभावकसँग भेटवार्ता गरिन्, जो आफ्नो बालबच्चाका कन्टेन्टका ‘निर्माता, प्रबन्धक र क्यामेराम्यान’ बनेका छन् । उनीहरू आफ्ना बच्चालाई भिडियो खिच्न प्रोत्साहित गर्छन् र दिनमा कति घण्टा काम गर्ने भन्ने कुराको निर्देशन दिन्छन् । ‘किडफ्लुएन्सिङ (किडफ्लुएन्सरले गर्ने काम)’ पारिवारिक आयको एक आकर्षक माध्यम बन्ने गरेको छ । लतिफीले अध्ययनका क्रममा नाम चलेका केही अमेरिकी एकाउन्ट चलाउने अभिभावकले प्रत्येक प्रायोजित पोस्टका लागि दुई लाख डलरसम्म शुल्क लिने गरेको पाइन् । अर्थात्, वार्षिक रूपमा तिनले ८० लाख डलर र एक करोड डलरबिचको आम्दानी हुने रहेछ । र, प्रायोजनका लागि अभिभावकले बालबच्चालाई यस संसारमा अत्यन्त व्यक्तिगत मानिने काम गराउनसमेत छाड्दैनन् । ‘पोटी ट्रेनिङ’समेत न्याप्पी र डायपरको विज्ञापनका लागि काम लाग्छ ।
अहिले यस उद्योगको तुलना बाल अभिनय वा बालमोडलिङसँग गरिँदै छ । तथापि, ती दुई क्षेत्रमा जस्तो यस क्षेत्रमा उल्लेख्य कानुनी सुरक्षा नभएको लतिफीले औँल्याइन् । अमेरिकाका केवल पाँच राज्यमा बालबच्चाको कमाइ अभिभावकले तिनकै नाममा समेत जम्मा गर्नुपर्ने कानुन छ । जबकि, छायांकनको लागि सहमति, सामग्रीको नियन्त्रण र छायांकनमा बिताएको घण्टाजस्ता कुरा पूर्णतः आमाबाबुको विवेकमा भर पर्ने गरेको छ ।
निश्चित रूपमा केही बच्चाले प्रसिद्धि र पैसाले ल्याउने प्रभावबाट लाभ उठाउँछन् । उदाहरणका रूपमा रायन काजीलाई लिन सकिन्छ । खेलौनाको रिभ्यु गरेर तीन वर्षको उमेरमा प्रसिद्धि कमाएका काजी फोर्ब्सको धनाढ्यको सूचीमा परेका छन् । फोर्ब्सका अनुसार युट्युबमा चार करोड सब्स्क्राइबर भएका काजीको सम्पत्ति सन् २०२५ मा ३.५ करोड डलर थियो । छिटपुट घटनाबाहेक लतिफीको अध्ययनले प्रायः नकारात्मक पक्षमा प्रकाश पार्यो ।
पुस्तक लेखनअघिको अनुसन्धानका क्रममा लतिफीले आठ सन्तानकी आमा जुली जेप्सनलाई भेटिन्, जो एक पारिवारिक युट्युब च्यानल चलाउँछिन् । जेप्सनलाई उनका कस्ता भिडियो सबैभन्दा लोकप्रिय छन् भनेर सोधिएको थियो । उत्तर आश्चर्यजनक र स्तब्ध पार्ने खालको थियो । जेप्सनका अनुसार जुन भिडियोमा बालबच्चालाई चोट लागेको हुन्छ, अर्थात् जसमा उनीहरूको रगतपच्छे नाक, वा चोटपटक वा अझ कुनै वेला हात नै भाँचिने घटना हुन्छन्, तिनको धेरै भ्युज आउँछ । जेप्सनको जवाफ सुनिरहँदा लतिफीको मनमा एउटा सबाल उठिरहेको थियो । आफ्ना बच्चालाई चोटपटक लाग्दा वा पीडामा हुँदा जेप्सनमा तिनलाई मद्दत गर्नुपर्ने भावना आउला कि युट्युबका लागि रेकर्ड गर्नुपर्छ भन्ने ? यस्तै पारिवारिक युट्युब भिडियो चलाउने एकजना पिताको एउटा भाइरल बनेको भिडियोमा चोटग्रस्त छोराका लागि एम्बुलेन्स बोलाउनुको सट्टा पिता घटनाको भिडियो खिचिरहेका देखिन्छन् ।
सामान्यतया साना नानीबाबुलाई पीडामा पर्न नदिन आमाबाबु सचेत हुने गर्छन् । तर, भाइरल हुने लोभमा यही कुराले सामाजिक सञ्जालमा फरक आयाम लिने गरेको छ । गर्भावस्थाको घोषणा र भर्खरै जन्मिएका शिशुको भिडियो, विशेषगरी धेरैले हेर्छन् । एकजना पूर्वब्लगरले बताएअनुसार उनले केही यस्ता व्यक्तिलाई चिनेकी छिन्, जसले ‘ब्रान्ड सम्झौताको लोभमै थप बच्चा जन्माएका छन् ।’ सामाजिक सञ्जालमा भ्युज बढाउनकै लागि बढी बच्चा जन्माउने कुरा सामान्य मानिसका लागि अविश्वसनीय लाग्न सक्छ, तर यस क्षेत्रमा सक्रिय व्यक्तिले लतिफीलाई बताएअनुसार बालबालिकाका खेलौना, उनीलाई हिँड्डुल गर्न प्रयोग गरिने उपकरण, न्याप्पीदेखि गर्भावस्था परीक्षण उपकरणमा ठुलो पैसा खर्चने अभ्यासले तिनलाई लोभ्याउँछ ।
उसो त आममानिस वास्तविक जीवनमा नभेटिएका अपरिचित पारिवारका घटना हेर्न उत्सुक हुने गरेको पाइएको छ । एकजना लोकप्रिय क्रिस्चियन इन्फ्लुयन्सर करिसा कोलिन्सका ११ बालबच्चा छन्, जसका सबैको नाम अंग्रेजी वर्णमालाको ‘ए’बाट सुरु हुन्छ । उनले बालबच्चासहितको सामाजिक सञ्जालमा हाल्ने भिडियोले उनका फलोअर्सलाई अचम्मित र क्रुद्ध बनाउने गरेको छ । विशेषतः त्यति धेरै सन्तानलाई विद्यालय नपठाई घरमै ‘होमस्कुलिङ’ गरेका पोस्टमा उलेख्य भ्युज आउँछ । भिडियोमा कोलिन्सले गर्भनिरोधक साधनलाई इसाई धर्मले अपवित्र मान्ने गरेको विषय उठाउँदा पक्ष र विपक्षमा बहस हुने गर्छ । अमेरिकामा लोकप्रिय रहेका इन्फ्लुयन्सरमध्ये कैयन् परिवार ‘मोर्मन’ (पारिवारिक मूल्य र ग्रामीण जीवनलाई महत्व दिने एक इसाई पन्थ) छन् । तिनका भिडियोमा आफ्नो ठुलो परिवारको इतिहासका साथसाथै तिनले बस्ने ग्रामीण सुन्दर घर र भान्सामा गरिने मिहिनेतले जोड पाउँछ । यी रमणीय पोस्टका पछाडि प्रत्यक्ष रूपमा मोर्मन चर्च जोडिएको हुन्छ । तिनले आफ्ना जीवनशैली पोस्ट गर्ने सदस्यलाई प्रतिपोस्ट हजारौँ डलरसम्म तिर्छन् । आफ्नो धार्मिक विश्वासलाई सामाजिक सञ्जालमा आकर्षक देखाउन उनीहरू आफ्ना अनुयायीले घरबारविहीनलाई खाना दिएका भिडियो र तस्बिर पोस्ट गर्न विशेष जोड दिन्छन् ।
निर्दोष बालबालिकाको हँसिलो अनुहारले उनीहरूभित्रको पीडालाई छोपिरहेको हुन सक्छ । दुई वर्षअघि मात्रै सन् २०२४ मा बाल दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक ‘ममफ्लुएन्सर’ (इन्फ्लुएन्सर मम)की २३ वर्षीया छोरी स्यारी फ्रान्कले युटा राज्यका विधायकलाई आफू ‘पारिवारिक भ्लगिङको सिकार’ भएको बयान दिइन् । (मोर्मोन पन्थकी उनकी आमा रुबि फ्रान्कले भिडियो बनाउन स्यारी र उनका पाँच भाइबहिनीमाथि कठोर सजाय दिने गरेको पछि खुल्यो । कतिपय अवस्थामा सजायस्वरूप खानै नदिने गरेकी रुबीका एक कुपोषित छोरा घरबाट उम्केर प्रहरीमा पुगेपछि उनी पक्राउ परेकी थिइन् ।)
स्यारीले आफ्नो अनुभव समेटेर ‘हाउस अफ माई मदर’ भन्ने संस्मरण लेखेकी छिन् । ‘जति नै धेरै पैसा कमाए पनि त्यसले तपाईंको बाल्यकाललाई इन्टरनेटभर उदांगो पार्दा पुगेको क्षतिको भर्पाई गर्न सक्दैन,’ स्यारीले पुस्तकमा लेखेकी छिन् । फ्रान्क परिवारकै घटनाबाट प्रेरित भएर सन् २०२५ मा युटा राज्यले किडफ्लुएन्सर र बाल कलाकारलाई सुरक्षा दिनेसम्बन्धी एउटा कानुन पारित गर्यो । यस कानुनले आमाबाबुलाई कमाइको केही भाग छुट्याउनुपर्ने र बालबच्चाले बुझ्ने भएपछि सामग्री हटाउन अनुरोध गरे ती सामग्री अनिवार्य हटाउनुपर्ने व्यवस्था गरेको छ ।
इन्टरनेटमा बालबच्चाको तस्बिर र भिडियो धेरै हाल्ने कार्यले अन्य खतरा पनि ल्याउँछ । लतिफीको पुस्तकमा उल्लेख सबैभन्दा विचलित पार्ने खण्ड अनलाइन सिकारीसँग सम्बन्धित छ । खाएको, नाचेकोलगायत धेरै भिडियो हालिएका बालबच्चालाई खराब मनसाय भएका अपरिचितले पछ्याउने गरेको घटना बढी पाइयो । ‘लाइक, फलो, सब्स्क्राइब’ पुस्तकले अहिलेको अवस्थाको सजीव चित्र प्रस्तुत गरे पनि लतिफीले यो अभ्यासमा कसरी सुधार गर्ने भन्नेबारे पर्याप्त ध्यान दिएकी छैनन् । पुस्तक लेख्ने क्रममा आफ्नै सानी छोरी हुर्काइरहेकी लतिफी बालबच्चाको गोपनीयतालाई अभिभावकले महत्व दिनुपर्ने मान्छिन् । यस विषयमा थप पछि पनि चर्चा होला । तर, मुख्यतः आमाबाबुले आफ्ना बालबालिकाको सुन्दर तस्बिर धेरै पोस्ट गर्नुअघि एकपटक दोहोर्याएर भने सोच्नुपर्नेछ ।
(द इकोनोमिस्टमा प्रकाशित आलेखलाई श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)