कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई नेतामा चयनका लागि सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

आजै बस्ने अर्को बैठकले उनलाई औपचारिक रूपमा संसदीय दलको नेतामा चयन गर्ने तयारी गरिएको छ। लामो समयदेखिको आन्तरिक रस्साकस्सीपछि कांग्रेसले अन्ततः सहमतिमै नेता पाउन लागेको हो।

दलको नेताका लागि आङ्देम्बेसँगै अर्जुननरसिंह केसी र मोहन आचार्य पनि आकांक्षी थिए।

कांग्रेसले ०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

यसअघि सहमतिमै नेता चयन गर्न कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले आङ्देम्बेको नाममा सहमति जुटाउन सफल भएको हो।

सुझावित समाचार