मकवानपुरका विभिन्न स्थानमा भएका दुई छुट्टाछुट्टै घटनामा खोलामा डुबेर एक बालिका र एक युवकको मृत्यु भएको छ। जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ८ र ३ को सिमाना चिसापानीस्थित बकैया खोलामा पौडी खेल्ने क्रममा ३५ वर्षीय लाक्पा भोलनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीस्थित बाराही खोलामा डुबेर ६ वर्षीया बालिका युनिसा राईको मृत्यु भएको छ । प्रहरीका अनुसार लाक्पा भोलन आफ्नी करिब १० वर्षीया भतिजीसँग पौडी खेल्न खोलामा गएका थिए। उनले भतिजीलाई किनारमा राखेर आफैँ खोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा डुबेको देखेपछि भतिजीले स्थानीयलाई खबर गरेकी थिइन्।स्थानीयवासीले उनलाई पानीबाट निकाल्दा घटनास्थलमै उनको मृत्यु भइसकेको अवस्थामा फेला पारेका थिए ।
यस्तै, थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीस्थित बाराही खोलामा डुबेर ६ वर्षीया युनिसा राईको मृत्यु भएको छ। ताप्लेजुङ घर भई हाल बज्रबाराहीमा बस्दै आएका विकास राई र बालकुमारी राईकी छोरी युनिसा खेल्ने क्रममा खोलामा डुबेकी थिइन् । डुबेको देखेपछि आमा बालकुमारीले तत्काल उद्धार गरी पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्याए पनि उपचारकै क्रममा आइतबार राति बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।