काठमाडौं/ कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ का ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरी वृत्त बौद्धले आइतबार पक्राउ गरेको हो।
दाहालले २२ असोजको बिहान साढे १० बजेतिर बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माविकी शिक्षिकालाई अश्लील शब्दहरू प्रयोग गरी गालीगलौज गर्दै प्रधानाध्यापकमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
दाहालले घिमिरेको निर्देशनमा प्रधानाध्यापकलाई मुक्का तथा लात्ती प्रहार गरेको देखिएको प्रहरीले बताएको छ। उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिन म्याद थप गरी अनुसन्धान अघि बढेको छ।