राजीनामा दिइसकेको अघिल्लो जागिरलाई सेवा अवधिमा जोड्ने कर्मचारीको प्रयास कति ठिक हो ?
पहिले अघिल्लो जागिर छाडेको ६ महिनाभित्र मात्र जोड्न सकिने प्रावधान ऐनमा थियो । तर, अहिलेको ऐनमा त्यस्तो व्यवस्था छ जस्तो लाग्दैन । विगतमा चाहिँ कसैले नासुको जागिर छाडेर अधिकृतमा आएपछि अघिल्लो सेवा अवधिलाई जोड्न चाहेमा जोड्न सक्ने व्यवस्था थियो ।
पहिले ६० वर्षे उमेरहदमा नियुक्त भएको कर्मचारीले पछि ५८ वर्षे उमेरहदका आधारमा जागिरबाट निवृत्त हुनुअघि नै राजीनामा दिएमा उसले थप दुई वर्ष सेवा अवधि जोड्न सक्ने व्यवस्था थियो । तर, ५८ वर्षे उमेरहदअनुसार सेवा अवधि पूरा गरेर निवृत्त भएको अवस्थामा चाहिँ जोड्न पाइन्नथ्यो । उमेरहद जोड्ने विषयमा सर्वोच्च अदालतले पनि आदेश दिएको छ । त्यसैले, यिनै व्यवस्थामा टेकेर त्यस्तो प्रयास गरिएको हुन सक्छ ।
यसलाई कानुनले कसरी ठाउँ दिएको छ ?
कानुनले नै नदिएको भए त कर्मचारीले चाहँदैमा यसरी सेवा अवधि जोड्न सक्ने भन्ने हुँदैन । कानुनले दिएको व्यवस्थामै टेकेर कर्मचारीले यस्तो प्रयास गरेका हुन् । नैतिकताको प्रश्न भने व्यक्तिमा भर पर्ने विषय हो । कामै नगरी राज्यकोषबाट थप सुविधा लिन खोज्नु पक्कै पनि मनासिव होइन ।
यसलाई रोक्न सक्ने अवस्था कति छ ?
यसलाई रोक्न किन त ऐन संशोधन गरी यसबारे प्रस्ट व्यवस्था गरिनुपर्छ । ०४९ पछि सेवा अवधि ५८ वर्ष कायम भएसँगै यस्तो व्यवस्था ऐनमा घुसेको हो । त्यसैले, ६० वर्षे उमेरहदअनुसार नियुक्त भएका कर्मचारी सकिएपछि यो व्यवस्था पनि स्वतः रोकिन्छ ।