हर्मुज जलमार्गमा इरानको फेरि अवरोध

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

इरानले अन्तर्राष्ट्रिय रूपमा तेल प्रवाह हुने नाका हर्मुज जलमार्गलाई पुनः बन्द गरेको छ । युद्धविराम अवधिभर हर्मुज नाका खुला गर्ने घोषणा गरेको २४ घण्टा नबित्दै इरानले पुनः बन्द गरेको हो ।  

प्रमुख ढुवानी च्यानल हर्मुजलाई शुक्रबार इरानले खोलेको थियो । इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार जलघाँटी खुला भएको घोषणा गरे पनि शनिबार संसद्का सभामुख मोहम्मद बगेर गालिबाफले अवरोध कायमै रहने चेतावनी दिए ।

इरानी सेनाले हर्मुजमा केही जहाजमाथि हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । हर्मुज बन्द गर्ने बताएपछि कैयौँ पानीजहाजले आफूहरू आक्रमणमा परेको जानकारी दिएका छन् ।  

ओमानभन्दा २५ माइल टाढा एउटा ट्यांकर  र एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण भएको हो । इरानको सुरक्षा परिषद्ले युद्धको अन्त्य नभएसम्म हर्मुजको जलमार्ग नियन्त्रण गर्न कटिबद्ध रहेको बताएको छ भने इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दीलाई ‘युद्धविरामको उल्लंघन’ भनेको छ ।

यसअघि इरानसँग सम्बन्धित पानीजहाजमाथि अमेरिकाले नाकाबन्दी लगाएकाले पुनः उक्त जलमार्ग नियन्त्रणमा लिन लागेको इरानी सेनाले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘धेरै राम्रो कुराकानी’ भइरहेको बताएका छन् ।

See More On

सुझावित समाचार