कञ्चनपुरमा सरकारी सवारीसाधन दुरुपयोग हुन थालेपछि प्रशासन एक्सनमा उत्रिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लिखित रूपमा कर्मचारीलाई सचेत गराएको छ ।सरकारले २३ चैतदेखि सातामा अतिरिक्त थप आइतबार पनि सार्वजनिक बिदा दिएपछि शनिबारसहित गरेर दुई दिन बिदा दिएका वेला कर्मचारीहरूले सरकारी सवारीसाधनकाे झन् दोहन गर्न लागेको भन्दै कडाइ गरेको छ । २ बैशाख (बुधबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक बिदाका दिन सवारीसाधन दुरुपयोग भएको केही सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि जनगुनासो बढेपछि त्यसतर्फ गम्भीर भएको जनाएको छ ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तिमा कार्यालयको कामकाजबाहेक अन्यथा जथाभावी दुरुपयोग नगर्न–नगराउन अनुरोध गर्दै सार्वजनिक बिदाको दिन अत्यावश्यक काम भए कारण र औचित्य खुलाई प्रशासनबाट अनुमति लिन अनुरोध गर्दै अन्यथा दुरुपयोग गरेको पाइए कानुनी कारबाहीकाे चेतावनी दिएको छ । साथै प्रशासनले सर्वसाधारणलाई जहाँ सरकारी गाडी दुरुपयोग भएको भेटिए अन द स्पटबाटै कारबाहीकाा लागि खबर गरिदिन प्रशासकीय अधिकृत धर्मराज जोशीकाे माेबाइल नम्बर ९८५८७८४८२६ मा खबर गरिदिन आग्रह गरेको छ ।
मध्यपूर्वी देशमा भइरहेको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको आपूर्तिमा भइरहेको प्रभावले नेपालमा समेत इन्धन खपत घटाउँदै अभाव हुन नदिने उद्देश्यका साथ सरकारले दुई दिन सार्वजनिक बिदा दिएको मौका छोपेर केही जिल्लाका कर्मचारी सपरिवारदेखि साथीभाइबिच ग्रुप लिएर झन् दुरुपयोग गरेका घटना देखिन थालेपछि प्रशासन निर्मम रूपमा सरकारी साधन दुरुपयोगविरुद्ध एक्सनमा उत्रिएको हो । यसअघि पनि गत विगतका वर्षहरूमा केही कर्मचारीहरूले सरकारी सवारीसाधन निजी काम जस्तै विवाह, व्रतबन्ध, प्रेमिका घुमाउनेजस्ता कार्यमा दुरुपयोग गर्दै आएका थिए।