नेपाल प्रहरीका पूर्वडिआइजी पीताम्बर अधिकारीलाई ३ प्रश्न

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

लुटेराविरुद्ध गोलीसमेत प्रहार गर्ने प्रहरीको नीतिले कस्तो प्रभाव पार्न सक्ला ?
समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले परिस्थितिअनुसार फरक–फरक रणनीति अपनाउनुपर्ने हुन्छ । यस क्रममा प्रहरीले सबै खालका अपराधी हतियारबद्ध हुँदैनन् र सबै अपराधीले हतियारको बल प्रदर्शन गर्दैनन् भन्ने मनन गर्नुपर्छ । कुनै अपराधीले हतियारको भाषा बोल्छ भने प्रहरीले आफ्ना तर्फबाट साझेदारी या मित्रताको भाषा बोलेर हुँदैन । परिस्थिति हेरेर जघन्य प्रकृतिको अपराध र त्यसमा संलग्न अपराधीविरुद्ध हतियार प्रयोग गर्नु अन्यथा होइन । यसबाट त्यस्ता अपराध न्यूनीकरणमा सकारात्मक प्रभाव नै पर्छ । 

चोरी, लुटपाट, लागुऔषध कारोबारजस्ता अपराध रोक्न प्रहरीले कस्तो रणनीति अपनाउनु ठिक हुन्छ ?
सामाजिक अपराधको प्रकृति निकै ‘भेग’ छ । लागुऔषधसँग सम्बन्धित अपराधका मुख्यतः दुई पाटा छन् । पहिलो हो, नियन्त्रण, पक्राउ, बरामदी र कानुनी कारबाही । यो अलि कडा प्रकृतिको हुन्छ । लागुऔषधको मागमा न्यूनीकरण, कुलत या दुर्व्यसनका कारण पत्ता लगाएर रोकथामका लागि गरिने प्रयास, परामर्श आदि नरम प्रकृतिका रणनीति हुन् । लागुऔषधका कारोबारी हतियारविना त हिँड्दैहिँड्दैनन् । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले हतियार नचलाई सम्भव हुँदैन । हतियार चलाउँदा पनि न्यूनतम क्षति होस् भन्नेतर्फ भने प्रहरीले ध्यान दिएकै हुन्छ । 

आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन प्रहरीले के गर्नुपर्छ ?
आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन प्रहरीले सबैभन्दा पहिले ‘क्विक रेस्पोन्स’ देखाउनुपर्छ । घटनास्थल या पीडितको पहुँचमा प्रहरी कतिखेर पुग्यो, सूचना पाएपछि उसले कस्तो ‘रेस्पोन्स’ देखायो, त्यसले आमजनतामा प्रभाव पार्छ । प्रहरीले अपराध र अपराधी हेरेर बल प्रयोगसँगै दृढ कारबाही गर्नुपर्ने हुन्छ । साथै, पीडितमा मनोपरामर्शसहित मित्रवत् व्यवहार प्रस्तुत गरेमा पनि त्यसले आमसर्वसाधारणमा प्रहरी मेरो साथी हो भन्ने भावनाको विकास भई शान्ति सुरक्षाको प्रत्याभूति हुन सक्छ ।   

सुझावित समाचार