कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कथासंग्रह सार्वजनिक गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रयासस्वरूप नयाँ वर्ष ०८३ सालको अवसरमा कथासंग्रह तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको हो ।
उक्त कथासंग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीले सार्वजनिक गरे । बैंकले वित्तीय साक्षरता केवल सूचना नभई, व्यवहार परिवर्तन गर्ने प्रक्रियासमेत भएकाले कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्याउने विश्वास व्यक्त गरेको छ ।
कथासंग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग तथा आर्थिक योजनाजस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक कथाका माध्यमबाट प्रस्तुत गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो कथासंग्रह देशभरका विभिन्न विद्यालयमा वितरण गरिनेछ । यसले विद्यार्थीमा सुरुवातदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी र जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुर्याउनेछ ।
साथै, बैंकले ‘अल्फा ग्रो सेभिंग्स अकाउन्ट’ खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथासंग्रहसमेत प्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ । यो कदमले बचत व्यवस्थापनलाई व्यावहारिक रूपमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको बैंकको भनाइ छ ।
कथासंग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण गरिएको छ । यी भिडियोमा कथाका पात्रलाई दृश्यात्मक रूपमा जीवन्त बनाउँदै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको बताइएको छ ।
बैंकका अनुसार भिडियो सामग्रीले विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आकर्षित गर्नेछ । साथसाथै, वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सजिलै बुझ्न सकिने माध्यममा रूपान्तरण गर्ने पनि अपेक्षा गरिएको छ । कथासंग्रहसँग सम्बन्धित भिडियो सामग्री प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ ।