नेपाली नयाँ वर्ष ०८३ को पहिलो दिन ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा देवी मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । देशका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनले मन्दिर क्षेत्रमा चहलपहल बढाए हो ।
नयाँ वर्षको अवसर पारेर आउने अधिकांश दर्शनार्थी नेपाली तथा भारतको सिक्किमबाट आउने गरेका छन् । नयाँ वर्षको एक साता अघिदेखि नै मन्दिरमा भक्तजनको आगमन बढिरहेको थियो । सोमबार मात्र हजारौँले दर्शन गरेका थिए । पाथीभरा देवीको दर्शन, पूजापाठ तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण नयाँ वर्षमा यहाँ आउने भक्तजनको आगमन बढिरहेको छ ।
पछिल्लो समय मन्दिर क्षेत्रको पूर्वाधार सुधारसँगै दर्शन गर्न सहज भएको छ । पैदलमार्ग मर्मत, विश्रामस्थल निर्माण तथा व्यवस्थापनले तीर्थयात्रालाई सहज बनाएको छ । उकालो यात्रा र चिसो मौसमका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्राथमिक उपचारको माथिल्लो फेदीमा व्यवस्था पनि गरिएको छ ।
हिन्दु धर्मअनुसार पाथीभरा देवीलाई शक्तिपीठका रूपमा मानिन्छ । यहाँ पुगेर दर्शन तथा पूजा गरेमा मनोकामना पूरा हुने विश्वास छ । समुद्री सतहदेखि करिब तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पूर्वी नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ ।