- वर्षौँ ओर्बान सरकारसँग नजिक रहेका मग्यारले दुई वर्षअघि फरक पार्टीमा जोडिएर ओर्बानकै १६ वर्षे कार्यकाल अन्त्य गरिदिए
बुडापेस्टमा हुर्किँदै गर्दा पिटर मग्यारले आफ्नो शयनकक्षमा भिक्टर ओर्बानको पोस्टर झुन्ड्याएका थिए । त्यतिवेला ओर्बान हंगेरीको लोकतन्त्र समर्थक आन्दोलनका एक अग्रणी व्यक्तित्व थिए । यो हंगेरीमा साम्यवाद पतनपछिको कुरा हो । अहिले उनै मग्यारले आफ्ना युवाकालीन राजनीतिक आदर्श ओर्बानको १६ वर्षे शासनकाल अन्त्य गरिदिएका छन् । आइतबार (१२ अप्रिल) सम्पन्न आमनिर्वाचनमा मग्यार र उनी नेतृत्वको ‘टिस्जा’ पार्टीको असाधारण प्रदर्शन (दुईतिहाइभन्दा बढी सिटको जित) केही समयअघिसम्म कमैले सोचेका थिए ।
खासमा साम्यवादको अन्त्यपछि हंगेरीमा कहिल्यै कुनै पार्टी यति छिटो उठेको थिएन । धेरैले ४५ वर्षीय मग्यारले निर्माण गरेको जबरदस्त आन्दोलन र यस क्रममा उनले गरेको अथक मिहिनेतको प्रशंसा गर्छन् । हुन पनि चुनावी अभियानमा उनले दिनमै ६ वटासम्म भाषण दिने गरेका थिए । तथापि, उनलाई चिन्न अरू केहीले भने उनको झनक्क रिसाउने बानीलाई उनको कमजोरी मान्छन् । तथापि, अरूले यही बानीलाई पनि स्वाभाविक मानेका छन् । ‘उनी एक कठिन व्यक्ति हुन्, तर सबै राजनीतिज्ञ यस्तै कठिन हुन्छन्,’ फिल्मनिर्माता तामास टोपोलान्स्कीले भने ।
हंगेरियन समाजमा आइरहेको व्यापक परिवर्तनबारे बन्दै गरेको वृत्तचित्रका क्रममा विगत १८ महिनादेखि मग्यारलाई पछ्याएका टोपोलान्स्कीले मग्यारलाई छलछाम नजान्ने र भावुक बताउँदै कहिलेकाहीँ अधीर हुने व्यक्तिका रूपमा वर्णन गरे । ‘खासमा हामी हंगेरियन नागरिकलाई यस्तै नेता चाहिएको थियो,’ टोपोलान्स्कीले भने । आफ्नो आँखापछाडिबाट टोपोलान्स्कीले मग्यारलाई ट्र्याक गरे, जब उनी हंगेरीका गाउँ र सहरमा घुम्न थाले ।
मग्यारको उदयमा ओर्बानको फिडेज पार्टीसँग उनको गहिरो सम्बन्धको पनि योगदान छ । खासमा हालसम्मको उनले आफ्नो जीवनको ठुलो हिस्सा सो पार्टीका भित्री घेरासँग घुलमिल हुँदै बिताए । उनका नजिकका साथीमा ओर्बानका ‘चिफ अफ स्टाफ’ गर्गेली गुल्याससमेत समावेश छन् । मग्यारको विवाह नै फिडेज पार्टीकी पूर्वन्यायमन्त्री जुडित भर्गासँग सन् २००६ मा विवाह भएको थियो । मग्यार आफैँले ब्रसेल्समा हंगेरियन कूटनीतिज्ञका रूपमा सेवा गरे र राज्य संस्थामा वरिष्ठ पद सम्हाले ।
सन् २०२४ मा ओर्बान सरकारको एक निर्णय मग्यारको राजनीतिक उदयको आधार बन्यो । ओर्बानको पार्टीले वर्षौंदेखि क्रिस्चियन मूल्य र बालबालिकाको सुरक्षामाथि आफ्नो ब्रान्ड निर्माण गरेको थियो । तर, त्यतिवेला बालगृहमा भएको एक यौन दुर्व्यवहार काण्ड ढाकछोप गर्न मद्दत गरेकामा दोषी ठहरिएका एक व्यक्तिलाई सरकारले माफी दिएको कुरा बाहिरियो । विवादबिच हंगेरीका राष्ट्रपति केट्लिन नोभाकले राजीनामा गरेकी थिइन् ।
मग्यारले यस घटनालाई व्यापक उचाले । शासनको भित्री ज्ञान भएको व्यक्तिका रूपमा उनले ओर्बानको १६वर्षे कार्यकालमा प्रणाली कति सडिसकेको छ भन्ने कुरालाई उजागर गरिदिए । मग्यारले फिडेज पार्टी यसका नेताका लागि एक ‘राजनीतिक उत्पादन’ भएको र यसलाई नागरिकमाझ बिकाएर नेताले अकुत शक्ति र सम्पत्ति आर्जन गरेको बताए । बढ्दो महँगी, लामो समयदेखि स्थिर रहेको सार्वजनिक सेवा र तलबमा आएको गिरावटको सामना भोगिरहेका आमहंगेरियनलाई यस नाराले छोयो ।
मार्च २०२४ मा मग्यारको नेतृत्वमा सरकारविरुद्ध विरोध प्रदर्शन सुरु भयो । पहिलो र्यालीमा अनुमानित ३५ हजार मानिस उपस्थित भए । फिडेजको पूर्वसदस्यका रूपमा उनको हैसियतले मानिसको ध्यान खिचेको अभियानको बलमा दुई वर्षपछि उनले नयाँ राजनीतिक उचाइ हासिल गर्न सफल भए । दुई वर्ष लामो प्रचार अभियान र २४० पृष्ठको चुनावी घोषणापत्रको बाबजुद मग्यार वास्तवमा के चाहन्छन् भन्ने अझै अन्योल कायम छ ।
तथापि, आप्रवासनबाहेक मुद्दामा (जसमा उनले ओर्बानभन्दा कडा नीति लिँदै देशको पाहुना कामदार योजना खारेज गर्ने बताएका छन्) बाहेक मग्यारले ओर्बानको शासनकालमा भएका धेरै समस्याग्रस्त कार्यक्रम उल्ट्याउने प्रतिबद्धता जनाएका छन् । उनले लोकतान्त्रिक नियन्त्रण र सन्तुलन पुनर्स्थापित गर्नेलगायत इयूसँग सम्बन्ध सुधार्नेलगायत वाचा गरेका छन् । रुससँग ओर्बानले विकास गरेको घनिष्टताको सट्टा ‘व्यावहारिक सम्बन्ध’ कायम गर्दै सन् २०३५ सम्ममा रुसी ऊर्जामाथिको निर्भरता अन्त्य गर्ने वाचा गरेका छन् ।
युक्रेनको कुरा आउँदा मग्यारले सो देशमा हतियार पठाउने र किभको शीघ्र इयू प्रवेशको विरोध गर्ने ओर्बानको नीतिलाई निरन्तता दिने बताएका छन् । आप्रवासन र युक्रेनलाई सहयोग गर्ने विषयमा युरोपेली संघभन्दा भिन्न भए पनि संघसँगको सम्बन्ध ओर्बानको बहिर्गमनपछि सहज हुने विश्वास गरिएको छ ।
टिस्जाको जितसँगै अब यसको नेतृत्वमा बन्ने सरकारले के–के बदलाब ल्याउन सक्ला भन्ने प्रश्न उठिरहेको छ । फिडेजको १६ वर्ष लामो शासनमा फिडेज पार्टीले हंगेरीको राज्य, मिडिया र न्यायपालिकामा पार्टी नजिकका मानिसले भरिदियो । सरकार परिवर्तन हुँदा ती समूहले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने अझै अन्योल नै छ । ‘पिटर मग्यारको कुरा आउँदा स्वाभाविक रूपमा प्रश्नचिह्न र विस्मयादिबोधक चिह्न आउँछन्,’ हंगेरीका स्वतन्त्र सांसद तथा ओर्बानका लामो समयदेखिका आलोचक आक्रोश हाधाजीले भने, ‘तर, ओर्बानको बहिर्गमनका लागि हंगेरियन समाजले यसलाई पनि स्वीकार गरेको छ ।’
(आसिफा युरोपेली राजनीतिबारे लेख्छिन्)
द गार्जियनबाट