कामना सेवा विकास बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले रूपन्देहीको सियारी ६, बर्दहवास्थित दुर्गादेवी माध्यमिक विद्यालयपरिसरमा शिविर सञ्चालन गरेको हो । शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको बताइएको छ । लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरेकृष्ण डेन्टल, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ६ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।
समुदायमा रहेका व्यक्तिलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पु¥याउनु, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्नु कार्यक्रमको उद्देश्य रहेको बैंकले जनाएको छ । सहभागीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव पनि दिइएको थियो ।
कार्यक्रममा बोल्दै बैंक सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । त्यसैगरी, बुटवल क्षेत्रीय प्रमुख हेमन्तबाबु आचार्यले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रमप्रति स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।