विनोदको शतकमा आर्मी सात विकेटले विजयी

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण
  • प्रधानमन्त्री कपमा अपराजित आर्मीका कप्तान विनोद भण्डारीले सुदूरपश्चिमविरुद्ध ७५ बलमा सय रन जोडे

कप्तान विनोद भण्डारीको शतकीय इनिङ्सको सहयोगमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको छ । जनकपुर मैदानमा पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ३८.१ ओभरमा सबै विकेट गुमाएर १५० रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा विनोदको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा आर्मीले २०.२ ओभरमा १५५ रन बनायो । आर्मीले प्रतिओभर ७.६२ रनरेटमा ब्याटिङ गरेको थियो । चालू प्रतियोगितामा शतकीय इनिङ्स खेल्ने विनोद सातौँ खेलाडी बने ।

यसअघि आर्मीकै बसिर अहमद, लुम्बिनीका रञ्जित खड्का, पुलिसका शंकर राना, आर्मीका अर्जुन साउद, एपिएफका आसिफ शेख र गण्डकीका अर्जुन कुमालले शतकीय इनिङ्स खेलेका थिए । जितसँगै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले सात खेलमा ६ जितका साथ १३ अंक जोडेको छ । पराजित सुदूरपश्चिम भने १० अंकका साथ दोस्रो स्थानमै छ । आर्मीले शीर्ष स्थानमा सुदूरपश्चिमविरुद्ध तीन अंकको अग्रता लिएको छ । चालू प्रधानमन्त्री कपमा आर्मी मात्र अपराजित रहेको छ । कर्णालीमाथि ४८ रनको जित निकालेको नेपाल पुलिस तेस्रो स्थानमा छ ।

पुलिसले चार जित र दुई हार सामना गरी ९ अंक जोडेको छ । मधेश प्रदेशले ९ अंक बनाएको छ । मधेश चौथो स्थानमा छ । चौथो स्थानमा रहेको लुम्बिनी प्रदेशले ७ अंक बटुलेको छ । लुम्बिनी पाँचौँ स्थानमा छ । नेपाल एपिएफ क्लबले सात खेलबाट समान तीन जित र हार सामना गरी ७ अंक बनाएको छ । रनरेटमा एपिएफ कमजोर रहँदा छैटौँ स्थानमा रहेको हो । अर्को सिजन आयोजना हुने जय ट्रफी प्रतियोगितामा प्रधानमन्त्री कपका शीर्ष चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । चालू प्रधानमन्त्री कपमा दोस्रोदेखि छैटौँ स्थानसम्म कडा प्रतिस्पर्धा भइरहेको छ ।

विनोदको आक्रामक ब्याटिङ
१५१ रनको लक्ष्य पछ्याएको इनिङ्समा आर्मीका विनोद आक्रामक रूपमा प्रस्तुत भएका थिए । इनिङ्सको १.६ ओभरमा आर्मीले ओपनर तृतराज दासलाई गुमाएको थियो । त्यसवेला आर्मीले स्कोर बोर्डमा ९ रन मात्र जोडेको थियो । त्यसपछि विनोदले भीम सार्कीसँग दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरी टोलीलाई १३.६ ओभरमा ९६–२ को बलियो स्थितिमा राखे । उनीहरूले दोस्रो विकेटका लागि ७२ बल खेलेका थिए । जसमध्ये विनोदले ४७ बलमा ६५ रनको योगदान दिएका थिए । भीमले २५ बलमा दुई चौकाको सहयोगमा १६ रन बनाए । विनोदले कुशल मल्लसँग तेस्रो विकेटका लागि ३७ बलमा ४७ रनको साझेदारी गरी टोलीलाई १९.६ ओभरमा १४३/३ को बलियो स्थितिमा राखे । शेर मल्लको ओभरमा विनोदले आफ्नो विकेट गुमाएका थिए । उनले ७५ बल खेल्दा १२ चौका र पाँच छक्का प्रहार गरेका थिए । कुशलले १८ बलमा समान दुई चौका र छक्का प्रहार गरी २६ रनको योगदान दिए । बलिङमा शेर मल्लले सात ओभरमा ५२ रन खर्चेर दुई विकेट लिए । मिलन बोहराले २३ रनमा एक विकेट हात पारे । विनोदले ४३ बलमा अर्धशतक तथा ७४ बलमा सय रन बनाएका थिए ।

बसिरको पाँच विकेटमा सुदूरपश्चिम कमजोर
पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले कमजोर प्रदर्शन गरेको थियो । सुदूरपश्चिमलाई कमजोर बनाउनुका पछाडि बसिर अहमदले घातक बलिङ गरेका थिए । उनले ९.१ ओभरमा ३५ रन खर्चेर पाँच विकेट लिएका थिए । उनले आफ्नो स्पेलमा एक मेडन राखेका थिए । बसिरले १५.२ ओभरमा अभिषेक पाल, २१.१ ओभरमा मिलन बोहरा, २५.६ ओभरमा अशोक धामी, २९.३ ओभरमा हेमन्त धामी र ३८.१ ओभरमा नरेश जोशीको विकेट लिँदा सुदूरपश्चिम १५० रनमा अलआउट भयो । 

सुदूरपश्चिमको ब्याटिङमा नरायण जोशीले सर्वाधिक ६३ रनको योगदान दिएका थिए । उनले ६० बलमा पाँच छक्का र तीन चौका प्रहार गरेका थिए । ओपनर अभिषेकले ४१ बलमा चार चौका प्रहार गरी २४ रन जोडे । खडक बोहराले १४ बलमा १३ रन बनाए । सुदूरपश्चिमको मध्यक्रम चल्न सकेन । सो इनिङ्समा सात ब्याट्सम्यानले दोहोरो अंकमा रन नै बनाएनन् । 

नेपाल पुलिस तेस्रो स्थानमा उक्लियो
प्रतियोगिताअन्तर्गत ३५औँ खेलमा नेपाल पुलिसले कर्णालीमाथि ४८ रनको जित निकाल्यो । वीरगन्ज रंगशालामा पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ५० ओभरमा आठ विकेट गुमाएर २६१ रन बनाएको थियो । प्रत्युत्तरमा कर्णाली ४५.२ ओभरमा २१३ रनमा अलआउट भयो । पुलिसका लागि स्पिनर ललितनारायण राजवंशीले ३६ रन खर्चेर पाँच विकेट लिएका थिए । जितसँगै पुलिसले तेस्रो स्थान रक्षा गरेको हो । पुलिसका लागि ओपनर दिनेश खरेलले सर्वाधिक ८२ रनको योगदान दिएका थिए । उनले सय बलमा नौ चौका र एक छक्का प्रहार गरेका थिए । मध्यक्रमका अमित श्रेष्ठले ३२ बलमा ३० तथा रसिद खानले ५५ बलमा २४ रनको योगदान दिए ।

यसैगरी कप्तान आरिफ शेखले ३२ बलमा दुई छक्काको सहयोगमा २७ तथा दिल्साद अलीले ३७ बलमा २३ रन जोडे । बलिङमा कर्णालीका बलरले खराब प्रदर्शन गरेका थिए । उसका बलरले ३५ अतिरिक्त रन दिएका थिए ।

जसमध्ये २९ वाइड तथा चार लेगबाई फ्याँकेका थिए । प्रकाश जैसीले ५७ रनमा तीन विकेट लिएका थिए । लक्ष्य पछ्याएको इनिङ्समा कर्णालीका अर्जुन घर्तीले ४६ रन जोडेका थिए । उनले समान दुई चौका र छक्का प्रहार गरेका थिए । यसैगरी सुनील धमलाले ४७ बलमा तीन छक्का र एक चौका प्रहार गरी ३४ रन जोडेका थिए । 

सुझावित समाचार