ट्रम्प–नेतान्याहुले इरानमा सद्दामको गल्ती दोहोर्‍याउँदै

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

अन्धाधुन्ध बमबारीको सामना गरिरहेका इरानीहरू आफ्नो सरकारविरुद्ध उठ्नेछन् भन्ने आशा गर्नु मूर्खता मात्रै होइन, क्रूरता पनि हो 

फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि अवैध युद्ध सुरु गर्दा तिनले इरानी जनतालाई सरकारविरुद्ध विद्रोहमा उठ्न आह्वान गरेका थिए । त्यसो भनेर तिनले सैन्य लक्ष्य मात्र नभई नागरिक आवास, विश्वविद्यालय, विद्यालय, अस्पताल, व्यावसायिक भवन र ऐतिहासिक स्थलमा बमबारी गर्न थाले । यी नागरिक स्थलमा भएका विस्फोटको आवाजमा धेरै इरानीले यसअघि सन् १९८०–१९८८ मा भएको इरान–इराक युद्धको प्रतिध्वनि सुनिरहेका छन् ।

त्यतिवेला पनि व्यापक बमबारीबिच इराकी लडाकु विमानले इरानीलाई आफ्नो सरकारविरुद्ध विद्रोहमा उठ्न आग्रह गरिएका फारसी भाषामा लेखिएका पर्चा खसाल्थ्यो । ती पर्चाको अर्थ थियो, इरानी जनताले छिमेकी इराकबाट बमबारी रोकियोस् भन्ने चाहन्छन् भने भर्खरै गठन भएको इस्लामिक सरकार ढाल्नुपर्छ । तर, हामी आमइरानी नागरिक, जसमध्ये धेरै इस्लामिक सरकारका विरोधी थियौँ, इराकीहरू हाम्रा मुक्तिदाता हुनेछन् भन्ने कुनै भ्रममा थिएनौँ । 

त्यतिवेला इरानभित्रका रहेका हामीजस्ता इस्लामिक सरकारविरोधी दुई समूहमा विभाजित थियौँ । ती थिए– सरकारसँगको असमहमतिका बाबजुद इराकी आक्रमणबाट देशको रक्षामा भाग लिनुपर्छ, कि त युद्धको फाइदा उठाएर सरकारविरोधी एजेन्डा थप तीव्र बनाउनुपर्छ । म दोस्रो समूहमा थिएँ, अर्थात् युद्धको फाइदा उठाउँदै धार्मिक संस्था ढाल्नुपर्छ भन्ने विचार बोक्ने । इराकले इरानमाथि आक्रमण सुरु गर्दा इरानको इस्लामिक सरकार बनेको एक वर्ष मात्रै भएको थियो । सरकारप्रति आमइरानीको व्यापक समर्थन देखिन्थ्यो, जसलाई इराक युद्धले झन् सघाएको थियो । इराकका शासक सद्दाम हुसेनले चाँडै के पाठ सिके भने नवगठित इस्लामिक सरकारभित्र कायम अराजकताका बाबजुद ऊ देशको रक्षा गर्न र युद्धमा लाखौँ नागरिक परिचालन गर्न सक्षम छ । 

इरानभित्रका सरकारविरोधी समूहमा रहेका हामीले पनि त्यो पाठ धेरै चाँडो सिक्यौँ । खासमा युद्धको बहानामा इस्लामिक गणतन्त्रले छिमेकी देशको युद्धविरुद्ध मात्र जनतालाई परिचालन गरेको थिएन । मुल्लाह शासकले विपक्षीलाई कमजोर बनाएर सफलतापूर्वक शक्ति सुदृढ गरेको थियो । दसौँ हजार सरकारविरोधी पक्राउ परे । धेरैलाई निर्वासित गरियो र हजारौँलाई मृत्युदण्ड दिइयो । यसरी सरकारविरोधीलाई या त निर्मूल पारियो, या निर्वासित गरियो ।

अहिले ४६ वर्षपछि अमेरिकी र इजरायली नेताले सद्दाम हुसेनकै जस्तो भ्रम राखेको देखिन्छ । सद्दामले आफ्ना सेना इरानी भूमिभित्रै पठाएका थिए, अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हवाई कारबाही मात्र चलाइरहेका छन् । तर, यो झन् खतरनाक हुने गर्छ । किनकि, आक्रमणकारीका कुनै मानिस नमर्ने भएपछि बमवर्षक विमानचालकले जहाँ मन लाग्यो, त्यहीँ जुनसुकै समय बमबारी गर्न सहज मान्छन् । यसले तल जमिनमा बस्नेहरूमा थप चिन्ता र डर उत्पन्न गर्छ ।

अर्को भिन्नता अब इस्लामिक गणतन्त्र पहिलेजस्तो नयाँ रहेन । यसले आफ्ना नागरिकको उलेख्य समर्थन गुमाइसकेको छ । वर्षौंको कठोर आर्थिक प्रतिबन्धले जनताको आमजीवन प्रभावित छ । धेरै इरानी गरिबीमा धकेलिएका छन् । त्यसमाथि शासकहरू भ्रष्टाचारमा चुर्लुम्म डुब्दा मानिसको कठिनाइ झनै बढेको छ । यो तीतो आर्थिक अवस्थामाथि सरकारको क्रूर दमनका कारण आमनागरिक र राज्यबिच ठुलो विभाजन सिर्जना भएको छ । तथापि, यस विभाजनको अर्थ यो थिएन कि अमेरिका–इजरायलले आक्रमण गरेपछि ठुलो संख्याका मानिस त्यसको समर्थनमा आउने थिए । र, मानिसहरू समर्थनमा आएनन् पनि । यसैले अमेरिकीहरूले सोचेजस्तो शासन ढलेन । खासमा ट्रम्प प्रशासनले सोचेजस्तो इरानको राज्य संरचना एक व्यक्ति (आयतोल्लाह) माथि मात्र निर्भर थिएन वा छैन ।

संवैधानिक रूपमा इरानका सर्वोच्च नेताको कार्यालयले राज्यका तीनवटै अंगमा ठुलो अधिकार राख्ने गरेको सत्य हो । तर, यसको अर्थ राज्यको शीर्ष नेता मारिँदैमा यसको पतन हुने होइन । इस्लामिक गणतन्त्रमा शक्तिका धेरै स्रोत छन् र तिनको समग्र योगले सम्पूर्ण शासनलाई जोडेको छ भन्ने वासिंटनका थिंक–ट्यांकका विज्ञले बुझ्न सकेनन् । त्यसैले त खामेनीको हत्यापछि पनि शासन यथावत् कामय छ । बरु खामेनीको हत्या गरेर अमेरिका–इजरायलले युद्धमा पनि कुनै पनि देशका शीर्ष नेताको हत्या गर्न नहुने अन्तर्राष्ट्रिय कानुनविरुद्ध गएर युद्ध अपराध गरेका छन् ।

सन् १९८० को दशकमा सद्दाम हुसेनले जस्तै ट्रम्प–नेतान्याहु गठबन्धन बमबारीमार्फत राज्यलाई कमजोर बनाएको र इरानीलाई इस्लामिक गणतन्त्रलाई उखेल्न सहज बनाएको दाबी गरिरहेका छन् । तर, खासमा इरानभरका सहरमा व्यापक बमबारी गरेर र महत्वपूर्ण आर्थिक पूर्वाधार नष्ट गरेर उनीहरूले सम्पूर्ण नागरिकलाई सजाय दिइरहेका छन् । अन्धाधुन्ध बमबारी, कठोर आर्थिक प्रतिबन्ध र हत्यामार्फत आमनागरिकको पहिलेदेखिको दुःखमा थप पीडा थोपर्ने अनि तिनै पीडित जनताले सरकार ढालिदिऊन् भनेर आशा गर्ने कार्य मूर्खता र क्रूरता मात्र हो । पहिले यस्तै सोच राख्ने सद्दाम सफल भएनन् । अब ट्रम्प र नेतान्याहु पनि यसमा सफल हुँदैनन् । 

(तब्रिजी प्रिन्सटन विश्वविद्यालयको ‘नियर इस्ट स्टडी’ विभागका पूर्वप्राध्यापक र अध्यक्ष हुन्) 
अलजजिराबाट

सुझावित समाचार