महिलाको दुःखको कथा कहिलेबाट सुरु भयो होला ? मान्छेको सभ्यता र विकासक्रमको अन्वेषक गर्ने मानवशास्त्री भन्छ्न्– जब समाजमा परिवार र निजी सम्पत्तिको उदय भयो, समाजमा निजी स्वास्नी र निजी सन्तान भन्ने नियम सुरु भयो, तबदेखि महिला शासित भई । मानव सभ्यताको मोटामोटी आठ हजार वर्षदेखि महिला दोएम भए । त्यसयता पितृसत्ताले महिलाको यौनिकताभित्र उसको सम्पूर्ण अस्तित्वलाई सीमित गर्यो । सँगसँगै हरेक युगका महिलाले दमन र अत्याचारविरुद्ध प्रतिरोध गर्दै आए । आफ्नो अधिकार र स्व–अस्तित्वका लागि महिलाले विद्रोह मात्रै होइन, बलिदानसमेत गर्दै आएका छन् ।
लेखक अर्चना थापाको उपन्यास ‘अग्निगर्भा’ पढिरहँदा लाग्छ, यो मेरो कथा हो । अपवाद छाडेर हरेक महिलाको कथा हो, अग्निगर्भा । आफू छोरी, बहिनी, श्रीमती र आमा भइरहँदा कैयौँपटक घरधन्दाको बोझले थिचेर उकुसमुकुस भएकी छु । महिला हुँदाको दायित्वले वेलावेला आफैँ ‘म को हुँ ?’ भनेर खुट्याउन गाह्रो भएको छ ।
समाजमा घरेलु महिला भन्ने निम्छरो मानक, जसलाई आजको महिला आफैँले पनि सहज रूपमा ग्रहण गर्न सकेको देखिँदैन । न त यो पहिचानलाई समाजले नै सम्मानजनक रूपमा लिन सकेको छ । तर पनि संसारभरि महिलाको अवैतनिक श्रमको शोषण भइरहेको छ । उपन्यासकारका अनुसार आज पनि विश्वका ६२.२ प्रतिशत महिला बेतलबी श्रम गर्छन् ।
उपन्यासमा तेजश्री डुम्री गाउँकी कथित खानदानी काजी परिवारकी बुहारी, जो हैसियतले मात्रै पानी दुलहीमा सीमित छे । ऊ बुहारी हुनुको नाताले चुपचाप परिवारको सेवामा २४ घण्टा खटिन्छे । परिवारमा तेजश्रीलाई न कुनै आर्थिक अधिकार छ, न कुनै सम्मान ।
उपन्यासमा थुप्रै उपकथा छन् । दर्जनबढी भिन्न उमेर, जात, पठित र साधारण महिलाका संघर्षका कथा छन् । उपन्यास ग्रामीण लयको भाषिक चयन, शब्दहरूको संरचनागत विशिष्टता, मिथकीय भाव, दर्जनौँ उखानटुक्काको संयोजनले स्वादिलो बनेको छ ।
उपन्यासकार एक ठाउँ अत्यन्तै मिठो तरिकाले कथाबारेको अन्तर्य खोल्छिन् । कसको कथा ? र कथावाचक को हो ? भन्ने कुराले कथाको चोला फेरिन सक्छ । जसले कथा सुनाउँछ, उसले कथा घुमाउन पनि सक्छ । हुन पनि हो, महिलाले समाजमा आफ्नो कथा निर्धक्क भन्न थालेको कति पो भयो र ? अनि महिलाको कथा सुन्न र विश्वास गर्न लायक ठानिएको कति पो भयो र ? अहिलेसम्म महिला अरूले गरिएको परिभाषामा कैद हुन बाध्य छन् ।
लेखकले पछिल्लो समय नेपाली समाजमा बढ्दो भूमाफिया, पुँजीवाद र बजारले कसरी मौलिक संस्कृति र संरचनालाई निल्दै गएको छ भन्ने कुरा जक्तिसिह टोल र डुम्रीबस्तीको उदाहरणबाट देखाउन खोजेकी छिन् । नेपाली समाजमा महिलामाथि हुने चरम घरेलु हिंसाका घटना, तेजश्री र उसको घरमा भएको आपराधिक पुरुषको जत्थाले गरेको आक्रमण र आगलागी डरलाग्दो छ ।
एक्काइसौँ शताब्दीमा पनि श्रमको उचित मूल्य नपाएकी महिलाको कथा हो, ‘अग्निगर्भा’ । उपन्यासकारले कथा बुन्नमा आफ्नो आमा प्रेरणाको स्रोत हुन् भनेर स्वीकार गरेकी छिन् । उपन्यासमा भान्सा र खानपिनका परिकारबारे मसिनो गरी व्याख्या गरिएको छ । किनकि, तेजश्रीले आफ्नो पकवानमा भएको दक्षतालाई नै आयको माध्यम बनाएकी छे । पकवानमा खसआर्य स्वाद प्रशस्त देखिन्छ ।
उपन्यासमा केही अन्तर्विरोध पनि देखिन्छ । अनु र तेजश्री आमाछोरी हुन्, यहाँ उनीहरूबिचको सम्बन्ध प्रेमिल लाग्दैन, किनकि श्रीमान्बाट टाढा भएकी तेजश्री र छोरीबिच भावनात्मक रूपमा जुन लगाव अपेक्षा गरिन्छ, त्यो देखिँदैन । त्यसैगरी, सिमोन र अमनबिचको प्रेम र यौन सम्बन्ध पनि त्यति सहज लाग्दैन ।
तेजश्रीका मनमा थुप्रै प्रश्न छन् ? उसले पितृसत्ता टिकाउने विचार र व्यवस्थामाथि प्रश्न गरेको देखिँदैन । उपन्यासको अन्त्यतिर ‘यो आगो त म आफैँ हुँ’ बिम्बको प्रयोगले सबैभन्दा ठुलो अर्थ दिन्छ, जसले महिला लरतरो जिनिस होइन । यो आफैँमा एउटा विद्रोह हो, नायक हो भन्ने सन्देश दिन खोजेको देखिन्छ । उपन्यासमा आफ्नो स्वाभिमानका लागि तेजश्रीले गरेको विद्रोह मध्यमवर्गीय खसआर्य महिलाको शालीन विद्रोह हो । यो विद्रोह कुनै पिँधमा भएको दलित, मधेशी वा जनजाति महिलाले गरेको भए यसको स्वादमा कस्तो भिन्नता आउँथ्यो होला ? पक्कै फरक स्वादको हुन्थ्यो ।