त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र विषय प्राध्यापनरत माधव न्यौपानेलाई ३ प्रश्न

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

नयाँ संसद्मा ४० वर्षमुनिका १०२ जना सांसद हुनुले के अर्थ राख्छ ?
संसद्मा यति ठुलो संख्यामा युवाको प्रतिनिधित्व हुनु एकदमै सुखद विषय हो । युवा नयाँ विचारको प्रतिनिधि पनि हो । उसमा राज्य रूपान्तरणको हुटहुटी हुन्छ । उनीहरू ‘च्यालेन्जिङ’ पनि हुन्छन् । युवा उम्मेदवार बढी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदाताले विश्वास गर्नुको कडी पनि यही हो । तर, यति भन्दाभन्दै पनि नयाँजति सबै परिपूर्ण हुन्छन् भन्ने कदापि होइन । पुरानालाई पनि सम्मान गर्न सक्नुपर्छ । किनकि, पुरानाले केही गर्दै गरेनन् भन्ने भाष्य सही होइन । उनीहरूले गरेको पूर्ण भएन, जनताको आकांक्षासित उनीहरूले लय मिलाउन जानेनन् या सकेनन् । उनीहरूले युवामा आशा जगाउन सकेनन् । त्यसैको प्रकटीकरण हो गत भदौको जेन–जी विद्रोह । त्यसैले, अहिले संसद्मा प्रतिनिधित्व गरिरहेका युवाले जनआकांक्षाअनुरूप ‘डेलिभरी’ दिन सकेनन् भने जनतामा निराशा जाग्न पनि बेर लाग्दैन । 

यो उमेर समूहको सबल पक्ष के हो ?
विशेष गरी लोकतन्त्रमा विश्वास गर्ने युवाले जिताएर पठाएको हुनाले युवा प्रतिनिधिमाथि आमयुवाले ‘ओनरसिप’ महसुस गर्न सक्छन् । युवाको भावना मुखरित गर्न सहज हुन्छ । युवाले देशको ‘इकोनोमी’, ‘सोसाइटी’ र ‘पोलिटिकल सिस्टम’ बुझेर अघि बढ्न सके भने प्रत्यक्ष अनुभूत गर्न सकिने केही न केही ‘चेन्ज’ पक्कै हुनेछ । 

अनि, यस समूहको कमजोरी र चुनौतीचाहिँ के–के हुन् त ?
युवाले भूराजनीतिलाई राम्रोसित बुझेजस्तो लाग्दैन । उनीहरूमा अलि अपरिपक्वता देखिन्छ । अध्ययनमा पनि कमी हुन सक्छ । हाम्रोजस्तो बहुआयामिक समाजप्रतिको बुझाइमा पनि उनीहरूमा समस्या हुन सक्छ । पुरानालाई सम्मान गरी नयाँमा आशा जगाउन सक्नु उनीहरूका लागि चुनौतीपूर्ण बन्न सक्छ । 

सुझावित समाचार