एआई र आलोचनात्मक चेत

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण
  • मानिसले आफ्नो सोच र निर्णय प्रक्रिया एआईलाई जिम्मा दियो भने बाहिरबाट नियन्त्रण आफ्नै हातमा देखिए पनि वास्तविक नियन्त्रण प्रविधिले गर्छ

हेमपाल श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि आइटी क्षेत्रमा क्रियाशील छन् । आइटी विज्ञका रूपमा उनले विभिन्न सरकारी, गैरसरकारी क्षेत्रमा काम गर्दै आइरहेका छन् । नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ‘डिजिटल नेपाल फ्रेमवर्क’को सहलेखनमा उनले योगदान दिएका थिए । श्रीलंकास्थित युनिभर्सिटी अफ कोलम्बोमा साइबर सेक्युरिटी अध्ययन गरिरहेका उनीसँग एआई र आलोचनात्मक चेतबारे पवन बराइलीले कुराकानी गरेका छन् :

मानिसलाई अन्य प्राणीभन्दा फरक बनाउने मुख्य विशेषता उसको बौद्धिकता हो । अरू प्राणीको तुलनामा मानिसमा सोच्ने, बुझ्ने र सिकेका कुरालाई आधार बनाएर नयाँ सिर्जना गर्ने क्षमता हुन्छ । यही कारणले मानिसलाई सचेत र चेतनशील प्राणीका रूपमा चिनिन्छ । मानिसले कुनै विषयलाई केवल देखेर वा सुनेर मात्र होइन, त्यसको अर्थ बुझेर आफ्नो विचार निर्माण गर्न सक्छ । उसले जीवन र समाजका मूल्य र दृष्टिकोणलाई पनि मूल्यांकन गरिरहेको हुन्छ ।

मानिससँग विचार गर्ने क्षमता मात्र होइन, सही र गलत छुट्याउन सक्ने चेत पनि हुन्छ । यही चेतनाले मानिसलाई नैतिक निर्णय गर्न, समाजका मूल्य बुझ्न र जिम्मेवार व्यवहार गर्न प्रेरित गर्छ । यसैले मानिसलाई अन्य प्राणीबाट अलग पहिचान दिन्छ । तर, बौद्धिकता र स्मरणशीलता भने फरक–फरक कुरा हुन् । स्मरणशीलता भनेको जानकारीलाई सम्झने क्षमता हो, बौद्धिकता भनेको त्यसलाई बुझेर विश्लेषण गर्ने र नयाँ विचार वा सिर्जना गर्ने क्षमता हो । 

अहिलेसम्म प्रविधि स्मरण गर्ने र सूचनालाई छिटो प्रशोधन गर्ने क्षमतामा सक्षम थिए । तर, पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै प्रविधिले केवल जानकारी र केही हदसम्म विश्लेषण गर्ने र नयाँ सामग्री सिर्जना गर्ने क्षमतासमेत प्रदर्शन गर्न थालेको छ । 

एआईको मूल आधार भाषा र ज्ञानको सम्बन्ध हो । कुनै पनि विषयको ज्ञान प्राय: भाषामार्फत व्यक्त हुन्छ । यदि कसैसँग भाषाको ज्ञान छैन भने उसले कुनै कुरा देखेर वा अनुभव गरेर केही हदसम्म बुझ्न सक्छ, तर त्यसलाई स्पष्ट रूपमा व्यक्त गर्न वा प्रयोग गर्न सक्दैन । त्यसैले, ज्ञानलाई बुझ्न र प्रयोग गर्न भाषाको महत्वपूर्ण भूमिका हुन्छ ।

सन् २०१७–१८ तिर गुगलले नयाँ प्रकारको एआई मोडेल विकास गर्यो, जसले केवल शब्द मात्र होइन, सन्दर्भ र परिवेशसमेत बुझ्ने क्षमता देखायो । अर्थात्, कुन परिस्थितिलाई कसरी भन्ने र त्यसको वास्तविक अर्थ के हो भन्ने कुरा विश्लेषण गरेर प्रतिक्रिया दिन सक्ने प्रविधि विकसित हुन थाल्यो । यसले मानवको भाषिक व्यवहारलाई अनुकरण गर्ने दिशामा ठुलो फड्को मार्यो । मानिसको बोली वा व्यवहार नक्कल गर्ने उदाहरण हामी सुगामा पनि देख्न सक्छौँ । सुगाले मानिसको आवाज तुरुन्तै नक्कल गर्न सक्छ । एआईले पनि मानिसको भाषा, ज्ञान र बुझाइलाई अनुकरण गर्न थाल्यो । जब कुनै प्रणालीले ज्ञानलाई बुझेर त्यसको आधारमा प्रतिक्रिया दिन सक्छ, त्यही क्षमतालाई बुद्धिमत्तासँग जोडेर हेरिन्छ ।

मानिसले सोच्ने र मेसिनले सोच्ने प्रक्रियाबिचको दूरी क्रमश: घट्दै गएको छ । मानिसले सोच्दा आफ्नो अनुभव, सिकाइ र परिवेशका आधारमा सोच्छ । तर, मेसिनलाई भने विशेष भूमिकामा राखेर सोच्न लगाउन सकिन्छ । उदाहरणका लागि, कुनै एआई प्लाटफर्मलाई विश्वविद्यालयका प्राध्यापकजस्तो सोच भनियो भने त्यसले सोही भूमिकाअनुसार प्रतिक्रिया दिन सक्छ । वकिलको दृष्टिकोणबाट सोच भनियो भने त्यसरी पनि विश्लेषण गर्न सक्छ । 

अहिले एआई नयाँ सामग्री सिर्जना गर्ने दिशातर्फ अघि बढिरहेको छ । यसले समाजका विभिन्न विषय, तथ्य र सन्दर्भलाई बुझेर नयाँ जानकारी, विचार वा सामग्री उत्पादन गर्न सक्ने क्षमता देखाउन थालेको छ । अहिलेको प्रविधि क्रमश: अझ उन्नत हुँदै ‘सुपर एआई’ को सम्भावनातर्फ उन्मुख हुँदै गएको छ । सुपर एआई भन्नाले भविष्यमा यस्तो एआईको विकास हुनु हो, जसले सोच्ने, विश्लेषण गर्ने र निर्णय गर्नेजस्ता काम मानिसभन्दा धेरै छिटो गर्न सक्छ । यस्तो प्लाटफर्मले ठुलो मात्रामा जानकारी संग्रह गर्ने क्षमता राख्छ । यही कारणले यसले मानिसको सोच र निर्णय प्रक्रियामा समेत प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ ।

अहिलेको अवस्थालाई हेर्दा हामी सीमित कार्य गर्ने एआई (न्यारो एआई) बाट सामग्री सिर्जना गर्ने एआई (जेनेरेटिभ एआई) तर्फ अघि बढिरहेका छौँ । भविष्यमा यही प्रविधि अझ विकसित हुँदै गएर सुपर एआईतर्फ पुग्ने सम्भावना छ । हाल एआईले समाजमा जुन गतिमा सेवा र प्रयोग विस्तार गरिरहेको छ, त्यसले आगामी दिनमा अझ व्यापक रूपमा प्रयोग हुने संकेत देखाउँछ । यही परिवर्तनले प्रविधि र मानव बौद्धिकताको सम्बन्धलाई नयाँ ढंगले सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

सघाउँछ कि असर गर्छ ?
हामीले न्यारो इन्टेलिजेन्सलाई सहज मान्यौँ । यसलाई हामीले अहिलेसम्म सीमित कामका लागि प्रयोग गर्दै आइरहेका छौँ । तर, भविष्यमा एआई अझ अगाडि बढ्दै जाँदा यसले मानिसको सीप र व्यवहारमा प्रभाव पार्ने सम्भावना पनि देखिन्छ । उदाहरणका लागि यदि पूर्ण रूपमा स्वचालित रूपमा चल्ने गाडी (अटो–ड्राइभिङ कार) सामान्य रूपमा प्रयोग हुन थाल्यो भने मानिसले आफैँ गाडी चलाउने अभ्यास बिस्तारै घट्न सक्छ । त्यसपछि मानव जाति प्रविधिमाथि बढी निर्भर बन्न सक्छ ।

त्यस्तै, कुनै विषयबारे खोज गर्ने, अनुसन्धान गर्ने, तुलना गर्ने र निष्कर्ष निकाल्नेजस्ता बौद्धिक काम पनि मानिसले मेसिनलाई नै जिम्मा दिन थाले भने मानिसको आफ्नै सीप र अभ्यासमा कमी आउन सक्छ । यसरी अत्यधिक निर्भरता बढेमा मानिसको सीपमा ह्रास आउने जोखिम रहन्छ ।

यदि हामी एआईमाथि निर्भर भयौँ भने कुनै कारणले बन्द वा अवरुद्ध भएको अवस्थामा समस्या आउन सक्छ । एआई विभिन्न एल्गोरिदममा चलिरहेको हुन्छ । यो गलत दिशामा गए वा दिग्भ्रमित भयो भने त्यसले प्रयोगकर्तालाई गलत दिशातर्फ लैजान सक्छ । यसको उदाहरण सामाजिक सञ्जालमा देख्न सकिन्छ । जस्तै, धेरै मानिसले केही मिनेट मात्र हेर्छु भनेर भिडियो हेर्न सुरु गर्छन्, तर एल्गोरिदमले प्रयोगकर्ताको रुचिअनुसार भिडियो देखाइरहँदा उनीहरूलाई थाहै नपाई घन्टौँ समय बित्न सक्छ । यसरी एल्गोरिदमले मानिसको ध्यानलाई बाँधेर राख्ने क्षमता राख्छ ।

पहिला ज्ञान प्राप्त गर्न निकै समय, अभ्यास र अध्ययन आवश्यक पथ्र्याे । तर, अहिले प्रविधिको विकाससँगै ज्ञान र जानकारी सहज रूपमा उपलब्ध हुन थालेका छन् । यसले मानिसलाई धेरै सुविधा दिएको छ । इन्टेलिजेन्स बजारमा सहजै किन्दा पाइने वस्तुजस्तै बनेको छ । आवश्यक परेमा मानिसले त्यसलाई सजिलै किन्न सक्छ र प्रयोग गर्न सक्छ । तर, कहिलेकाहीँ यसले ‘अब म सजिलै सोच्न सक्छु’ भन्ने भ्रम पनि सिर्जना गर्न सक्छ । यो अवस्थालाई अटो–ड्राइभिङ गाडीको उदाहरणलाई लिन सकिन्छ । गाडीभित्र स्टेयरिङ सिटमा मानिस बसिरहेको हुन्छ, तर वास्तविक नियन्त्रण भने प्रविधिकै हातमा हुन्छ । ठिक त्यस्तै, यदि मानिसले आफ्नो सोच र निर्णय प्रक्रिया एआईलाई जिम्मा दियो भने बाहिरबाट नियन्त्रण आफ्नै हातमा देखिए पनि वास्तविक नियन्त्रण प्रविधिले गर्छ । भविष्यमा अटो ड्राइभिङ कार आयो भने मानिस आफैँले ड्राइभ गर्ने अभ्यास घट्नेछ । मानिस अटो ड्राइभिङमा निर्भर बन्न सक्छ । 

आलोचनात्मक चेतमा ह्रास
एआई सिस्टमले यति छोटो समयमा दरिलो उपस्थिति गर्न सक्छ भन्ने कसैले विश्वासै गरेको थिएन । यो आफैँमा सकारात्मक कुरा पनि हो । तर, यसका नकरात्मक पक्ष पनि धेरै छन् । अहिले गीतसंगीत सिर्जना गर्नेदेखि भिडियोसमेत एआईले निर्माण गर्न थाल्यो । 

बौद्धिक सिर्जनाको क्षेत्रमा पनि एआईका कारण केही चुनौती देखिन थालेका छन् । कुनै अनुसन्धान, प्रतिवेदन वा थेसिस तयार गर्दा धेरै काम एआईको सहयोगले गर्न सकिन्छ । त्यसले सामग्री खोज्ने, जानकारी संकलन गर्ने र विश्लेषणसमेत छोटो समयमा उपलब्ध गराइदिन्छ । यसरी तयार भएको सामग्री प्रयोग गर्दा धेरैलाई सबै काम आफैँले गरेकोजस्तो लाग्न सक्छ । तर, अत्यधिक सहजताले मानिसलाई अल्छी बनाउने जोखिम पनि हुन्छ । 

पहिले अनुसन्धानका लागि पुस्तकालयमा गएर धेरै समय लगाएर सामग्री खोज्नुपथ्र्याे । अहिले त्यस्ता धेरै जानकारी एआईमार्फत केही मिनेटमै प्राप्त गर्न सकिन्छ । तर, यसको अर्थ मानिसले आफ्नै अध्ययन र अनुसन्धान छाड्नुपर्छ भन्ने होइन । बरु एआईलाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्दै आफ्नै क्षमता, जिज्ञासा र अनुसन्धान गर्ने बानीलाई अझ विकसित गर्न आवश्यक हुन्छ ।

एआई प्रयोग गर्दा मानिस सचेत हुनुपर्छ । विशेषगरी विश्वसनीयता र अनुसन्धानको गुणस्तरका हिसाबले हामी अझ सुदृढ बन्न आवश्यक छ । सावधानीपूर्वक प्रयोग नगर्ने हो भने एआईले हाम्रो आलोचनात्मक सोच र बौद्धिक क्षमतामा ह्रास ल्याउने सम्भावना धेरै छ । त्यसैले, कुनै विषयलाई धेरै कोणबाट हेर्ने, आफ्नै अध्ययन र विश्लेषणलाई प्राथमिकता दिने अभ्यास अझ महत्वपूर्ण बन्दै गएको छ । हाम्रो समाजमा खुला रूपमा विचार राख्ने र प्रश्न गर्ने संस्कृतिसमेत हराउँछ । यसले सामाजिक सञ्जालमा आउने जानकारीलाई पहिलो दृष्टिमै सत्य ठान्ने प्रवृत्तिले मानिस दिग्भ्रमित हुन सक्ने जोखिम पनि बढाउँछ ।

चिन्तन प्रक्रियामा प्रभाव 
एआईले आफ्नो व्यक्तित्व विकास गरिरहेको छ । हामी अहिले एआईको संसारमा तैरिरहेका छौँ कि त्यसको बहावमा बगिरहेका छौँ भन्ने कुरा महत्वपूर्ण छ । यदि हामी एआईको बहावमै बगिरह्यौँ भने समस्या उत्पन्न हुन सक्छ । जस्तो– पछिल्लो समय विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीले एआईको प्रयोग गर्न थालेका छन् । एआईको प्रभाव अहिले एक प्रकारको सुनामीजस्तै देखिएको छ, जसले कक्षा ६–७ का बालबालिकादेखि मास्टर्स र पिएचडी अध्ययन गर्ने विद्यार्थीसम्मलाई प्रत्यक्ष रूपमा असर पारिरहेको छ । 

अहिले धेरै विद्यार्थीले अध्ययनका लागि एआईबाट सिर्जना भएका सन्दर्भ सामग्री प्रयोग गरिरहेका छन् । तर, ती सामग्रीलाई मूल्यांकन गर्ने वा सही दिशानिर्देश दिने शिक्षक, अभिभावक र समाजका अगुवा भने एआईबारे पर्याप्त जानकार छैनन् । जसले एआईको वास्तविक शक्ति र सीमालाई ठिकसँग सम्बोधन गर्न सकिरहेका छैनन् । 

बालबालिकामा स्वाभाविक रूपमा जिज्ञासुपन र कुतूहलता हुन्छ । उनीहरू कुनै पनि विषयपछाडिको सत्य जान्न उत्सुक हुन्छन् । यस्तो अवस्थामा उनीहरूका लागि सजिलै उपलब्ध भरपर्दाे साथीको रूपमा एआई बनाएको पाइन्छ । पढाइसम्बन्धी विषय होस् वा व्यक्तिगत जिज्ञासा, विद्यार्थीहरू धेरै कुरामा एआईतर्फ नै मोडिन थालेका छन् । 

यसले परिवार र समाजसँगको संवादभन्दा एआईमाथि निर्भरता बढाउने सम्भावना छ । पहिले कुनै कुरा बुझ्न, सोध्न मन लाग्दा आमा, बुबा, दाजु–दिदी वा शिक्षकसँग सोध्ने चलन थियो । घर वा अभिभावक सिकाइको पहिलो विद्यालय हुन्थ्यो । तर, अहिले धेरै बालबालिकामा प्रश्नको उत्तर एआईसँग खोज्ने अवस्था बन्दै गएको छ । जसले उसको ‘नेचुरल च्वाइस अफ कन्फिडेन्ट’ ह्रास हुँदै जाने जोखिम हुन्छ ।

समाज परिवर्तनशील छ, प्रविधिले त्यसलाई निरन्तर रूपान्तरण गरिरहेको छ । एआईका सकारात्मक पक्ष पनि छन् । यसका तमाम चुनौती पनि छन् । आजको डिजिटल परिवेशमा युवा र विद्यार्थीले निर्णय लिनुपर्ने वेला कसलाई भरोसा गर्ने भन्ने प्रश्न पनि महत्वपूर्ण बनेको छ । त्यसैले शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नु आवश्यक देखिन्छ । युवालाई सही मार्गदर्शन दिन परिवार, शिक्षक, समाज र प्रेरणादायी व्यक्तित्वको भूमिका अझै पनि महत्वपूर्ण हुन्छ । एआईले जानकारी दिन सक्छ, तर सामाजिक रूपमा मार्गदर्शन गर्ने वा जीवनका मूल्य सिकाउने भूमिका मानिसकै रहन्छ । 

यसरी ‘नेचुरल च्वाइस अफ कन्फिडेन्ट’ अर्थात् आफ्ना नजिकका मानिससँग सल्लाह गर्ने र सोध्ने संस्कार कमजोर हुन सक्छ । त्यसको प्रभाव दीर्घकालमा विद्यार्थीको सामाजिक चेतना र नागरिकका रूपमा उसको सोच–विचारको संरचनामा पनि परिवर्तन ल्याउने सम्भावना रहन्छ । एआईको प्रयोगलाई विवेकपूर्ण र सन्तुलित ढंगले प्रयोग गर्नुपर्ने आवश्यकता अझ बढेको छ । 

हराउँदै सामाजिक संस्कार 
युवापुस्ताको आलोचनात्मक चेतना र सिर्जनात्मक सोच विकास हुनका लागि उनीहरूलाई ज्ञानस्रोत र मार्गदर्शक आवश्यक हुन्छ । आफूलाई सही जानकारी दिने ‘सोर्स अफ नलेज’ र ‘सोर्स अफ अथोरिटी’ खोज्छ । जहाँबाट उनीहरूले कुनै विषयबारे धारणा बनाउन र निर्णय गर्न आधार पाउँछन् । अझ साना बालबालिकाका लागि त्यस्ता आधिकारिक स्रोत प्राय: आफ्नै परिवारभित्र हुन्छ । आमा–बुबा, दाजु–दिदी वा आफूभन्दा ठुला व्यक्ति नै उनीहरूका लागि ज्ञानका पहिला स्रोत र मार्गदर्शक हुन्छन् । उनीहरूले समाजका संस्कार, नैतिक व्यवहार र जीवनका धेरै पाठ यही परिवेशबाट सिक्ने गर्छन् । 

घरभित्र आमा–बुबा र दाजु–दिदीले गर्ने व्यवहार, बोल्ने शैली र काम गर्ने तरिका उनीहरूले अवलोकन गर्छन् । बिस्तारै त्यसैलाई अनुसरण गर्न थाल्छन् । यही प्रक्रियाबाट सामाजिक संस्कार र मूल्यहरू हस्तान्तरण हुन्छन् । तर, अहिले स्रोतको रूपमा एआईलाई प्रयोग गरेको देखिन्छ । 

मोबाइल र डिजिटल उपकरणको प्रयोग बढ्दै जाँदा बालबालिका र युवापुस्ता एक्लिँदै गएकोजस्तो देखिन्छ । पहिले बालबालिका बाहिर खेल्थे, साथीभाइसँग समय बिताउँथे । घरपरिवारसँगै विभिन्न काममा सहभागी हुन्थे । त्यो सामाजिक संस्कार पनि हो । अहिले धेरै समय मोबाइलमा बिताउने बानी परेको छ । यसले सामाजिक अन्तक्र्रिया कम गराएको छ । कुनै पनि व्यक्तिको बौद्धिकता र मनोविज्ञानको विकास उसले हुर्किने वातावरणमा धेरै निर्भर हुन्छ । परिवार कस्तो छ, साथीभाइ कस्ता छन्, उसले कसरी संवाद गर्छ, यी सबै कुराले उसको सोच र विचार निर्माणमा भूमिका खेल्छ । तर, अहिले एआईमा निर्भर हुन थालेको देखिन्छ । 

एआईसँग मानिसभन्दा धेरै जानकारी हुन सक्छ । त्यसले कुनै विषयबारे विचार निर्माण गर्न सहयोग गर्छ । तर, एआईले दिएको विचार सधैँ परिपक्व र अन्तिम सत्य हुन्छ भन्ने हुँदैन । धेरै अवस्थामा त्यो काँचो माटोजस्तै हुन्छ, आकार दिन बाँकी हुन्छ । त्यसैले एआईले दिएको जानकारीलाई कसरी बुझ्ने र मूल्यांकन गर्ने भन्ने क्षमता बढाउनुपर्छ । 

अर्काे चुनौती एआईका एल्गोरिदमहरूले प्रयोगकर्ताको रुचिअनुसार सामग्री देखाउने गर्छ । मानिसलाई जे मन पर्छ, एआईले त्यस्तै सामग्री देखाउँदै लैजान्छ । प्रयोगकर्ताले आफू सही छु वा गलत छु भन्ने फरक छुट्याउन सक्नुपर्छ । एआईले कहिलेकाहीँ गलत वा अपूर्ण जानकारीलाई समेत सहीजस्तो बनाएर देखाउने जोखिम हुन्छ । 

अघिल्लो पुस्तामा धेरै मानिसले औपचारिक शिक्षा नपाए पनि जीवन अनुभवबाट ज्ञान लिएका थिए । नयाँ पुस्ताले भने पढाइ, मिडिया र प्रविधिबाट धेरै जानकारी पाएको छ । तर, जानकारी धेरै भए पनि कहिलेकाहीँ निर्णय क्षमता कमजोर हुने जोखिम देखिन्छ । यदि एआईमाथि निर्भरता अत्यधिक बढ्यो भने बालबालिकाले जीवनमा आवश्यक पर्ने आधारभूत सामाजिक अनुभव (मतभेदसँग जुध्ने, कसैसँग सहमत वा असहमत हुने, कहिले नम्र हुने र कहिले दृढ रहने) सिक्नबाट वञ्चित हुन सक्छन् । त्यसैले, नयाँ पुस्ताले आफ्नो आलोचनात्मक चेतना, विवेक र सामाजिक मूल्यलाई सन्तुलित रूपमा विकास गर्नु आजको सबैभन्दा ठुलो आवश्यकता बनेको छ ।

डिजिटल साक्षरता कमजोर 
नेपाली समाजमा डिजिटल साक्षरता अझै कमजोर अवस्थामै छ । नेपाली समाज सामाजिक र सांस्कृतिक हिसाबले धेरै अघि भए पनि डिजिटल प्रविधिको प्रयोग र त्यसको गहिरो बुझाइ छैन । प्राय: डिजिटल माध्यममा आउने जानकारीलाई सजिलै स्वीकार गर्छाैँ । अहिले धेरैजसो मानिस डिजिटल प्रविधि प्रयोग गर्न मात्र साक्षर भएका छन् । अर्थात्, सामाजिक सञ्जाल वा विभिन्न एप चलाउन जान्दछन् । 

एआईमा जसको पहँुच छ, उसले राम्रो लाभ लिन सक्छ । राम्रोसँग प्रयोग गर्न सक्यो भने परिणाम पनि पाउँछ । जसको पहुँच छ, तर आफ्नो प्रभाव छैन, उसलाई एआईले अप्ठ्यारोमा पनि पार्न सक्छ । त्यसैले, एआई प्रयोग गर्दा अझ सचेत र जिम्मेवार बन्न आवश्यक छ । 

अहिले हरेक स्मार्ट फोनमा एआई एप समावेश हुन्छ । अबको दश वर्षमा आइटी र अन्य जागिर घटेर जाने निश्चित छ । एआईले अर्काे काम सिर्जना गर्न सक्छ । मानिस पनि एआईमा ट्रेन्ड हुन जरुरी छ । त्यसैले, एआईलाई सही रूपमा प्रयोग गर्न सिक्नुका साथै हाम्रो सामाजिक संरचना, पारिवारिक शिक्षा र सामुदायिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजानु जरुरी छ । 

See More On

सुझावित समाचार