कुनै वेला झन्डै दुईतिहाइनजिक पुगेका कम्युनिस्टहरू अहिले १५ प्रतिशत हाराहारीमा खुम्चिनुपर्ने अवस्था किन आएको होला ?
विशेषगरी भुइँतहका आममान्छेका मुद्दा उठाउने, परिवर्तनका प्रयास गरिरहने, न्यायपूर्ण समतामूलक सपना देखाउनेजस्ता कार्यले कम्युनिस्ट शक्तिप्रति विश्वास बढाएको थियो र सोही विश्वास मतमा परिणत हुँदा विगतमा कम्युनिस्ट शक्तिहरू झन्डै दुईतिहाइनजिक पुग्न सफल भएका थिए । तर, अहिले सो सपना खण्डित भएको छ । कम्युनिस्ट पार्टीभित्र आन्तरिक लोकतन्त्र मासिएको छ । पार्टीका प्रमुख नेता निरंकुश हुँदै गएका छन् । पटक–पटक सरकारमा जाँदा या उनीहरूले नै सरकारको नेतृत्व गर्दा पनि परिणाम दिन सकेनन् । त्यसैको एकमुस्ट अभिव्यक्ति या परिणाम अहिलेको निर्वाचनमा जनताको मतमार्फत विस्फोट भएको हो ।
कम्युनिस्टहरू फेरि पहिलेकै जस्तो शक्तिमा फर्किने सम्भावना कति देख्नुहुन्छ ?
तत्कालका लागि त्यस्तो सम्भावना छैन । अहिलेको निराशाजनक परिणामबाट पाठ सिकेर एकता या इमानदार गठबन्धन भयो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र फुट भयो भने त्यस्तो अवस्था आउन पनि सक्ला । यसका लागि पनि उनीहरूले भुइँतहका मुद्दा उठाएर जनतासित जोडिन सक्नुपर्छ । आमजनताको जनजीविकासित जोडिएका मुद्दालाई आफ्ना मुद्दा बनाउन सक्नुपर्छ । तर, अहिलेको जनमत हेर्दा चाहिँ तत्कालका लागि यसको कुनै सम्भावना देखिन्न ।
नेपालका कम्युनिस्टको अवस्था पनि भाकपाको जस्तै हुने त होइन ?
भाकपा, माकपा या नक्सलवादी आन्दोलनको दुरवस्थाबाट नेपालका कम्युनिस्टले पाठ सिक्न सकेको देखिन्न । सत्तामा बस्दा जनतासित जोडिएका मुद्दालाई उनीहरूले पूरै बिर्सिए । यसबाट नेपालको समग्र कम्युनिस्ट आन्दोलन नै ‘सेट ब्याक’ भयो । अहिले कम्युनिस्टहरूको पक्षमा जुन परिणाम आएको छ, त्यो सिक्न चाहनेका लागि एउटा ठुलो पाठ बन्न सक्छ ।