नागरिकका गुनासा सुन्ने अभियानको अभिप्राय के हो ?
हामीले ७ कात्तिकमा नागरिकको घरदैलोमै पुगेर उनीहरूका गुनासा सुन्ने अभियान उद्घाटन गरेका छौँ । अभियानका केही प्रस्ट उद्देश्य छन् । पार्टीको आन्तरिक जीवन सुदृढ गर्नु अभियानको मुख्य उद्देश्य हो । यस क्रममा पार्टी समायोजनका काम पूरा गरिनेछ । सदस्यता नवीकरण पनि गरिनेछ । साथै, पार्टीको आन्तरिक प्रशिक्षण पनि सँगसँगै अघि बढाइनेछ । जनतासित विभिन्न कालखण्डमा टुटेको सम्बन्धलाई थप प्रगाढ बनाउने काम यस अभियानमा गरिनेछ । यसका लागि पार्टीका केन्द्रदेखि विभिन्न तहका नेता गाउँगाउँमा घरदैलोमै पुगेर जनताका गुनासा सुन्नुहुनेछ । यसरी सुनिएका गुनासा संकलन गरेर सम्बन्धित निकायमा पेस गरी तिनलाई पूरा गर्न दबाब दिइनेछ । साथै, सरकारका जनविरोधी क्रियाकलापविरुद्ध सचेतना अभियान पनि सञ्चालन गरिनेछ ।
यसले पार्टीलाई नागरिकसित कसरी जोड्ने अपेक्षा गर्नुभएको छ ?
अभियानका क्रममा पार्टीले विगतमा गरेका राम्रा कामको प्रचार गरी पुराना दलले केही गरेनन् भन्ने भाष्य चिर्ने काम हुनेछ । साथै, विगतमा पार्टी सत्तामा हुँदा भएका कमी–कमजोरीप्रति जनताकै अगाडि आत्मालोचना गरी भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि गरिनेछ । यसअघि केन्द्र र नेतामुखी भएको पार्टीलाई अब जनमुखी बनाउने काम गरिन्छ । यसले अवश्य पनि पार्टीलाई जनतासित जोड्नेछ ।
अभियानबाट आएका गुनासाको सम्बोधन कसरी गर्नुहुन्छ ?
हामी कतै प्रदेश सरकारमा छौँ भने कतै स्थानीय सरकारमा छौँ । आफू सत्तामा भएका स्थानमा तिनै तहबाट जनताका गुनासा सम्बोधन गर्नेछौँ । केन्द्रमै लानुपर्ने गुनासालाई सम्बन्धित तहमा पेस गर्छौं र तिनको सम्बोधनका लागि दबाब सिर्जना गर्छौं । जनताका गुनासा सम्बोधन नभएको अवस्थामा आन्दोलनमै जानुपर्ने विकल्पका लागि पनि हामी तयार छौँ ।