नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ३ प्रश्न

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

एनपिएलको तेस्रो संस्करण सुरु हुँदै गर्दा कति उत्साहित हुनुहुन्छ ?
व्यक्तिगत रूपमा भन्नुपर्दा म एकदमै उत्साहित छु । एनपिएलले हरेक वर्ष एकपछि अर्को उचाइ हासिल गर्दै छ । यसको ‘फ्यान फलोइङ’ पनि निकै उच्च छ । झन् आइसिसीले मान्यता दिएपछि यसको ‘इन्टरनेसनल एक्सपोजर’ पनि बढेको छ । विश्वविख्यात क्रिकेटरहरू पनि एनपिएलमा जोडिनुभएको छ ।

एनपिएलको यस सिजनदेखि क्यानले ‘डिआरएस’ प्रणाली पनि भिœयाएको छ । यसले ‘गेम’लाई थप ‘फेयर’ गराउँछ । ‘अम्पायरिङ’मा केही न केही ‘ह्युमन एरर’ हुनु अन्यथा होइन । तर, डिआरएसले त्यो एररलाई ‘मिनिमाइज’ गर्न सघाउँछ । खेलको विश्वसनीयता बढाउँछ । यी सबै पक्षले गर्दा पनि एनपिएलप्रतिको उत्साह दिनप्रतिदिन बढ्दो छ ।  

नेपाली क्रिकेटको विकासमा एनपिएलको प्रभाव कस्तो परिरहेको पाउनुहुन्छ ?
नेपाली क्रिकेटको विकासमा एनपिएलको ‘मल्टिपल’ प्रभाव छ । मुख्य भनेको आर्थिक पाटो नै हो । यसले नेपाली क्रिकेटलाई आर्थिक रूपमा निर्भर गराइरहेको छ । ‘डोमेस्टिक’ खेलाडीले राम्रो ‘एक्सपोजर’ पाएका छन् । उनीहरूले विश्वविख्यात विदेशी खेलाडीसित खेल्न पाउँदा आफ्नो क्षमतामा थप निखार ल्याउने मौका पाएका छन् । यसबाट नेपाली क्रिकेटको विकास त हुने नै भयो । साथसाथै, ‘क्रिकेट प्लेइङ’ राष्ट्रका रूपमा देशकै ‘इमेज बिल्डिङ’मा पनि यसले सघाइरहेको छ । 

एनपिएलमा विश्वका चर्चित क्रिकेटरको सहभागिताले के संकेत गर्छ ?
एनपिएलमा विश्वका चर्चित क्रिकेटरको सहभागिताले हाम्रो लिगको विश्वव्यापी ‘क्रेडिबिलिटी’ बढेको संकेत गरेको छ । विदेशी चर्चित खेलाडीको सहभागिताले हाम्रो लिगलाई विश्वले स्विकारेको देखिन्छ । विश्वका चर्चित खेलाडीसितको प्रतिस्पर्धाबाट हाम्रा खेलाडीको ‘टेक्निकल’ पाटो मजबुत हुन्छ । साथै, यसबाट एनपिएलमा लगानी गर्न ठुला लगानीकर्ता उत्साहित हुन सक्छन् । यसले नेपाली क्रिकेटको समग्र विकासमै अत्यन्त सकारात्मक प्रभाव पार्छ । 

सुझावित समाचार