ओलम्पिक खेल्ने पहिलो नेपाली तेक्वान्दो खेलाडी हुन्, संगीना वैद्य । एथेन्स ओलम्पिकमा उनीअघि नेपाली खेलाडीले कहिल्यै पनि छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन सकेका थिएनन् । संगीनाले विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालमा लागि पदक जितेकी छिन् । उनले आफ्नो खेलजीवनको जित–हारका अनुभव पवन बराइलीलाई सुनाएकी छिन् ।
सानैदेखि खेलकुदमा विशेष रुचि थियो । त्यो वेला गाउँका विद्यालयमा वीरेन्द्र सिल्ड प्रतियोगिता हुने गथ्र्याे, जुन विद्यार्थीका लागि ठुलो उत्सवजस्तै मानिन्थ्यो । स्कुल पढ्दा म मार्सल आर्ट खेल्थेँ । अहिलेझैँ खेल प्रतियोगिता धेरै हुँदैनथे, तर जुन हुन्थे, ती अत्यन्तै महत्वका साथ हेरिन्थे ।
विद्यालयका खेलाडीलाई छुट्टै सम्मानका साथ हेरिन्थ्यो । उनीहरूले जितेर ल्याएका पदकले विद्यालयको गौरव बढाउँथे । त्यही वातावरणले सानैदेखि मनमा खेलप्रति आकर्षण जगायो– खेल्नुपर्छ, केही गरेर देखाउनुपर्छ भन्ने भावना बिस्तारै बलियो बन्दै गयो ।
सुरुमा मैले मार्सल आर्ट केवल सोखकै रूपमा सिक्न थालेकी थिएँ । कलेज पढ्न काठमाडौं आउँदा पनि खेललाई नै भविष्य बनाउँछु भन्ने सोच थिएन । तेक्वान्दो सुरु गर्दा पनि ‘सिकौँ, खेलौँ’ भन्ने मात्रै लागेको थियो । तर, बिस्तारै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन थालेँ । विभिन्न प्रतियोगितामा खेल्दै, जित्दै अघि बढ्दै जाँदा मनभित्र एउटा विश्वास जाग्न थाल्यो, खेलबाट पनि भविष्य बनाउन सकिन्छ ।
पहिलो स्वर्ण जित्दाको क्षण
खेलाडीका लागि हरेक प्रतियोगिता उत्तिकै महत्वपूर्ण हुन्छ । प्रत्येक प्रतियोगितामा उस्तै मिहिनेत, उस्तै समर्पण हुन्छ । तर, केही यस्ता प्रतियोगिता हुन्छन्, जुन जीवनभर सम्झनामा बसिरहन्छन् । मेरो जीवनमा त्यस्तै अविस्मरणीय क्षण सन् १९९७ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजित एसियन तेक्वान्दो च्याम्पियनसिप थियो ।
त्यो प्रतियोगिता मेरा लागि निकै महत्वपूर्ण मात्र होइन, अत्यन्तै चुनौतीपूर्ण पनि थियो । एसियन च्याम्पियनसिप आफैँमा ठुलो प्रतिस्पर्धा हो । देशका लागि स्वर्ण पदक जित्नु मेरो जीवनको गौरवपूर्ण उपलब्धि बन्यो । त्यही प्रतियोगिताबाट नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचेको थियो ।
तर, त्यो जित सहज थिएन । मेरो खेल भएको दिन परिस्थितिले अझ चुनौती थपेको थियो, किनकि म त्यसवेला महिनावारीमा थिएँ । धेरै महिला खेलाडी यस्तो अवस्थामा आराम गर्छन् । तर, मेरो बानी फरक थियो । नियमित अभ्यास र एक्सरसाइज गर्ने भएकाले महिनावारी हुँदा पनि खेल्न सक्ने आत्मविश्वास थियो । पेट दुखाइ र असहजता त थियो नै, तर त्यसलाई पन्छाउँदै एरिनामा उत्रिनुपरेको थियो ।
एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा निकै कडा हुन्छ । मेरो पहिलो खेल इन्डोनेसियाकी खेलाडीसँग थियो । त्यसपछि सेमिफाइनलमा फेरि अस्ट्रेलियाकै खेलाडीसँग खेल्नुपर्यो, त्यो पनि उसकै होम ग्राउन्डमा । स्वाभाविक रूपमा त्यो खेल अझै चुनौतीपूर्ण थियो । खेलकै क्रममा मेरो दाहिने घुँडा विपक्षीको दाँतमा ठोक्कियो र खुट्टामा चोट लाग्यो । केहीबेर खेल रोकियो । उपचारपछि फेरि एरिना फर्किन पाएँ । पीडा त थियो, तर त्यसलाई सहँदै मैले अस्ट्रेलियाकी खेलाडीलाई पराजित गरेँ ।
त्यसपछि फाइनल खेल दक्षिण कोरियासँग थियो । मेरो खुट्टामा तीनवटा स्टिच लागेको थियो, तर एरिनामा उत्रिनैपथ्र्याे । तेक्वान्दोको जन्मभूमि नै दक्षिण कोरिया भएकाले विश्वका अधिकांश च्याम्पियन त्यही देशका हुन्थे । त्यसैले फाइनल खेल उनीहरूसँग खेल्नु आफैँमा ठुलो चुनौती थियो । तर, अन्तत: मैले दक्षिण कोरियाकी खेलाडीलाई पनि पराजित गरेँ ।
नेपालका लागि पहिलोपटक एसियन च्याम्पियनसिपको स्वर्ण पदक जितेँ । इतिहास रचिएको त्यो क्षणमा पनि मलाई सुरुमा विश्वास नै लागिरहेको थिएन । आज पनि अस्ट्रेलियाको त्यो स्टेडियममा नेपाली समर्थकले दिएको हौसला सम्झनामा ताजै छ । फाइनलसम्म आइपुग्दा मैले कसरी खेलेँ होला भन्ने अहिले सोच्दा आफैँ अचम्म लाग्छ ।
त्यसवेलाको एउटा रोचक र भावुक प्रसंग पनि छ । पुरस्कार वितरणका वेला विजेता देशको राष्ट्रिय गान बजाउने चलन हुन्छ । जब मलाई स्वर्ण पदक लगाइयो र नेपालको झन्डा फहराउने समय आयो, त्यसवेला आयोजकसँग नेपालको राष्ट्रिय गानको क्यासेट नै रहेनछ । त्यो राष्ट्रिय गानको क्यासेट कसले हरायो ? थाहा छैन । त्यसपछि नेपालबाट गएका अफिसियल, प्रशिक्षक र हामी खेलाडीले त्यहीँ उभिएर आफैँ राष्ट्रिय गान गाउन थाल्यौँ । स्टेडियमभित्र हाम्रो स्वर गुञ्जियो । त्यो क्षण अत्यन्त भावुक बनाउने थियो । त्यहाँ उपस्थित धेरैको मन छोएको थियो ।
देशका लागि त्यो ऐतिहासिक क्षण थियो, र मेरो जीवनको पनि सबैभन्दा अविस्मरणीय पल । अनेक चुनौती र पीडाबिच पनि देशका लागि स्वर्ण पदक जित्न सकेको त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ ।
एसियन गेम्समा खेल्न नपाउँदाको क्षण
एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि मेरो आत्मविश्वास निकै बढेको थियो । एसियन च्याम्पियन बन्नु खेलजीवनको ठुलो उपलब्धि थियो । त्यसलगत्तै बैंककमा हुने एसियन गेम्सको तयारी सुरु हुँदै थियो । त्यो सन् १९९८ तिरको कुरा हो । त्यसवेला म शारीरिक रूपमा निकै फिट थिएँ । एसियन खेलका लागि छनोट पनि भइसकेकी थिएँ ।
देशका लागि एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि धेरैको अपेक्षा पनि मप्रति बढेको थियो । क्लोज क्याम्पमा बसेर थप तयारी गर्ने योजना बनिरहेको थियो । तर, जीवनमा कहिलेकाहीँ अप्रत्याशित मोड आउने रहेछ । एक बिहान प्रशिक्षण सकेर फर्किने क्रममा दुर्घटना भयो र मेरो दाहिने खुट्टा फ्याक्चर भयो ।
त्यो दुर्घटनाले मेरो पूरा तयारी नै रोकियो । झन्डै दुई महिना अस्पतालमै बस्नुपर्यो । त्यसपछि थप ६ महिना बेड रेस्ट गर्नुपर्ने भयो । मेरा साथीहरू सबै क्लोज क्याम्पमा अभ्यास गरिरहेका थिए, तर म भने अस्पतालको बेडमै थिएँ । मेरा साथीहरू एसियन गेम्स खेल्न गइरहेका थिए, म भने अस्पतालको बेडमा बसेर दिनहुँ रुँदै दिन बिताइरहेकी थिएँ ।
दुर्घटनापछिको अर्को स्वर्ण पदक
दुर्घटनापछि मेरो खेलजीवन शून्यबाट सुरु भयो । खुट्टा फ्याक्चर भएपछि फेरि हिँड्न, दौडिन र सामान्य जीवनमा फर्किन निकै गाह्रो भयो । त्यो समय मेरा लागि दोस्रो जीवनजस्तै थियो । मनमा अनेक प्रश्न उठ्थे– अब फेरि खेल्न सकुँला कि नसकुँला ? भविष्य कस्तो होला ?
त्यसबिच नेपालमा सन् १९९९ मा हुने साफ गेम्सको चर्चा व्यापक हुँदै थियो । त्यो प्रतियोगिता नेपालमै आयोजना हुने तयारी भइरहेको थियो । र, तेक्वान्दो पनि पहिलोपटक साफमा समावेश हुँदै थियो । मेरो दुर्घटना भएको झन्डै आठ–नौ महिनापछि नै साफ आयोजना हुँदै थियो । समय परिस्थितिले चुनौती दिए पनि मनभित्र एउटा आशा बाँकी थियो ।
दुर्घटनाअघि मेरो खेलजीवन निकै उचाइतर्फ बढिरहेको थियो । तर, दुर्घटनापछि भने ‘अब खेल्न सक्दिनँ कि’ भन्ने मनमा डर बारम्बार आइरहन्थ्यो । तर, मनमा एउटै सपना थियो–नेपालको साफ खेल्ने । शरीर पूर्ण रूपमा फिट थिएन । दुखाइ अझै बाँकी थियो । घुँडामा स्टिल थियो, खुट्टा टेकिन पनि गाह्रो हुन्थ्यो । शारीरिक रूपमा सहज नभए पनि मनोबल बलियो थियो । दुखाइ सहेर नै अभ्यास गरेँ । झन्डै दुई महिना क्याम्पमा बसेर ट्रेनिङ लिएँ । मेरो दाहिने खुट्टा फ्याक्चर भए पनि देब्रे खुट्टामा चोट थिएन । मैले दुवै खुट्टा चलाएर खेल्थेँ । दाहिने खुट्टाचाहिँ मैले जोगाउनुपथ्र्याे । कतै ठोक्कियो भने बेहोस हुने गरी दुख्थ्यो । दाहिने खुट्टालाई बचाएर देब्रे खुट्टा मात्रै चलाउँथे । अन्तत: साफ लागि छनोट भएँ । आत्मबल र विश्वासले मलाई फेरि एरिनामा फर्कायो ।
अन्तत: मैले तेक्वान्दोबाट नेपालका लागि स्वर्ण पदक जित्न सफल भएँ । त्यो जित केवल एउटा पदक मात्र थिएन, दुर्घटनापछि जीवन र खेलप्रतिको विश्वास पुनस्र्थापित भएको क्षण थियो । म घुँडाको चोटसँग लड्दै एरिनामा पुगेकी थिएँ । तर, कठिनाइबिच पनि देशका लागि स्वर्ण पदक जित्न सकेको त्यो क्षण मेरो जीवनको गर्विलो उपलब्धि थियो । यद्यपि, दुर्घटनापछि स्वास्थ्यले पहिलेजस्तो साथ भने कहिल्यै दिएन । दुर्घटनाअघि जति फिट थिएँ, त्यसरी पुन: हुन सकिनँ । कहिलेकाहीँ लाग्छ–यदि त्यो दुर्घटना नभएको भए, सायद खेलजीवनमा अझ धेरै इतिहास रच्न सक्थेँ होला ।
फेरि अर्को स्वर्ण पदक
नेपालको साफमा स्वर्ण पदक जितेपछि मेरो आत्मविश्वास झन् बलियो बन्यो । त्यसपछि सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा खेल्न पुगेँ । त्यतिवेला मेरो घुँडाको चोट निको भइसकेको थिएन । तर, मैले जीवनलाई खेलमै समर्पण गरिसकेको थिएँ, त्यसैले ‘खेल्नैपर्छ’ भन्ने दृढ संकल्प मनमा थियो ।
चोट र पीडाबिच पनि मैले हार मानिनँ । त्यही संघर्षका बिच त्यो प्रतियोगितामा पनि स्वर्ण पदक जित्न सफल भएँ । त्यो पनि पीडा र खुसी दुवै मिसिएको अविस्मरणीय क्षण थियो ।
ओलम्पिकको अपूरो सपना
दुर्घटनापछि पनि मैले दुईपटक स्वर्ण पदक जितेँ । ती सफलताले मेरो आत्मविश्वासलाई अझ बलियो बनायो । त्यसपछि मनमा एउटा ठुलो सपना पलायो– ओलम्पिक खेल्ने । दुर्घटनापछि पाएको यो जीवन मेरा लागि दोस्रो जीवनजस्तै थियो, त्यसैले अब म ओलम्पिकसम्म पुग्न सक्छु भन्ने आँट जाग्यो ।
सन् २००४ को कुरा हो । त्यसवेला एथेन्स ओलम्पिकका लागि क्वालिफाइङ चरण खेल्नुपर्ने थियो । त्यसका लागि थाइल्यान्डको बैंककमा भएको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भएँ । मनमा एउटै सपना थियो, नेपालबाट छनोट भएर ओलम्पिक खेल्ने । त्यो सपना बोकेर एरिनामा उत्रिँदा प्रत्येक खेल मेरा लागि विशेष बनेका थिए ।
खेलाडीले खेलजीवन सुरु गरेपछि अन्तत: पुग्न चाहने सबैभन्दा ठुलो मञ्च भनेकै ओलम्पिक हो । शून्यबाट सुरु गरेर त्यो स्तरसम्म पुग्नु मेरा लागि अत्यन्त ठुलो उपलब्धि थियो । ओलम्पिकका लागि क्वालिफाई हुनु नेपालको खेल इतिहासमा नयाँ अध्याय थियो, त्यसअघि नेपालका खेलाडी ‘वाइल्ड कार्ड’मार्फत मात्रै ओलम्पिक पुगेका थिए ।
त्यही वेला मलाई भनियो, ‘तिमी ओलम्पिकका लागि छनोट भयौ ।’ त्यो सुन्दा केही क्षण म नि:शब्द भएँ । मनभित्र एउटा ठुलो सपना पूरा भएको अनुभूति भयो । नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो खेलाडी बन्ने खबर सुन्दा गर्व र खुसीले मन भरियो ।
दुर्घटनापछि साफ खेल्दै स्वर्ण पदक जित्दा जस्तै त्यसपछि पनि ओलम्पिकसम्म पुग्ने आँट झन् बलियो हुँदै गयो । मनमा एउटै लक्ष्य थियो– एथेन्समा पदक जित्ने । म धेरै आशा र आत्मविश्वासका साथ त्यहाँ पुगेकी थिएँ । मलाई ओलम्पिकमा धेरैले आशा गरेका थिए । खेलको दौरानमा खुट्टा ठोक्किथ्यो । चोट लागेको खुट्टा भएकाले मैले सोचेजस्तो प्रदर्शन गर्न सकिनँ । ओलम्पिकको स्तर निकै उच्च थियो । खेल सकिएपछि म केही बेर निकै चुपचाप बसिरहेँ । मनभित्र एउटै कुरा आइरह्यो ‘सायद मैले अझ राम्रो गर्न सक्थेँ ।’
ओलम्पिकमा पदक जित्ने मेरो सपना त्यहीँ अधुरै रह्यो । आज पनि त्यो क्षण सम्झँदा दु:ख लाग्छ । किनकि, खेलाडीका रूपमा त्यस्तो अवसर बारम्बार आउँदैन । तर, खेलमा जित मात्र हुँदैन, हार पनि हुन्छ र कहिलेकाहीँ हारले नै जीवनमा सबैभन्दा गहिरो पाठ सिकाउँछ । मलाई यसले धेरै कुरा सिकायो पनि । कहिलेकाहीँ लाग्छ, यदि मेरो खुट्टा पहिलेजस्तै पूर्ण रूपमा स्वस्थ भएको भए सायद ओलम्पिकमा पनि स्वर्ण पदक जित्न सक्थेँ ।
स्वर्णको ह्याट्रिक गर्ने अवसर गुम्दा
ओलम्पिकको असफलतापछि पनि निरन्तर प्रयास गरिरहेँ । एथेन्समा पदक जित्ने मेरो ठुलो लक्ष्य भने पूरा हुन सकेन । तर, एउटा सपना अधुरो हुँदैमा अर्काे सपना देख्न छोडिनँ । मनमा सधैँ एउटै विश्वास थियो– लडेपछि फेरि उठ्नैपर्छ ।
त्यसपछि मभित्र श्रीलंकाको कोलम्बोमा आयोजित साफ प्रतियोगितामा खेल्ने इच्छा जाग्यो । तर, त्यतिवेला मेरो स्वास्थ्यले साथ दिइरहेको थिएन । पत्थरीको अप्रेसन गरेको भर्खरै भएको थियो । म एक हप्ता अस्पतालमै बस्नुपरेको थियो । त्यसैमाथि दुर्घटनापछि खुट्टामा हालिएको स्टिलका कारण खुट्टा पनि पहिलेजस्तो बलियो थिएन ।
साफमा लगातार तीन स्वर्ण पदक जित्दै ‘ह्याट्रिक’ गर्ने ऐतिहासिक अवसर थियो । तर, त्यो अवसर गुमाउँदाको क्षणले आज पनि मन पोलिरहन्छ । त्यो पदक जित्न नसक्दा आफूलाई निकै खल्लो लागेको थियो । प्रयासको कमी थिएन, तर समय र स्वास्थ्यले साथ दिएन । परिस्थिति नै त्यस्तो बन्यो ।
त्यस प्रतियोगितापछि भने मेरो शरीरले खेललाई पहिलेझैँ साथ दिन सकेन । अन्तत: नयाँ पुस्तालाई स्थान छोड्ने समय आएको महसुस भयो । सन् २००८ तिर खेलजीवनबाट सन्न्यास लिएँ । कतिपयले अझै एसियन गेम्स खेल्न आग्रह गरेका थिए, तर शरीरले साथ नदिँदा त्यो सम्भव भएन । त्यसपछि भने मैले प्रशिक्षकको भूमिकामा काम गर्न थालेँ । धेरैको चाहना थियो, म अझै खेलिरहूँ । तर, खेलमा सहभागी हुनु मात्र ठुलो कुरा होइन, उत्कृष्ट प्रदर्शन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले, मैले आफ्नो अनुभव नयाँ खेलाडीलाई सुम्पिने निर्णय गरेँ ।