आजबाट गैरआवासीय नेपालीको नेतृत्व छनोट गर्ने अधिवेशन

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएन)को नयाँ नेतृत्व छनोट गर्ने उद्देश्यले आह्वान गरेको १२औँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुने भएको छ । बिहान नौ बजे उद्घाटनसत्र र त्यसपछि २ चैतसम्म नयाँ नेतृत्व छनोटको कार्यतालिका रहेको संघले जनाएको छ ।

नेतृत्व चयनका लागि विश्वभर रहेका सदस्यबाट चार हजार दुई सय ८६ प्रतिनिधि छनोट भएका छन् । उम्मेदवारलाई भौतिक र अनलाइन दुवै प्रणालीबाट भोटिङ गर्ने व्यवस्था गरिएको छ ।

संघको महाधिवेशन गर्न परराष्ट्रमन्त्री बालानन्द शर्माको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भएको थियो । सोही समितिको सक्रियतामा आयोजित महाधिवेशनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्नेलगायतका विविध सत्रमा छलफल हुने कार्यक्रमसमेत राखिएको छ । २३ वर्षअघि स्थापना भएको संघको सञ्जाल ९२ देशमा विस्तार भएको छ ।

See More On

सुझावित समाचार