अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार खाडी द्वन्द्वका कारण तेलको मूल्यमा आइरहेको वृद्धि कम गर्न रुसी तेलमाथिको अमेरिकी प्रतिबन्ध कम गर्ने संकेत गरेका छन् । ट्रम्पको यस्तो अभिव्यक्ति आएकै समयमा जारी एक तथ्यांकले इरान युद्धपछि बढेको तेलको मूल्यले रुसलाई फाइदा भएको देखाएको छ ।
इरान र अमेरिका–इजरायल युद्ध सुरु भएपछिको पन्ध्र दिनमा रुसले इन्धन बेचेर ६ अर्ब युरो प्राप्त गरेको ‘सेन्टर अफ रिसर्च अन इनर्ज एन्ड क्लिन एअर’ नामक थिंक ट्यांकको तथ्यांकले देखाएको छ । मार्चमा रुसले तेल, ग्यास र कोइलाको बिक्रीबाट अतिरिक्त ६७.२ करोड युरो कमाएको देखाउँछ, जुन फेब्रुअरीपछि संयुक्त औसत दैनिक मूल्यमा आएको १४ प्रतिशतको वृद्धि हो ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले बिहीबार नै इरान युद्ध सुरु हुनुअघि रुसले कच्चा तेल बिक्रीबाट प्राप्त गर्ने राजस्व घटेर २०२२ मा युक्रेन द्वन्द्व सुरु भएयताकै सबैभन्दा कम भएको बताएको थियो । उता आइइएले इरान युद्धले खाडी क्षेत्रमा तेल र ग्यास उत्पादनमा प्रतिदिन कम्तीमा एक करोड ब्यारेल तेल घटेको बताउँदै यसले ‘तेल बजारको इतिहासमा सबैभन्दा ठुलो आपूर्ति अवरोध’ आउन सक्ने चेतावनी दिएको छ ।