अमेरिकाद्वारा भारतमाथि रुसी तेल खरिदमा लगाएको प्रतिबन्ध खुकुलो

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

मध्यपूर्वमा बढ्दो तनावबिच अमेरिकाले केही समयका लागि रुसी तेल भित्र्याउन भारतमाथि गरेको कडाइ खुकुलो पारेको छ । विशेषतः समुद्रमा फसेको रुसी तेल किन्न अनुमति दिन अमेरिकी सरकारले अस्थायी रूपमा प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले विश्वव्यापी बजारमा तेलको प्रवाह सुनिश्चित गर्न ३० दिनको छुट दिइएको पुष्टि गरे ।

अहिलेको छुट रुसबाट किनेर भारतमा आइनपुग्दै प्रतिबन्ध खेपेका कारण समुद्रमा फसेका तेलसँग सम्बन्धित लेनदेनलाई मात्र लागू हुने भएकाले यसले रुसलाई महत्वपूर्ण वित्तीय लाभ प्रदान नगर्ने बेसेन्टले दाबी गरे । रुसी कच्चा तेल भरिएका कैयौँ जहाज अहिले समुद्रमै फसेका छन् । आपूर्तिमा अनिश्चितकालीन रोकले भारतमा आसन्न ऊर्जा संकटको डर पैदा गरेको छ ।

भारत सरकारले आफूहरूसँग करिब २५ दिनलाई पुग्ने कच्चा तेल र ग्यासको भण्डार रहेको बताएको छ । भारतले अरब देशबाट किनिएका लाखौँ ब्यारेल तेल र ग्यास अहिले इरान युद्धपछि ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध आएकाले त्यही अड्किएका छन् । साँघुरो चोकपोइन्ट ‘स्ट्रेट अफ होर्मुज’बाट भारतले आयात गर्ने कच्चा तेल र ग्यास आयातको लगभग आधा नै आउने गर्छ । भारतले आफूलाई आवश्यक पर्नेमध्ये झन्डै ९० प्रतिशत कच्चा तेल अरू देशबाट आयात गर्ने गर्छ । विज्ञहरूका अनुसार होर्मुज बन्द हुँदा आउन सक्ने आपूर्ति संकटले भारतमा मुद्रास्फीति निम्त्याउन सक्छ । त्यसले भारतको वित्तीय घाटा नै बढाउने खतरा छ । 

यो छुट लागू भएपछि, समुद्रमै रोकिएका झन्डै १४.५ करोड ब्यारेल रुसी कच्चा तेल भारतीय बन्दरगाहमा उतार्न पाइनेछ । अमेरिकाले कडाइ गर्नुअघि भारते आफूले आयात गर्ने कुल तेलको अनुमानित २० प्रतिशत रुसबाट किनिरहेको थियो । अमेरिकाले अल्पकालीन पछिल्लो छुटले पनि भारतको रुसी तेल आयातप्रति अमेरिकाको कठोर नीतिमा उल्लेखनीय परिवर्तन आएको संकेत गर्छ । केही समयअघिसम्म ट्रम्पले भारतका सामानमाथि लगाएको ५० प्रतिशत भन्सार शुल्क लगाएमा आधा अर्थात् २५ प्रतिशत रुसबाट तेल आयात गरेकै कारण लागेको थियो । ट्रम्पले त्यतिवेला भारतले रुसी तेल खरिद गर्दा युक्रेनमा जारी युद्धलाई निरन्तता दिने गरी मस्कोलाई आर्थिक सहयोग पुगिरहेको आरोप लगाएका थिए । 

सुझावित समाचार