प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा पर्सामा प्रतिस्पर्धामा रहेका १०७ उम्मेदवारमध्ये ९५ जनाको जमानत जफत भएको छ । कुल सदर मतमध्ये १० प्रतिशत पनि ल्याउन नसकेपछि उम्मेदवारको जमानत जफत भएको हो ।
यसमा तत्कालीन ठुला र मधेशी दललगायतका उम्मेदवारको समेत जमानत जफत भएको छ । जिल्लामा रास्वपा, नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकाबाहेकका सबै पार्टीको उम्मेदवारको जमानत जफत भएको छ ।
जमानत जफत हुनेमा नेकपा, राप्रपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका पार्टीका उम्मेदवारसमेत छन् ।
अधिकांश मत रास्वपाका उम्मेदवारतर्फ गएपछि अन्य दलको आकार खुम्चिएको हो । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार पर्साको निर्वाचन क्षेत्र नम्बरमा उम्मेदवार बनेको अधिकांश जनाको जमानत जफत भएको छ ।
फागुन २१ मा भएको निर्वाचनको मतपरिमाणअनुसार पर्सा १ मा २३ जना उम्मेदवारमध्ये २० जनाको जमानत जफत भएको हो । क्षेत्र नम्बर १ मा रास्वपा, नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकाबाहेकका सबै पार्टीको उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
निर्वाचन क्षेत्र १ मा रहेको ८९ हजार ६३८ मतदाता रहेकोमा ६१ हजार ३०६ मत खसेको थियो । क्षेत्र नम्बर २ उम्मेदवार बनेका ३१ जनामध्ये २८ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । रास्वपा, नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकाबाहेकको सबैको जमानत जफत भएको हो । पर्सा क्षेत्र नम्बर २ मा ९५ हजार १२० मतदाता रहेकोमा ६५ हजार ८७८ मत खसेको थियो ।
यस्तै, क्षेत्र नम्बर ३ उम्मेदवार बनेका २३ जनामध्ये २० जनाको जमानत जफत भएको छ । रास्वपा, नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकाबाहेकको सबैको जमानत जफत भएको हो । यी क्षेत्रमा रहेको कुल ९६ हजार ५४२ मतदातामध्ये ६७ हजार ११३ मत खसेको थियो ।
क्षेत्र नम्बर ४ उम्मेदवार बनेका २३ जनामध्ये २० जनाको जमानत जफत भएको निर्वाचन अधिकृत नूतन झाले जानकारी दिइन् । उनका अनुसार यस क्षेत्रमा रास्वपा, नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकाबाहेकको सबैको जमानत जफत भएको हो ।
पर्सा ४ मा रहेको कुल ९५ हजार २१३ मतदातामध्ये ६४ हजार ९६७ मत खसेको थियो ।