निर्वाचन सफल पार्न मतदाता र राजनीतिक दलहरूको कस्तो भूमिका हुन्छ ?
निर्वाचन सफल पार्ने कार्यका ‘स्टेक होल्डर’ मतदाता, उम्मेदवार, राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी, अदालत, मिडिया, पर्यवेक्षक, निर्वाचन आयोग आदि सबै हुन् । यी सबैले निर्वाचन आचारसंहिताले गर्नू भनेका काम गर्ने र नगर्नू भनेका काम नगर्ने हो भने निर्वाचन सफल नहुने कुरै छैन । निर्वाचन प्रक्रियामा सहभागी भई विवेकपूर्वक मत दिनु मतदाताको सार्वभौम अधिकार हो । मतदाताले मौका पाउँदा गम्भीरतापूर्वक अधिकार प्रयोग नगर्ने, तर पछि पछुताउने अवस्था आउन दिनुहुँदैन । निर्वाचनबाट भावी दिनमा राज्य सञ्चालन गर्ने सही दल र पात्र छान्ने दायित्व मतदाताको हो । राजनीतिक दल र उम्मेदवारहरू निर्वाचनका खेलाडी हुन् । उनीहरूले नियमभित्र बसेर खेल खेल्नुपर्छ । उनीहरूले खेलमा झेल गरेमा घाटा हुने स्वयं उनीहरूलाई नै हो ।
यस कार्यमा सुरक्षाकर्मी र कर्मचारीको भूमिकाचाहिँ कस्तो हुनुपर्छ नि ?
सुरक्षाकर्मी र कर्मचारीले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ । कुनै पनि गैरकानुनी काममा आफू संलग्न हुनु पनि भएन र त्यस्तो कार्यमा अरूलाई सघाउन पनि हुँदैन । मतदान केन्द्रको सुरक्षादेखि मतपत्र र मतपेटिकाको सुरक्षासम्ममा सुरक्षाकर्मी र कर्मचारी कतै पनि ढल्किनुहुँदैन । उनीहरू सबै आ–आफ्नो सीमाभित्र बस्नुपर्छ ।
निर्वाचन आयोगले चाहिँ कुन–कुन पक्षमा ध्यान पुर्याउनुपर्ला ?
मतदानको समयमा कुनै पनि अवाञ्छित गतिविधि भएको अवस्थामा आयोगले मतदान कार्य प्रभावित हुन नदिन तत्काल उचित सम्बोधन गर्नुपर्छ । कुनै दल या तिनका उम्मेदवारले आफ्ना पक्षमा मत धेरै नखसेको आकलन गरी विभिन्न बहानामा पुन: मतदानको माग गर्न पनि सक्छन् । त्यस्तोमा आयोगले छानबिन गरी निष्पक्ष निर्णय दिन सक्नुपर्छ । मतदानस्थलमा कुनै कुराको कमी भएमा तत्काल नजिकको अर्को केन्द्र या अन्य कुनै माध्यमबाट आपूर्ति गर्ने प्रभावकारी व्यवस्था मिलाउनुपर्छ ।