निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने स्पष्ट पारेको छ । भण्डारीले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने र गणना सुरु गरिने बताए ।
निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतगणनालाई तीव्र र व्यवस्थित ढंगले अघि बढाइने स्पष्ट पारे।
उनका अनुसार दुर्गम तथा पहुँचमा कठिनाइ हुने स्थानबाट मतपेटिका संकलन गर्न आवश्यक परे हेलिकोप्टरको समेत प्रयोग गरिनेछ। 'छिटो हुन नसक्ने ठाउँमा हेलिकोप्टरमार्फत पनि मतपेटिका ल्याउने व्यवस्था मिलाएका छौँ,' उनले भने, 'मतपेटिका प्राप्त भई गणना सुरु गरेपछि २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ।'
उनले प्रत्यक्षतर्फको मतपरिणामसँगै समानुपातिकतर्फको परिणाम पनि सकेसम्म चाँडो सार्वजनिक गरिने जानकारी दिए। आयोगले मतगणना प्रक्रियालाई पारदर्शी, विश्वसनीय र समयबद्ध बनाउन सबै आवश्यक तयारी पूरा गरिसकेको उनको दाबी छ।
निर्वाचन आयोगले यसअघि गरेको प्रतिबद्धताअनुसार नै परिणाम सार्वजनिक गर्ने बताउँदै भण्डारीले मतदातामा धैर्य र विश्वास कायम राख्न आग्रह गरे।