प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र उत्साहपूर्ण बनाउन जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख डिएसपी वेदप्रसाद गौतमले मतदान केन्द्रसम्म कर्मचारी र सुरक्षाकर्मीहरू सुरक्षित रूपमा पुगिसकेकाे जानकारी दिए ।
मतदानका दिन कुनै अवरोध नआओस् भनेर विशेष तयारी गरिएको उनकाे भनाइ छ ।
जिल्लाको दुर्गम तथा हिमाली क्षेत्रसम्म पनि सुरक्षाकर्मी खटाइएको उनले बताए । विशेषगरी समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलाको यांमा क्षेत्रका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सुरक्षित तरिकाले पुगेको जानकारी दिए । भारतसँग सीमा जोडिएका सीमानानाहरू बन्द गरिएको पनि उनले बताए ।
सीमावर्ती नाकाहरूमा अनावश्यक आवतजावत नियन्त्रण गरिएको र सुरक्षाकर्मीहरू सतर्क अवस्थामा राखिएको गौतमले जानकारी दिए । ओलाङचुङगोलामा रहेको सीमासुरक्षा सशस्त्र प्रहरीको विशेष क्याम्प सक्रिय रहेको छ । मौन अवधिमा आचारसंहिता कडाइका साथ लागू गरिएको प्रहरीले जनाएको छ । राजनीतिक दलहरूसँग समन्वय गरी शान्तिपूर्ण वातावरण कायम राखिएको र अहिलेसम्म ठुलो समस्या नदेखिएको डिएसपी गौतमको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल र सुरक्षा निकायबिच निरन्तर समन्वय भइरहेको छ । मतदाताहरूलाई ढुक्क भएर मतदान गर्न प्रहरी प्रमुखले अपिल गरेका छन् । ताप्लेजुङ जिल्लाभर ८० मतदानस्थल र १२७ मतदान केन्द्र कायम छन् । जिल्लाकाे भौगोलिक दुर्गमता र पहुँचका आधारमा २८ मतदानस्थल ‘अतिसंवेदनशील’, २५ ‘संवेदनशील’ र २७ ‘सामान्य’ सूचीमा वर्गीकृत गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाताको संख्या जिल्लामा ९० हजार ३२७ रहेको छ । जसमा पुरुष ४८ हजार २८५ र महिला ४२ हजार ४२ छन् ।
निर्वाचनका लागि १९ एम्बुलेन्स तयारी अवस्थामा
बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ताप्लेजुङमा १९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । आकस्मिक अवस्था व्यवस्थापन र बिरामीको सहज उद्धारका लागि जिल्लाभर एम्बुलेन्स परिचालनको व्यवस्था मिलाइएको हो ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार हरेक स्थानीय तहमा एम्बुलेन्स उपलब्ध हुने गरी व्यवस्थापन गरिएको छ । सदरमुकाम फुङलिङमा आठवटा एम्बुलेन्स राखिनेछ भने मेरिङदेन, पाथीभरा याङवरक, आठराई त्रिवेणी र सिरिजंघा गाउँपालिकामा एक–एकवटा एम्बुलेन्स रहनेछन् ।
त्यसैगरी, मौवाखोला, मिक्वाखोला, फक्ताङलुङ र सिदिङ्वा गाउँपालिकामा दुई–दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । सम्बन्धित पालिकामा रहेका एम्बुलेन्सलाई आवश्यकताअनुसार परिचालन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । फुङलिङ नगरपालिकामा राखिएका एम्बुलेन्सले नगरपालिकाका ११ वडासहित आवश्यक परे अन्य पालिकामा समेत सेवा दिनेछन् । ताप्लेजुङमा नाै स्थानीय तह र ६१ वडा रहेका छन् । निर्वाचनका दिन कुनै आकस्मिक स्वास्थ्य समस्या आए तत्काल उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।