नेपालका तर्फबाट कुवेतका लागि पूर्वराजदूत मधुवन पौडेललाई ३ प्रश्न

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

मध्यपूर्वमा देखिएको संकटले नेपालमा कस्तो प्रभाव पार्ला ?
अहिले मध्यपूर्वका देशहरूमा झन्डै १९ लाख नेपाली कार्यरत छन् । सन् १९९० तिर कुवेतमा केही हजार नेपाली कार्यरत थिए । त्यतिखेर इराकले कुवेतमाथि कब्जा जमाउँदा पनि हामीलाई ठुलै प्रभाव परेको थियो । अहिले त त्यहाँका अधिकांश देशमा रोजगारीमा पुगेका नेपालीको संख्या निकै ठुलो छ । भिजिट भिसामा गएका नेपालीको संख्या कति छ, त्यसको यकिन तथ्यांक छैन । त्यसरी भिजिट भिसामा पठाउनै हुँदैनथ्यो । भिजिट भिसामा उता गइसकेपछि रोजगारीमा लागेका नेपाली उता ‘रेकर्डेड’ भए पनि यता ‘रेकर्ड’ हुँदैन । 

यसले नेपालको वैदेशिक रोजगारीमा कस्तो असर पुर्याउला ?
मध्यपूर्वका देशमा कार्यरतमध्ये तल्लो तहका श्रमिकदेखि माथिल्लो तहमा रहेर काम गर्ने नेपाली पनि छन् । त्यसैले, अहिले नै यसबाट यस्तै असर पर्छ भनेर स्पष्ट रूपमा केही भन्न सकिने अवस्था छैन । अहिलेको संकट कति लामो जान्छ, त्यसका आधारमा मात्र यसबारे अनुमान लगाउन सकिन्छ । यो संकट लामो समय रहेन र छिट्टै टुंगियो भने उनीहरूलाई फेरि पनि कामदार आवश्यक पर्छन् नै । त्यस्तोमा उनीहरूले अहिले कार्यरत श्रमिकलाई फिर्ता पठाउँदैनन् । बरु अहिले भएको क्षतिको पुनर्निर्माणका लागि थप कामदारसमेत माग हुन सक्छ । तर, यो समस्या लम्बिँदै गयो भने त्यसले गम्भीर असर पार्न पनि सक्छ । त्यसैले, अहिले नै डराउनैपर्ने अवस्था नभए पनि सतर्क भने हुनुपर्छ । 

त्यहाँ कार्यरत नेपालीको सुरक्षाका लागि नेपाल सरकारले के गर्नुपर्ला ?
नेपाल सरकारले ‘होस्ट गभर्मेन्ट’सँग संवाद गरेर आफ्ना नागरिकको सुरक्षाका लागि पहल गर्नुपर्छ । सरकार परिआएको अवस्थामा उनीहरूको उद्धार गर्न तयार रहनुपर्छ । तर, त्यस्तो अवस्थामा त्यहाँ कार्यरत ठुलो संख्याका नेपालीको उद्धार गर्न हाम्रो आफ्नो सामथ्र्यले मात्र भ्याउँदैन । त्यसका लागि अन्य मित्रराष्ट्रहरूसित समन्वय गरेर उनीहरूको सहायता लिन सक्नुपर्छ । 

सुझावित समाचार