उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनालाई ३ प्रश्न

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

अहिले बजारमा खाना पकाउने ग्यासको अभाव किन भइरहेको हो ?
अहिले बजारमा ग्यासको चरम अभाव हुनुमा नेपाल आयल निगम जिम्मेवार छ । उसले आपूर्ति व्यवस्थापनमा समयमै ध्यान नदिँदा विगत केही महिनादेखि नै केही उद्योगमा आपूर्ति असहजता देखिँदै आएको थियो । मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिले पनि इन्धनअभावको समस्या केही बढ्न सक्छ । यस्तोमा आयल निगमले विशेष ध्यान पुर्याउनुपर्छ । अहिले चुनाव नजिकिएको, खपत बढेको, केही उपभोक्तामा ‘स्टक’ राख्ने प्रवृत्ति रहेको, केही डिलरले कृत्रिम अभाव गराएको र अभाव हुँदै छ भन्ने अनावश्यक हल्ला फैलिएका कारण बजारमा ग्यासको अभाव देखिएको हो । यस्तो अवस्थामा उद्योग र डिलरको अनुगमन गर्ने तथा उपभोक्तालाई ग्यास पाइन्छ भनेर निगमले आश्वस्त पार्ने कार्य गर्न नसक्दा अहिलेको अभाव भइरहेको हो ।

वेलावेलामा देखिइरहने यस्तो अभाव पूर्ति गर्न राज्यले के गर्नुपर्ला ?
प्रत्येक वर्ष जाडो याममा माग र आपूर्तिबिच बेमेल हुँदा तथा विभिन्न कारणले आपूर्ति शृंखला तलमाथि हुँदा असहजता देखिने गरेको छ । यही असहजतालाई ध्यानमा राखेर सरकारले ग्यासको भण्डारण क्षमता बढाउने घोषणा पनि गर्दै आएको छ । तर, घोषणा कार्यान्वयन भएको छैन । खासगरी, घरायसी र व्यावसायिक मागको तथ्यांक नमिल्दा एवं आवश्यक स्थानमा भण्डारण गर्न नसक्दा यस्तो अभाव वेलावेलामा देखिइरहेको छ । 

भान्सामा ग्यासको उपभोग घटाएर बिजुलीको उपभोग बढाउन किन नसकिएको होला ?
विशेषत: व्यापार घाटा कम गरी राष्ट्रिय आयमा वृद्धि गर्न नेपाल सरकारले एलपी ग्यासको उपभोग घटाएर विद्युत्को उपभोग बढाउन विशेष तयारी गर्नुपर्छ । तर, विद्युतीय सामग्रीमा सहुलियत दिएर उपभोक्तालाई आकर्षित गर्न नसक्दा बिजुलीको खपत बढाउन सकिएको छैन । विद्युत्को नियमित आपूर्तिमा समस्या छ । भोल्टेजको समस्या उस्तै छ । सरकारले ग्यासभन्दा बिजुली प्रयोग सजिलो र सस्तो छ भन्ने सचेतना आमनागरिकसम्म पुर्याउन नसक्दा पनि भान्छामा बिजुलीको उपभोग बढाउन सकिएको छैन ।

सुझावित समाचार