महँगो निर्वाचन प्रणाली हामीले चाहेका होइनौँ : प्रचण्ड

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले जस्तो महँगो निर्वाचन नचाहेको बताएका छन् । शनिबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित चुनावी सभामा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत आमनेपाली जनताको अभिमतलाई सम्मान गर्न चाहेको र त्यो गर्न बाँकी रहेको बताए । 

प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको सुरुदेखि गर्दै आएको र अहिले पनि उक्त मुद्दाबाट पछि नहटेको स्पष्ट पारे । ‘यो निर्वाचनपछि संसद्बाट जेन–जी युवाहरूले भनेको जस्तै भ्रष्टाचारविरुद्ध र संविधान संशोधन गरेर यसलाई परिमार्जन र विकसित गर्ने कुरामा हामी संकल्पबद्ध छौँ,’ उनले भने, ‘उक्त कामका लागि देशमा दह्रो अडानको आवश्यकता छ । राष्ट्रलाई संकटबाट मुक्त गर्न यो अभियानलाई जसरी पनि सफल बनाउनुछ ।’ 

देशलाई अप्ठ्यारोमा पार्न खोजिएको भन्दै त्यसबाट निकास दिनुपर्ने प्रचण्डले बताए । ‘यो अप्ठ्यारोबाट देशलाई निकास दिन जनताको आवश्यकताअनुसार सुशासन, सामाजिक न्याय र समृद्धिको एउटा नयाँ यात्रामार्फत समाजवादतिर अगाडि बढ्न केन्द्रीय आधार इलाकाबाट नयाँ शिराबाट नयाँ अभियान चलाउनुपर्ने भएको छ । नेपालको स्वाधीनता र आत्मसम्मानमाथि प्रहार गर्न खोज्छन् भने तिनका विरुद्धमा अभियान छेड्न अपिल गर्न म रोल्पा आएको हुँ,’ उनले भने । प्रचण्डले आफ्नो नेतृत्वमा तेस्रोपटक सरकार हुँदा भ्रष्टाचारविरुद्धको अभियान छेडेको बताए ।

See More On

सुझावित समाचार