नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।
शनिबार रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा उनले चुनावका लागि सार्वजनिक अपिल गर्ने नेपाली कम्युनिस्ट पार्टी रोल्पाका इन्चार्ज राजबहादुर बुढाले जानकारी दिए ।
चुनावअघि देशभर कुनै ठुला कार्यक्रम नरहेको र रोल्पाबाट सार्वजनिक सन्देशसहित चुनावी सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । चुनावी गठबन्धन वा तालमेलको हल्लाबारे प्रचण्डले यही चुनावी सभाबाटै आफ्नो धारणा व्यक्त गर्ने बुझिएको छ ।
नेपाली राजनीतिको निर्णायक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका ‘प्रचण्डले रोल्पाबाट के सन्देश दिन्छन् ?’ भन्ने कुरालाई सबैले चासोपूर्वक हेरिरहेका छन् ।
प्रचण्डको सम्बोधनलाई भौतिक रूपमा पनि भव्य बनाउन नेपाली कम्युनिस्ट पार्टी रोल्पाले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढा बताउँछन् । उनका अनुसार शनिबार लिबाङमा करिब १५ हजार मानिसले प्रचण्ड सहभागी कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गर्नेछन् ।
‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनावी सम्बोधन गर्नु आफैँमा अर्थपूर्ण हुनेछ,’ पार्टीका जिल्ला इन्चार्ज बुढाले भने, ‘रोल्पाबाटै निर्णायक अवस्थामा सम्बोधन गर्नु रोल्पालीप्रतिको उहाँको सम्मान पनि हो भन्ने हामीले बुझेका छौँ ।’ दशवर्षे जनयुद्धको थालनी रोल्पाबाटै भएको र जनयुद्धको ऐतिहासिक उपलब्धिहरूमा रोल्पालीको भूमिका महत्त्वपूर्ण रहेकाले स्वयं प्रचण्डले रोल्पामा टेकेर सम्बोधन गर्नुलाई महत्त्वका साथ हेरेको हुन सक्ने स्थानीय बताउँछन् । जनयुद्धका अधिकांश समय प्रचण्डले रोल्पामा बिताएका थिए ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका दाहालका विश्वासपात्र मानिएका वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार रहेका छन् । शनिबार लिबाङमा हुने चुनावी सभामा पार्टीका संयोजक दाहालका साथै रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनले पनि सम्बोधन गर्नेछन् । त्यससँगै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत पार्टीका केन्द्रीय नेताहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।