निर्वाचन नजिकिँदै गर्दा बागलुङका दुईवटै क्षेत्रमा चुनावी सरगर्मी तीव्र रूपमा बढ्दै गएको छ । बाहिरको माहोल हेर्दा चुनावी प्रतिस्पर्धा सामान्य देखिए पनि भित्री रूपमा राजनीतिक मनोविज्ञान जटिल बन्दै गएको छ । यस क्षेत्रमा पुरानो विरासत जमाइराखेका कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा आफ्नै मतदाताबाट डराइरहेका छन् । आफूलाई नयाँ दल भनेर चुनावमा होमिएको रास्वपा भने पुरानै दलका मतदातामा निर्भर छ ।
विकास, सुशासन, रोजगारी र जनजीविकाका सवालमा अपेक्षित परिणाम नआएको गुनासो व्यापक रहेका कारण मतदाताले विकल्प खोजिरहेका छन् । यसैले पुराना दललाई आफ्नैको डर छ भने नयाँ शक्तिलाई पुरानालाई मत दिँदै आएका मतदाताको भर छ । पुराना दलमा चुनौती बाहिरबाट नभई आफ्नैभित्रको असन्तुष्टि हो । जसकारण कांग्रेस, एमाले, राजमो, नेकपालाई परम्परागत मतदाता जोगाउन कठिनाइ भइरहेको छ । आफ्नै कार्यकर्ता, समर्थक र मतदाता अन्तिम समयमा विकल्प खोज्ने हो कि भन्ने डर उनीहरूमा देखिन्छ । यही कारण पुराना दलहरू आफ्ना मतदातालाई स्थिर राख्ने रणनीतिमा छन् । आफ्नो मत सुरक्षित गर्न सकियो भने चुनाव जित्न सकिन्छ भन्ने निष्कर्षमा उनीहरू पुगेका छन् । यसपटक नेकपा र राजमो गठबन्धनमा छ भने अन्य दल एक्लाएक्लै चुनावी मैदानमा छन् ।
बागलुङ १ मा त्रिपक्षीय भिडन्त
बागलुङ १ मा कांग्रेस, एमाले र रास्वपाबिच प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेससहितको पाँचदलीय गठबन्धनबाट जित हासिल गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपासँग गठबन्धन गरेर आफ्नो उम्मेदवार उठाएका छन् । केसीले अघिल्लो निर्वाचनमा एमालेका सूर्य पाठकलाई पराजित गरेका थिए । राजमोले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भीम श्रीष राना मैदानमा छन् । एमालेले १ मा हिराबहादुर केसीलाई उम्मेदवार बनाएको छ । रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएको छ ।
साख जोगाउने प्रयासमा नेकपा
बागलुङ २ मा ०७४ को निर्वाचनमा संयुक्त वामगठबन्धनबाट तत्कालीन माओवादी (हाल नेकपा) नेता देवेन्द्र पौडेल विजयी भएका थिए । उनले कांग्रेसका नरबहादुर पुन नीरजलाई पराजित गरेका थिए । पौडेल ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससहितका पाँचदलीय गठबन्धनमा दोस्रोपटक यसै क्षेत्रबाट निर्वाचित भएका थिए । पौडेलले एमालेकी मञ्जु शर्मा चालिसेलाई पराजित गरेका थिए । चालिसे यसपटक पनि एमालेबाट उम्मेदवार बनेकी छिन् । नेकपाले ज्ञामनाथ गैरे, कांग्रेसले टेकराज पौडेल, रास्वपाका सोम शर्मा, राप्रपाबाट अञ्चल शाही उम्मेदवार छन् ।
हरिहर शर्मा, सचिव, कांग्रेस बागलुङ
कांग्रेस नयाँ पुस्ताले खोजेअनुसार बदलिएर आएको छ । जसकारण आमजनतामा विश्वास पुनर्जागृत भएको छ । बागलुङका दुवै क्षेत्रमा रहेका उम्मेदवारको व्यक्तित्वका कारण पनि यसपटकको निर्वाचन सजिलै जित्नेमा कुनै शंका छैन । हिजोका दिनमा गरेका कमजोरी स्वीकार गरी हरेक समस्यालाई समाधान गरी देशलाई सम्हाल्ने ताकत कांग्रेसमा मात्र छ ।
चन्द्रबहादुर बुढामगर, संयोजक नेपाली कम्युनिस्ट पार्टी, बागलुङ
१६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कम्युनिस्ट पार्टी र राजमोबिच गठबन्धन भएको बागलुङका दुईवटा क्षेत्रमा हो । यहाँ दुवै दलको जनमत राम्रो छ । दुई पार्टीको गठबन्धन नै चुनाव जित्ने आधार हो । राष्ट्रिय स्वाधीनता रक्षाको विषय, संविधान संशोधन, विकास र समृद्धि, भ्रष्टचारमुक्त समाज निर्माण गर्नका निम्ति वाम गठबन्धनका उम्मेदवारले जित्नेछन् ।
गणेशबहादुर थापा, सचिव, एमाले बागलुङ
एमालेको सांगठनिक स्वरूप अन्य पार्टीको भन्दा अब्बल र बलियो छ । विगतका चुनावमा लोकप्रिय भोट प्राप्त गरेको आधार छ । दुवै क्षेत्रमा उम्मेदवार पनि अब्बल र भूगोल बुझेका छन् । एमाले राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाको मुद्दालाई दृढ छ, त्यसमा जनताले विश्वास गर्नुहुनेछ भन्ने आधार हो । जनतामा परिपक्वता भएका कारण एमालेका उम्मेदवारले चुनाव जित्नेछन् ।
ढालेन्द्र रायमाझी, उपसभापति राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ
संगठन विस्तारको क्रममा भएका वेला सबै वडामा पुग्दै गर्दा बागलुङका दुवै क्षेत्रमा चुनाव जित्न सक्ने आकलन गरेका छौँ । जेन–जी आन्दोलनपछिको जनतामा परेको प्रभाव हाम्रा लागि बलियो बन्दै गएको छ । हाम्रा सभापति रवि लामिछानेमाथिको अन्याय आमजनताले थाहा पाएका छन् । बालेन रास्वपामा आएसँगै आममतदाताको मन बदलिएको छ ।