यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सल्यानमा चारजना उम्मेदवारले मात्र आफ्नो घोषणापत्र पेस गरेका छन्।
निर्वाचन आयोगले फागुन ३ गतेसम्म जिल्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउन उम्मेदवारहरूलाई समय दिएको थियो। तर, अधिकांश उम्मेदवारले घोषणापत्र बुझाएका छैनन्।
निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललितकुमार चन्द, नेसनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती, नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल र मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्तीले मात्र आफ्नो घोषणापत्र पेस गरेका छन्।
नेपाली कांग्रेसका केशबहादुर विष्ट, नेकपा (एमाले)का गुलाबजंग शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेकपा (माओवादी)का चन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाकी कमला डाँगी, संयुक्त नागरिक पार्टीका कालिदास विक, नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा तथा स्वतन्त्र उम्मेदवार ध्रुवराज वली र जुद्धबहादुर सिंहले घोषणापत्र बुझाएका छैनन्।
सल्यानमा १२ राजनीतिक दलका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवार गरी जम्मा १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले तोकिएको मापदण्डअनुसार समयमै घोषणापत्र पेस गर्न सबै उम्मेदवारलाई पुनः आग्रह गरेको बताए। उनले भने, ‘जति सक्यो छिटो घोषणापत्र बुझाउनुपर्छ।’