नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्ने बताएका छन्।
बुधबार रुकुमपूर्वको सिस्ने गाउँपालिकाका मतदातासँगको भेटघाटका क्रममा प्रचण्डले भने, ‘यो निर्वाचन राष्ट्रका लागि महत्त्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ।’
वर्तमान निर्वाचन विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गर्दै प्रचण्डले चुनावमा २३ भदौमा युवाको हत्या गर्ने शक्ति, २४ भदौमा विध्वंस मच्चाउने शक्ति र सुशासनको पक्षमा उभिएको शक्तिबिच ‘जनमतसंग्रह’ हुने जिकिर गरे।
‘मान्छे मार्नुहुन्न, आगो लगाउनुहुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,’ उनले भने। आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै प्रचण्डले जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे।
सो क्रममा प्रचण्डले रुकुमपूर्वलाई क्रान्तिको आधारभूमिबाट विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै उनले भने, ‘रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ।’