कमल संघर्षको गजलसंग्रह ‘हियाका कुडा’ विमोचन

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

गजलकार कमल संघर्षको खस भाषामा प्रकाशित गजलसंग्रह ‘हियाका कुडा’ विमोचन गरिएको छ। युवा पुस्ताबिच निकै लोकप्रिय गजलकार संघर्षको यो तेस्रो गजलसंग्रह हो । यसअघि उनका ‘सडक’ र ‘खुँडी’ गजलसंग्रह बजारमा आइसकेका छन् । विमोचन समारोहमा विवेक ओझा, साहित्यकार पूर्ण रावल तथा गजलकार/गीतकार शीतल कादम्बिनीले ‘हियाका कुडा’माथि समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए । उनीहरूले हियाका कुडामा प्रयोग भएको भाषिक सौन्दर्य, मौलिक भावभूमि र समसामयिक चेतना प्रशंसायोग्य रहेको उल्लेख गर्दै खस भाषाको लय, लचकता र जीवन्त शब्दावलीमार्फत गजलहरूले पाठकलाई आफ्नै माटो र परिवेशसँग जोड्ने सामर्थ्य राख्ने धारणा राखे । 

कार्यक्रममा बोल्दै कादम्बिनीले ‘हियाका कुडा’ पढेपछि आफूलाई डाह र इख लागेको बताइन् । गजलहरू जतिपटक पढ्दा पनि उति नै पुनः पढ्न मन लाग्ने खालका रहेको बताउँदै उनले आफूलाई मन परेको एक गजलमा स्वरसमेत भरिन् । पूर्ण रावलले संग्रहको भाषा, मौलिक भावभूमि र खस भाषाको जीवन्तता अत्यन्त प्रभावकारी रहेको उल्लेख गरे । उनले कृतिले नयाँ पुस्तालाई खस भाषामा सिर्जना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । 

त्यस्तै, विवेक ओझाले कमल आफ्नो समकालीन स्रष्टा भएको उल्लेख गर्दै उनका गजलबाट आफू सधैँ प्रभावित रहेको बताए । ‘हियाका कुडा’मा पश्चिम नेपालको इतिहासलाई गजलसँग जोड्न सफल भएकोमा आफूलाई विशेष खुसी लागेको उनको भनाइ थियो।

सुझावित समाचार