तिमी र मबिचको दूरी
सिर्फ रूपको होइन,
नियतिको विभाजन हो ।
तिमी लडेर जित्छौ, तर म ?
मेरा बाल्यस्मृति
कपडासँगै खोसिएका पहिचान छन्
मेरा सपनाहरू
लाज र अपमानको धुलोमा पुरिएका छन्
यौवनमा पाइला राख्दै गर्दा
समाजले मलाई ‘फरक’ भनेर तोडिदियो,
र मेरो प्रेमलाई उपहासको भित्तामा टाँसिदियो
तिमीले पुरुष देख्ने मेरो अनुहारभित्र
एक नारीको संसार लुकेको छ
हाँस्न सक्ने, रोएर हलुका हुने,
तर देखाउन नपाउने संसार,
चिम्टाले उखलिएका दाह्रीहरू अब पीडा दिँदैनन्
उनीहरू मेरो मौन प्रतिवाद हुन्
छातीभित्र टाँसिएका सिलिकन,
खोक्रोपन होइनन्,
आत्माको आकार हो
प्लास्टिक सर्जरीले बनेको
यो देह कुनै नाटक होइन,
यो मेरो आत्माले खोजेको स्वरूप हो
मलाई प्रकृतिले नै नारी बनाएर पठाइन्,
मैले प्रकृतिलाई अलिकति
सजाइदिएकी मात्रै थिएँ
तैपनी तिम्रो समाजले ‘तेस्रो’ भनेर छुट्यायो
तिमी समाजको सन्तान हौ,
तिम्रो नामले सम्मान पाउँछ,
तर मेरो नाम बोलिँदा
किन हाँसो, तिरस्कार, र मौनको विष झर्छ ?
मेरा श्रम प्रश्न बन्ने गर्छन्,
म भोको पेटको मारले तड्पिरहँदा
मैले ताली बजाइरहँदा
रोडमा, गल्लीमा सस्तो भाउमा पस्किरहँदा,
यो समाज र सरकारसँग प्रश्न गर्ने आँट किन गर्दैनौ ?
मेरो तालिको रहस्य के हो ?
के यो प्रतिवाद हो?
यो ताली त्यो गतिलो झापड हो......
जो म आफ्नै औकातमै आएर यो समाजमाथि बजाइरहेकी छु
जब यो संसार निदाउँछ,
म रातको शून्यतामा ब्युँझन्छु
त्यो अँध्यारोमा म आफैँलाई भेट्छु
नारी, आत्मा, र आगोको झिल्कोको रूपमा म हरेक रात बलिरहन्छु
न डर, न लाज तर एउटा अटल जिद्द बाँकी छ,
जसले फुसफुसाउँछ ‘अझै बाँच, अझै उज्यालो खोज ।’
हो तिमी मलाई तेस्रो मान्छौ
तर मेरो माया, मेरो पीडा, र मेरो सपना
पहिलोजस्तै साँचो छ
हो, तिमी लडेर जित्छौ,
तर म मरेर जित्नेछु
यही मृत्युमा मेरो मुक्ति लुकेको छ ।