आयात परिमाण बढाएर ग्यास आपूर्ति सहज गराउन आयल निगम र उद्योगीले पहल गर्ने भएका छन् । मंगलबार बिहान आयल निगमका अधिकारी र ग्यास उद्योगीबिच भएको छलफलमा हालको माग परिमाण धान्न आयात परिमाण बढाउने सहमति भएको हो ।
निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख विनीतमणि उपाध्यायले उद्योगीसँग भएको छलफलमा पछिल्लो एक हप्तामा आयात भएको ग्यासको परिमाण र आगामी दिनमा आयात बढाउने कार्ययोजनाबारे छलफल भएको जानकारी दिए । एक सातायता प्रतिदिन सय बुलेटभन्दा बढी ग्यास आयात भइरहेको तथ्यांक उद्योगीले पेस गरेका थिए । सामान्य अवस्थामा भने दैनिक ९० बुलेट ग्यास आयात हुने गरेको छ ।
उद्योगीले आगामी दिनमा बुलेट संख्या थपेर आयात बढाउन पनि प्रतिबद्धता जनाएको उपाध्यायले जानकारी दिए । ‘सामान्य अवस्थाको तुलनामा फेब्रुअरीमा दुई हजार टन बढी ग्यास आयातका लागि कोटा निर्धारण गरेका छौँ, तर फेब्रुअरी छोटो महिना भएकाले सबै ग्यास नउठ्ला कि भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘तर, उद्योगीले बुलेट संख्या थपेर सबै ग्यास ल्याउन प्रतिबद्धता जनाएका छन् ।’
आयल निगमको सहजीकरणमा उद्योगीले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी, दुर्गापुर, मथुरा, पारादिप र हल्दिया रिफाइनरीबाट ग्यास आयात गरिरहेका छन् । आइओसीका सबै रिफाइनरी पुगेर ग्यास लोडिङको अवस्थाबारे उद्योगीले निरीक्षणसमेत गर्ने भएका छन् । ‘आइओसी टर्मिनलभित्र लोडिङ छिटो गर्ने र बाटोमा हुने अवरोध हटाएर कम समयमा ढुवानी गर्ने विषय उठेको छ,’ उनले भने, ‘त्यसैले आयात बढाउन सबै पक्ष सकारात्मक छौँ ।’
दिउँसो ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालसहितका पदाधिकारीसँग पनि निगमले छलफल गरेको छ । सो छलफलमा डिलरलाई दु:ख नदिने गरी आयल निगम र उद्योगीले ग्यास आपूर्ति बढाउन आग्रह गरेको अर्यालले जानकारी दिए । ‘मागअनुसार ग्यास आयात भएको छैन, तर डिलरको नाम र सम्पर्क सार्वजनिक गरेर दु:ख दिन खोजिएको छ,’ उनले भने, ‘हामीले त पसलमा आएजति ग्यास दिने हो, तर उद्योगबाटै नआएपछि दिन सक्ने अवस्था छैन भनेर आयल निगमलाई जानकारी गराएका छौँ ।’ उनले रित्ता सिलिन्डर भरेर राख्ने उपभोक्ताको प्रवृत्तिका कारण पनि अहिले माग बढेको बताए । ‘कुन उपभोक्तासँग कति सिलिन्डर छन् भन्ने हामीलाई जानकारी हुन्छ । अहिले घरमा रहेका रित्ता सिलिन्डरसमेत भरेर राख्ने उपभोक्ताको संख्या बढेको छ,’ उनले भने, ‘अभावको हल्लाले पनि उपभोक्ता अतालिएका छन् ।