हामीकहाँ वन्यजन्तु र मानव समुदायबिच द्वन्द्व बढ्दै गएको देखिन्छ नि ?
हो, वन्यजन्तु र मानव समुदायबिच द्वन्द्व बढ्दै गएको छ । हाम्रो समाजको अर्थ–सामाजिक पक्षले समेत यसमा मलजल गरिरहेको छ । बसाइँसराइ बढ्दै जाँदा पहाडी क्षेत्रका खेतबारी पनि झाडी या जंगलमा परिणत हुँदै गएका छन् । जसले गर्दा बाँदर, बँदेलजस्ता वन्यजन्तु मानव बस्तीसम्मै पुगेका छन् । यस्ता कृषि हानिकारक जन्तुसँगै बाघ, चितुवाजस्ता वन्यजन्तु पनि यदाकदा मानव बस्तीमा पुग्न र क्षति पुर्याउन थालेका छन् । कतिपय स्थानमा यिनीहरूबाट मानिसकै ज्यानसमेत गएको छ । मानिसको सहनशीलता पनि घटेको छ । फेरि २०६७ यता वन्यजन्तुले पुर्याएको क्षतिअनुसार राहत दिने व्यवस्था भएपछि ‘रेकर्ड’ हुने क्रम पनि बढेको छ ।
वन्यजन्तु मानव बस्तीनजिक आएका हुन् कि मान्छे जंगलनजिक गएका हुन् ?
तराईमा बस्ती विस्तार भएको छ । मानव बस्तीका लागि जंगल अतिक्रमित हुँदा मान्छे जंगलनजिक पुगेका छन् भने पहाडमा वनक्षेत्र बढ्दा वन्यजन्तु बस्तीमा पुगेका छन् । समग्रमा हेर्दा वन्यजन्तुको संख्या पनि बढेको छ । द्वन्द्व बढ्नुको मुख्य कारण यिनै हुन सक्छन् ।
यस्तो द्वन्द्व कम गर्ने उपाय के हुन सक्छ त ?
यसका लागि वन्यजन्तुलाई समृद्धिसित पनि जोड्नुपर्छ भन्ने सोच अघि बढाइएको छ । खासगरी बँदेल, बाँदरजस्ता कृषि हानिकारक जन्तुलाई निश्चित राजस्व तिरेर मार्न पाइने व्यवस्था गरिएको छ । यो सूचीमा दुम्सी र निलगाई पनि समेटिनुपर्छ भन्ने माग आइरहेको छ । प्रदेशस्तरमा चिडियाखाना सञ्चालन गर्न सकियो भने यसरी बस्ती पस्ने वन्यजन्तुलाई समातेर राख्न सकिन्छ । यसबाट केही रोजगारी र आर्थिक उपार्जनसमेत गर्न सकिन्छ । ढोरपाटनजस्तै अन्य केही हन्टिङ रिजर्भ बनाएर बँदेललगायत निश्चित जीवको सिकार खुला गर्न पनि सकिन्छ । वन्यजन्तु र मानव पहिल्यैदेखि सँगसँगै बस्दै आएका छिमेकी हुन् । छिमेकी फेर्न सकिन्न । ऊसित मिलेर बस्नुको विकल्प हुँदैन ।