सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीलाई ३ प्रश्न

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

न्यायाधीश–बिचौलिया साँठगाँठ प्रकरणमा महाभियोगको तयारी हुनुले के संकेत गर्छ ?
पछिल्ला केही घटनाक्रम नियाल्दा परिस्थिति महाभियोगतर्फ नै जाला जस्तो देखिन्छ । न्यायाधीशले मुद्दाको पक्ष, विपक्ष या अन्य कसैलाई भेट्नु पदीय मर्यादाविपरीत कार्य हो । उहिल्यै विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश भएको समयमा तत्कालीन राजा वीरेन्द्रले न्यायाधीशहरूलाई भेट्न खोज्दा उपाध्यायले त्यसरी न्यायाधीश भेट्नुले गलत सन्देश दिने भन्दै रोक्नुभएको थियो । त्यसैले, कसैले आफूलाई प्रधानमन्त्रीको मान्छे या कल्पित महाभियोगको तारणहारका रूपमा चिनायो भन्दैमा होटेल, होटेलमा गएर बिचौलियालाई भेट्नु सर्वथा गलत कार्य हो । यो पदीय आचरणविपरीतको काम हो । त्यसैले, महाभियोग लाग्न सक्ने सम्भावना बलियो हुँदै गएको देखिन्छ । 

यस्तो साँठगाँठ महाभियोग लगाउने पर्याप्त आधार हो ?
न्यायाधीशले अदालतमा चलिरहेको मुद्दाका विषयमा घर फर्केपछि पत्नी र छोराछोरीसित त कुराकानी गर्न मिल्दैन भने होटेल, होटेल चहारेर बिचौलिया भेट्ने त कल्पना पनि गर्न सकिन्न । कसैले आफूलाई प्रधानमन्त्रीको मान्छे भनेर चिनायो भन्दैमा उसलाई भेट्न जानु न्यायाधीशको कमजोरी हो । यसलाई कुनै पनि तर्कले ‘जस्टिफाई’ गर्न सकिन्न । त्यसैले यो घटना महाभियोग लगाउन पर्याप्त आधार बन्न सक्छ ।  

महाभियोग लाग्यो भने यसले न्यायालयमा शुद्धीकरण गर्ला कि त्रासको घन्टी 
झुन्ड्याउला ?

यसले न्यायालय या न्यायाधीशमाथि घतराको घन्टी झुन्ड्याउने कुरै आउँदैन । कुनै पनि कानुनबाट गलत काम नगर्ने कोही पनि डराउँदैनन्, जजसले गलत गर्छन्, उनीहरू मात्र डराउने हुन् । त्यसैले, अहिले सर्वोच्चका कुनै न्यायमूर्तिविरुद्ध महाभियोग लाग्यो भन्दैमा बाँकी न्यायमूर्तिले न्याय सम्पादनमा डराउनुपर्र्दैन । किनकि, आफूले गलत नगरे कसैले चाहँदैमा या कसैसँग बलियो संसदीय अंकगणित हुँदैमा सनक या लहडको भरमा महाभियोग लगाउन सकिन्न, मिल्दैन । तर, यसले पदीय आचरणविपरीत काम गरेमा उन्मुक्ति नपाइने रहेछ भन्ने प्रस्ट हुन्छ । यसले न्यायालयलाई थप शुद्धीकरण गर्ने बाटो खोल्छ । 

सुझावित समाचार