सर्बियाका नोभाक जोकोभिक कीर्तिमानी रूपमा ११औँपटक अस्ट्रेलियन ओपन ग्रान्ड्स्लाम टेनिस प्रतियोगिताको फाइनलमा पुगेका छन् । मेलबर्नको रोड लेभर रंगशालामा आइतबार जोकोभिकले स्पेनिस खेलाडी कार्लोस अल्काराजविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । वर्षको पहिलो ग्रान्ड्स्लामा अल्काराज शीर्ष वरीयताका खेलाडी हुन् ।
३८ वर्षका पूर्वनम्बर एक खेलाडीसमेत रहेका जोकोभिकले रोमाञ्चक सेमिफाइनलमा साबिक विजेता जानिक सिनरलाई ३–६, ६–३, ४–६, ६–४, ६–४ को पाँच सेटमा निराश बनाए । अस्ट्रेलियन ओपनकै सर्वाधिक विजेतासमेत रहेका जोकोभिकले यसअघिका १० फाइनल गुमाएका छैनन् । उनी ११औँपटक फाइनलमा पुग्दा प्रतिद्वन्द्वी भने त्यति सहज छैनन् ।
अल्काराज उत्कृष्ट फर्ममा रहँदा जोकोभिक २५औँ एकल ग्रान्ड्स्लाम उपाधि जित्ने धरापमा पर्न सक्छन् । उनले अन्तिमपटक सन् २०२३ मा अस्ट्रेलियन ओपन जितेका थिए । आइतबार हुने उपाधि भिडन्तमा जसले जिते पनि टेनिस इतिहासमा एउटा कीर्तिमान बन्ने पक्का छ ।
अल्काराज पहिलोपटक अस्ट्रेलिय ओपन विजेता बन्नेछन् । जोकोभिकले अल्काराजलाई निराश बनाउँदा उनी सर्वाधिक २५ ग्रान्ड्स्लाम जित्ने समग्रमा पहिलो खेलाडी हुनेछन् । जोकोभिकले मार्गेटसँग समान २४ ग्रान्ड्स्लाम जितेको रेकर्ड बराबरी गरेका छन् ।
जोकोभिकले सिनरलाई हराउन निकै संघर्ष गरेका थिए । यद्यपि, सिनरले पाँच सेटसम्म अस्ट्रेलियन ओपनकै सर्वाधिक विजेताविरुद्ध सहज रूपमा खेल सुम्पिएनन् । उनले तीनवटा म्याच प्वाइन्ट बचाएका थिए । तर, जोकोभिकले आफ्नो चौथो म्याच प्वाइन्ट भलीका रूपमा प्रहार गर्दै जित निकाले ।
‘मैले सोचेभन्दा पनि खेल कठिन रह्यो,’ जोकोभिकले भने, ‘साबिक विजेता खेलाडीलाई हराउनु सहज होइन ।’ उनले पछिल्लो समयमा अल्काराज र सिनरले आगामी केही वर्ष टेनिसमा राज गर्ने बताए । ‘जसरी हाम्रो समयमा फेडेरर, नाडाल र मबिच उपाधि भिडन्तमा कडा प्रतिस्पर्धा हुने गरेको थियो । अहिले सिनर र अल्काराजबिच यस्तै भिडन्त चलिरहेको छ,’ जोकोभिकले भने, ‘युवा खेलाडीले कम उमेरमा ग्रान्ड्स्लाममा थप आकर्षक बनाइरहेका छन् ।’
पुरुषतर्फको पहिलो सेमिफाइनलमा अल्काराज प्रतिस्पर्धाअघि घाइते थिए । तर, उनले सेमिफाइनलमा जर्मन खेलाडी एलेक्जेन्डर ज्भेरेनलाई पाँच घण्टा २७ मिनेटमा हराउँदै फाइनलको स्थान पक्का पारे । उनीसमक्ष वर्षमा आयोजना हुने चारै ग्रान्ड्स्लाम उपाधि जित्ने अवसर जुरेको छ ।