बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले भारत गएर आइसिसी टी–२० विश्वकप प्रतियोगिता नखेल्ने अडान यथावत् राखेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेशलाई भारत गएर विश्वकप खेल्ने वा नखेल्नेका सम्बन्धमा अन्तिम निर्णय बुधबारभित्र दिन अल्टिमेटम दिएको थियो । बिसिबी, राष्ट्रिय टोलीका खेलाडी र सरकारका खेलकुद सल्लाहकारबिच भएको बिहीबारको बैठकले भारतमा नखेल्ने निर्णयलाई कायम राखेको छ । यसले आगामी महिना भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने पुरुष टी–२० विश्वकपमा आइसिसी र बिसिबीबिचको विवाद उत्कर्षमा पुगेको छ ।
बिसिबीका अध्यक्ष अमिनुल इस्लामले पत्रकार सम्मेलन गर्दै आइसिसीको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । उनले पत्रकार सम्मलेनमा भनेका छन्, ‘श्रीलंकामा खेल्ने योजनामा हामी अडिग छौँ । हामीलाई २४ घण्टे अल्टिमेटम दिइयो, तर क्रिकेटको सर्वोच्च निकायले धम्क्याउन मिल्दैन । हामी भारत जाँदैनौँ, बरु विश्वकप छुट्दा केही फरक पर्दैन । यसैगरी, खेलकुद सल्लाहकार आसिफ नजरुलले भारत नजाने निर्णय बोर्डको मात्र नभई सरकारकै भएको प्रस्ट पारेका छन् ।‘सरकारले नै भारतमा नखेल्ने निर्णय गरेको हो । यो बोर्डको निर्णय होइन । हामीलाई आशा छ– आइसिसीले हाम्रो खेल श्रीलंकामा सार्नेछ ।’ आइसिसीले भने बंगलादेशले आफ्नो अडान नत्याग्दा वरीयताअनुसार उसको सट्टा स्कटल्यान्डलाई सहभागी गराउने चेतावनी दिएको थियो । युरोपियन छनोटमा इटालीसँग स्तब्ध हुँदा स्कटल्यान्ड विश्वकपमा पुग्न नसकेको हो । बंगलादेश बाहिरिएमा स्कटल्यान्डले ‘लक्की ड्र’मार्फत समूह ‘सी’मा स्थान पाउनेछ ।
आइसिसी र आयोजकलाई घाटा हुने
श्रीलंकामा आफूहरूको खेल नराख्दा आर्थिक रूपमा आइसिसी र आयोजकलाई घाटा हुने दाबी बिसिबीका अध्यक्ष अमिनुलले गरेका छन् । ‘विश्वकपका लागि भनेर हाम्रा समर्थकले टिकट लिइसकेका छन् । उनीहरूको राष्ट्रले विश्वकपमा खेल्दैन भने समर्थकले टिकट रद्द गर्नेछन्,’ अमिनुलले भने, ‘टिकट फिर्ता हुँदा आर्थिक नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।’ साथै, बंगलादेशले लाइभमा समेत प्रतिबन्ध लगाउनेछ । ‘टिभी राइट्सदेखि समर्थकबाट आउने आर्थिक रकम आइसिसी र आयोजकले गुमाउनेछन्,’ अमिनुलले भने, ‘यसकारण आइसिसीले आर्थिक रूपमा भए पनि यस सम्बन्धमा विचार गर्नुपर्छ ।’
भारत र बंगलादेशबिचको विवाद कोलकाता नाइट राइडर्सले फास्ट बलर मुस्ताफिजुर रहमानलाई आइपिएलबाट हटाएपछि सुरु भएको हो । बिसिसिआईको निर्देशनमा कोलकाताले रहमानलाई टोलीबाट हटाएको थियो । यसै सिजनको अक्सनमा कोलकाताले उनलाई नौ करोड भारु खर्चेर अनुबन्ध गरेको थियो । पाकिस्तानले बंगलादेशको निर्णयमा समर्थन जनाएको छ ।
अन्तिम निर्णय आइसिसीसँगै
यस विवादको अन्तिम निर्णय आइसिसीले नै गर्नेछ । आइसिसीले चाहे बंगलादेशको खेल श्रीलंकामा राख्न सक्छ । बंगलादेशले पनि आइसिसीसँग पुनः वार्ता गर्ने जनाइएको छ । ‘आइसिसीले चाहेको खण्डमा हाम्रो खेल श्रीलंकामा हुन सक्छ, तर आइसिसीले कुन बोर्डको कुरा सुन्ने भन्नेमा प्रश्न छ,’ बिसिबीका अध्यक्ष अमिनुलले भने । सन् २००९ मा यस्तै विवाद हुँदा आइसिसीले जिम्बावेको स्थानमा अर्को राष्ट्रलाई अवसर दिएको थियो । यसैगरी, आइसिसी टी–१९ पुरुष विश्वकपमा अस्ट्रेलिया बंगलादेश नजाने निर्णय लिँदा उसको स्थानमा आयरल्यान्डलाई मौका दिएको थियो । अहिले बंगलादेशको सट्टा स्कटल्यान्डलाई समावेश गर्ने योजनामा आइसिसी छ ।