बालेन्द्र शाहको जनकपुरको आमसभालाई कसरी हेर्नुभएको छ ?
पछिल्लो समय नेपाली राजनीतिक ध्रुवीकरण बढेको देखिन्छ । यसमा एकातिर पुराना र स्थापित भनिएका दलहरू यथास्थितिमै रमाइरहेको अवस्था छ भने अर्कातिर वैकल्पिक भनिएका नयाँ दल आआफ्नो लोकप्रियतामा रमाइरहेको देखिन्छ । यद्यपि, यसबाट विकल्प खोज्न पाउने जनताको अधिकारमा कसैले प्रश्न उठाउन मिल्दैन । तर, यी दुवैले समाधान दिन सक्दैनन् । विगतमा २०६४ को निर्वाचनमा माओवादीको पक्षमा पनि यस्तै लहर आएको थियो । २०७४ को निर्वाचनमा भारतसितको विवाद र केपी ओलीका अभिव्यक्तिले ‘राष्ट्रवाद’को लहर ल्याएको पनि देखिएकै हो । तर, त्यसबाट देशले कुनै निकास पाउन सकेन । त्यसैले, अहिले रास्वपा र बालेन्द्र शाहको अभियानले पनि कस्तो परिणाम ल्याउँछ, त्यो हेर्न केही समय धैर्य गर्नैपर्छ ।
मधेशको छोरोलाई निर्वाचनअगाडि नै प्रधानमन्त्रीको उम्मेदवार घोषित गरेर जाँदा मधेशमा कस्तो प्रभाव पर्ला ?
बालेन्द्र शाहले काठमाडौं महानगरको निर्वाचन लड्दै गर्दा आफूलाई मधेशको छोरो भन्नुभएन । यहाँ निर्वाचनको प्रचारप्रसार गर्दा गम्छा भिर्नुभएन । मैथिली बोल्नुभएन । त्यसैले, अहिले मधेशमा जाँदा उहाँले मैथिली बोल्नु, धोती, गम्छा पहिरिनु प्रियतावादकै अर्को उदाहरण हो । तर, यसले भन्दा पनि भविष्यमा उहाँले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ, निर्वाचन जितेर आएमा देश र जनताका पक्षमा कस्तो काम गर्नुहुन्छ, त्यसबाट मात्र उहाँको वास्तविक पहिचान खुल्नेछ ।
मधेशका दलहरूले आशा जगाउन नसकिरहेको समयमा यसले मधेशी नागरिकमा आशा जगाउला त ?
दलहरूलाई मधेशी, हिमाली या पहाडी भनेर कित्ताकाट गर्नु नै गलत हो । यहाँ कुन र कहाँ केन्द्रित दलले चाहिँ जनतामा आशा जगाउन सकिरहेका थिए र ? आखिर जनतामा त्यही आशा जगाउन नसकेकाले त हो जेन–जी आन्दोलन भएको । जनकपुरमा नागरिकको उपस्थितिले आशा जागेको हो कि जस्तो देखिए पनि परिणाम हेर्न केही प्रतीक्षा गर्नैपर्छ ।