इरानमा सैन्य बलको प्रयोग वासिंटनका लागि आत्मघाती

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण
  • अमेरिकी आक्रमणले इरानको सुरक्षा संयन्त्रलाई उसले चाहेकै राष्ट्रिय अस्तित्वको लडाइँको भाष्य निर्माण गर्ने अवसर प्रदान दिनेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा प्रदर्शनकारीमाथि राज्यबाट भइरहेको दमनलाई लिएर सैन्य कारबाहीबारे सोचिरहेका छन् । डिसेम्बरको अन्त्यमा विरोध प्रदर्शन सुरु भएदेखि दुई हजारभन्दा बढी मानिस मारिएका विभिन्न रिपोर्टले जनाएका छन् । अमेरिकी सेनाले अब ‘केही धेरै बलिया विकल्प हेरिरहेको’ ट्रम्पले बताएका छन् । ट्रम्पले यी विकल्पबारे विस्तृत रूपमा अझै बताएका छैनन् । अमेरिकासँग युद्धबाट बच्न इच्छुक इरानी अधिकारीले ‘वार्ता गर्न’ आफूले बोलाएकोसमेत दाबी गरेका छन् । घातक दमन जारी रह्यो भने अमेरिकाले इरानसँगको सम्भावित बैठकअघि कारबाही गर्नुपर्ने हुन सक्ने उनले चेतावनी दिएका छन् ।

यदि वासिंटनले इरानमा हस्तक्षेप गर्ने निर्णय गर्छ भने त्यसका लागि उपायको विस्तृत दायरा उपलब्ध छ । यी उपाय कूटनीतिक निन्दा र विस्तारित प्रतिबन्ध व्यवस्थादेखि लिएर साइबर अप्रेसन र सैन्य हमलासम्मका छन् । यद्यपि, अमेरिकी सरकारले विचार गरिरहेको हरेक कदमविरुद्ध इतिहास साक्षी छ ।

लक्षित प्रतिबन्ध र कूटनीतिक दबाबमा ट्रम्पले हालै इरानसँग व्यापार गर्ने कुनै पनि देशमा लागू गरेको २५ प्रतिशत कर दर समावेश छ, जुन सबैभन्दा कम उत्तेजक माध्यम हुन् । ती उपायले अमेरिकालाई आफ्ना सहयोगीसँग समन्वय गर्न र प्रत्यक्ष टकराव नभई इरानमा प्रदर्शनकारीलाई नैतिक समर्थनका लागि अनुमति दिन्छन् । तैपनि, दशकौँको अनुभवले यस दृष्टिकोणको सीमा देखाउँछ ।

इरानको नेतृत्वले आर्थिक दबाब कसरी शोषित गर्ने, लागतलाई समाजमा सार्ने र सामूहिक दण्डको रूपमा लामो समयदेखि चल्दै आएको पश्चिमी प्रतिबन्धको कसरी मुकाबिला गर्ने भन्ने कुरामा महारत हासिल गरेको छ । तेहरानको सरकारले वैकल्पिक बजार विकास गरेर र अनौपचारिक र गैरडलर व्यापार विस्तार गरेर समयसँगै अनुकूलन गरेको छ । यसले क्षेत्रीय सञ्जालमार्फत आफ्नो आर्थिक लचिलोपनलाई पनि बढाएको छ । विशेषगरी इराकसँग यस्तो लचिलोपन बढाएको छ, जहाँ–जहाँ राजनीतिक, वित्तीय र सुरक्षा सम्बन्धले राजस्व प्रवाहलाई कायम राख्न र राज्यमा प्रतिबन्धको प्रभावलाई कम गर्न सहयोग गर्छ ।

वासिंटनको हातमा अन्य धेरै गोप्य माध्यम (उपकरण) छन्, जसमा साइबर अवरोध र स्वतन्त्र मिडियालाई सहयोग गर्ने प्रयास वा इन्टरनेट बन्दलाई बाइपास गर्ने प्रदर्शनकारीलाई उत्प्रेरित गर्ने प्रयास पर्छन् । यी उपायले प्रदर्शनकारीलाई अन्तर्राष्ट्रिय रूपमा चर्चामा आउन मद्दत गर्न सक्छन् र दमन बढाउने राज्यको क्षमतालाई अप्ठ्यारो बनाउन सक्छ ।

यद्यपि, यहाँ पनि अपेक्षाहरू विनम्र हुनुपर्छ । यी माध्यमले निगरानी र दमनको लागत बढाएर र प्राविधिक कठिनाइ थोपरेर इरानी अभिजात वर्गभित्र द्वन्द्व सिर्जना गर्न सक्छन् । तर, ती उपायले अस्तित्वलाई सबैभन्दा माथि प्राथमिकतामा राख्ने शासनको मूल गणना परिवर्तन गर्दैनन् ।परिदृश्यको सबैभन्दा चरम सीमामा सैन्य हमला छन् । हमलाका पछाडिको औचित्य शासनको दमन प्रयासलाई कमजोर पार्नु हुनेछ । तर, वास्तविकतामा, तिनीहरूले प्रत्युत्पादक परिणाम निम्याउने जोखिम खडा गर्छन् । इरानको शासन प्रणाली र विशेषगरी सशस्त्र सेनाको शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स शाखाले ऐतिहासिक रूपमा घरेलु रूपमा शक्ति सुदृढ गर्न बाह्य खतरामा निर्भर हुने गरेको छ ।

अमेरिकी आक्रमणले इरानको सुरक्षा संयन्त्रलाई उसले चाहेकै भाष्य निर्माण गर्ने अवसर पद्रान दिनेछ । राष्ट्रिय अस्तित्वका लागि अस्तित्वगत लडाइँ । यो फ्रेमवर्क इरानी अभिजात वर्गको बहसमा पहिले नै स्पष्ट छ ।

इरानी संसद्का कट्टरपन्थी सभामुख मोहम्मद बागेर गालिबाफले हालैको भाषणमा इरानमाथिको कुनै पनि आक्रमणले इजरायल र यस क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अड्डा र सम्पत्तिलाई ‘वैध निसाना’ बनाउने चेतावनी दिएका थिए । त्यसपछि इरानका सरकारी सञ्चार माध्यमले तेहरान र अन्य सहरमा शासन समर्थकको ठुलो भिड भेला भएको देखाएको थियो, जहाँ उनीहरूले ‘अमेरिकालाई मृत्यु’ र ‘इजरायललाई मृत्यु’ भन्ने नारा लगाएका थिए ।

हालको विरोध आन्दोलनको चरित्रलाई ध्यानमा राख्दै सैन्य वृद्धि विशेषगरी खतरनाक छ । राज्यको वैचारिक जगलाई चुनौती दिँदै महिला अग्रपंक्तिमा रहेका छन् भने ठुलो मात्रामा बसोवास गर्ने क्षेत्रका जातीय कुर्दले अधिकारीको हातबाट असमानस्तरको हिंसा भोगेका छन् । यी विरोध प्रदर्शन नागरिक, विकेन्द्रीकृत र सामाजिक गुनासोमा जरा गाडेका छन् । अमेरिकी सैन्य हमलाले इरानी राज्यको त्यो यथार्थलाई उल्ट्याउन सक्नेछ र विविध घरेलु आन्दोलनलाई विदेशी समर्थित सुरक्षा खतराको रूपमा पुन: प्रस्तुत गर्नेछ । यसो गर्दा राज्यले अहिलेसम्म देखिएकोभन्दा धेरै कठोर कारबाहीलाई वैधता दिनेछ ।

सन् १९५३ को छाया
धेरै साधारण इरानी पनि अमेरिकी प्रत्यक्ष हस्तक्षेपप्रति सतर्क छन् । यो सतर्कता सन् १९५३ मा भएको सिआइए–समर्थित विद्रोहबाट उत्पन्न भएको हो, जसले इरानका निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसाद्देकलाई अपदस्थ गर्यो र शाह मोहम्मद रेजा पह्लवीको नेतृत्वमा राजतन्त्र पुनस्र्थापित गर्यो । विद्रोहपछि लगभग दुई दशकको दमन, राजनीतिक प्रहरी र पश्चिमा चासोसँग मिल्दोजुल्दो अधिनायकवादी शासन स्थापना भयो ।

यो अनुभव टाढाको इतिहास होइन, यो एक आधारभूत आघात हो, जसले इरानी राजनीतिक चेतनालाई आकार दिइरहेको छ । फलस्वरूप, इरानको स्वेच्छाचारी प्रणालीको पतनले स्वाभाविक रूपमा लोकतान्त्रिक संक्रमणका लागि बाटो खोल्नेछ भन्ने ट्रम्पका हालैका सुझावलाई स्व–शासनको सट्टा तानाशाही उत्पन्न गर्ने बाह्य हस्तक्षेपको सम्झनाबाट अलग गर्न सकिँदैन ।

यसले इरानभित्र धेरै मानिस किन देशका अन्तिम शाहका छोरा रेजा पह्लवीजस्ता व्यक्तित्वप्रति शंका गर्छन् भनेर पनि व्याख्या गर्छ । पह्लवीलाई पश्चिममा प्राय: इरानको सम्भावित भावी नेताको रूपमा प्रचार गरिएको छ । पह्लवी प्रतीकात्मक रूपमा उत्पीडन र विदेशी समर्थनसँग सम्बन्धित प्रणालीमा बाँधिएका छन् । यसले गर्दा उनी कुनै पनि विश्वसनीय लोकतान्त्रिक संक्रमणका लागि आवश्यक पर्ने व्यापक घरेलु वैधताबाट वञ्चित छन् । इरानीहरूको शंकालाई हालैका क्षेत्रीय अनुभवले अझ बलियो बनाएको छ । इराकमा विदेशी हस्तक्षेपले राज्यलाई खोक्रो बनायो, एउटा कमजोर प्रणाली छोड्यो, जुन बाह्य शक्ति र मिलिसियाले अपनाएका छन् ।

अनि सिरियामा केन्द्रीय अधिकारको पतनले पूर्वअल–कायदा नेता अहमद अल–सारालाई सत्ता सम्हाल्ने बाटो खोल्यो । उनको जिहादी विगतका बाबजुद ट्रम्पलगायत पश्चिमा शक्तिले उनलाई एक विश्वसनीय राजनीतिक व्यक्तित्वमा पुन: ब्रान्ड गरेका छन् ।

यी घटनाले मध्यपूर्वभरि यो विश्वासलाई बलियो बनाएको छ कि पश्चिमी हस्तक्षेपले लोकतान्त्रिक शक्तिलाई किमार्थ सशक्त बनाउँदैन । बरु यसले सबैभन्दा संगठित र सैन्यीकृत समूहलाई सत्तामा लैजान देखिन्छ, जसले दीर्घकालीन अस्थिरता निम्त्याउन सक्छ ।

विश्वसनीय स्वदेशी संक्रमणविना इरान टुक्राटुक्रा हुने र अराजकतामा फस्ने जोखिम छ । वासिंटनका लागि सबैभन्दा कठिन वास्तविकता यो हुन सक्छ कि बुद्धिमानी बाटो साहसी हस्तक्षेप होइन, बरु इरानी समाजको लागि दिगो समर्थनसँगै संयम हो । इरानमा वास्तविक परिवर्तन बाहिरबाट, विशेष गरी क्षेप्यास्त्रको बिन्दुबाट हुन सक्दैन ।

नोउरी युनिभर्सिटी अफ लन्डनको डिपार्टमेन्ट अफ इन्टरनेसनल पोलिटिक्सका रिसर्च फेलो हुन्
 

सुझावित समाचार