निर्वाचनको तयारीबारे राजनीतिक दलसँग छलफल

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे संखुवासभाका राजनीतिक दलसँग छलफल गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय संखुवासभाले निर्वाचनको तयारी अवस्थाबारे जिल्लाका राजनीतिक दलहरूसँग छलफल गरेको हो। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको संयोजकत्वमा बसेको जिल्लाका क्रियाशील राजनीतिक दलसँग समन्वयक बैठकमा जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिले हालसम्म गरेको प्रगतिबारे राजनीतिक दलहरूलाई जानकारी गराएका थिए। 

उक्त समितिले हालसम्म जिल्ला निर्वाचन एकीकृत सुरक्षा योजना तयार, निर्वाचन लक्षित प्रदेशस्तरीय गोष्ठी सम्पन्न, मतदानस्थलको क्रमिक अनुगमन र निरीक्षण, जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल गठन र निर्वाचन प्रहरी भर्ना छनाेट विज्ञापन प्रकाशन र दरखास्त लिन थालेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।

उनले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले विभिन्न योजना बनाएर काम गरिरहेको स्पष्ट पारिन् । ‘शान्तिपूर्ण ढंगले भयरहित वातावरण सिर्जना गरी निर्वाचन सम्पन्न गर्न हामी लागिपरेका छौँ । राजनीतिक दलहरूको गतिविधि के–कस्तो छ तयारी के हुँदै छ भनेर जानकारी लिने र दिने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको हो,’ प्रजिअ थपलियाले भनिन्, ‘निर्वाचनको तयारीमा सरकार जुटेको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ, तालिकाअनुसारका कामहरू अगाडि बढेका छन् । दलहरूको सहयोगको अपेक्षा छ, आवश्यकताअनुसार मतदानस्थल र केन्द्र थपघट गरेका छौँ । निर्वाचन हुँदैन कि भन्ने शंका नगर्नुहोस्, शान्तिपूर्ण वातावरण निर्माणमा सबै जुटौँ ।’

कार्यक्रममा नेपाली कांग्रेसका शेरबहादुर वन, नेकपा एमालेका झलक बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टीका दिव्यराज बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजनाथ पोख्रेल, जसपा नेपालका सीताराम तिम्सिना, मंगोल अर्गनाइजेसनका भरत लङछवा राई र राष्ट्रिय जनमुक्तिका दिलकुमार राईलगायतले शान्तिपूर्ण ढंगले निर्वाचन हुने वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए। उनीहरूले जेन–जी आन्दोलनमा भागेका कैदी र हतियार बाहिर रहेकाले त्यसले निर्वाचनको गतिविधिमा अवरोध पुर्याउन सक्ने भएकाले सरकार संवेदनशील बन्न आग्रह गरेका थिए । 

उक्त छलफलमा निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन र मतदाता विवरणबारे जानकारी गराइएको थियो । माघ २ गतेदेखि जिल्ला हुलाक कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिइएको छ । 

दुई  हजार ७६ जना मतदाता थपिए
गत प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन ०७९ का लागि संखुवासभा जिल्लाको कुल मतदाता संख्या एक लाख १७ हजार ५५४ जना रहेको थियो भने अहिले दुई  हजार ७६ जना थपिएर कुल मतदाता संख्या एक लाख १९ हजार ६३० जना भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईले बताए । जिल्लाभर १०८ वटा मतदानस्थल र १६२ मतदान केन्द्र रहेकोमा एक मतदानस्थल र दुईवटा मतदान केन्द्र थप गरिएको उनले बताए ।

भोटखोला गाउँपालिका– ४ स्थित सिप्रुङमा रहेको बरुण आधारभूत विद्यालय नयाँ मतदानस्थल थपिएको छ । भोटखोला गाउँपालिका– ४ गोलामा रहेको कृष्ण माध्यमिक विद्यालयबाट टुक्य्राएर बरुण आविमा लगिएको हो । जिल्लाभर १०८ वटा मतदानस्थल रहेकोमा भोटखोला गाउँपालिका– ४ स्थित सिप्रुङमा रहेको बरुण आधारभूत विद्यालय थपिएपछि १०९ वटा मतदानस्थल भएको छ । त्यसैगरी जिल्लाभर १६२ मतदान केन्द्र रहेकोमा चिचिला गाउँपालिका– ४ स्थित सरस्वती माध्यमिक विद्यालय पाख्रीबास र मकालु गाउँपालिका– २ स्थित हेमाद्री माध्यमिक विद्यालय सेदुवामा एक–एकवटा मतदान केन्द्र थप गरी १६४ मतदान केन्द्र कायम भएको कार्यालय प्रमुख राईको भनाइ छ ।

सुझावित समाचार